नाकामा तीनपुस्ते माग्दै एसएसबी- सुदूरपश्चिम - कान्तिपुर समाचार

नाकामा तीनपुस्ते माग्दै एसएसबी

एसएसबीले कहिले कोरानाका नाममा त कहिले ‘उपर का आदेश’ भन्दै सताउने गरेको छ
मनोज बडू

दार्चुला — सातायता भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले धारचुला बजार प्रवेश गर्ने सबैलाई अनावश्यक दुःख दिइरहेको छ । सीमामा लाम लगाई तीन पुस्तेसहित नेपाल सरकारले जारी गरेको परिचयपत्रको विवरण टिपाएरमात्र भारतमा प्रवेश गराइरहेको छ ।

कोरोना संक्रमणको निहुँ पारेर भारतीय सुरक्षाकर्मीले नेपालीलाई सीमा क्षेत्रमा दुःख दिइरहेको स्थानीयले बताए । सीमामा खटिएका सुरक्षाकर्मी भने मास्क नै लगाउँदैनन्, लगाएकाले पनि नाकमुनि झुन्ड्याएका भेटिन्छन् । स्थानीयका अनुसार भारतीय पक्षले सीमा क्षेत्रमा नयाँ मानिसलाई पहिलेदेखि कडाइ गर्ने र उसको विवरण टिप्ने गरे पनि नेपालमा जनगणना सुरु भएपछि भारत प्रवेश गर्ने सबै नागरिकको विवरण टिपिरहेको छ ।

हरेक दिन मजदुरी र काम विशेषले भारत जानेलाई पनि परिचयपत्र अनिवार्य गरिएको छ । सामान किनबेच गर्न धारचुला जाने नेपालीलाई पुलमै लाम लगाएर एसएसबीले नागरिकता वा परिचयपत्र हेरेर मात्रै भारतीय क्षेत्रमा प्रवेश दिइरहेको छ । ‘एसएसबीले माथिको आदेश भन्दै घण्टौं लाइनमा उभ्याउने र तीनपुस्ते इन्ट्री गर्ने गरी दुःख दिइरहेको छ,’ स्थानीय रामसिंह भाटले भने, ‘सीमा क्षेत्रमा भारतीय पक्षले समय–समयमा अनेक नियम लगाउने गरेको छ ।’

एसएसबीले कहिले कोरोनाको नाममा त कहिले ‘उपर का आदेश’ भन्दै सताउने गरेको छ । कहिले पीसीआर रिपोर्ट, कहिले परिचयपत्र त कहिले खोप लगाएको कार्ड लिएरमात्र भारतको सीमावर्ती बजार धारचुलामा प्रवेश दिइरहेको स्थानीयको गुनासो छ । राहदानी, नागरिकता, मतदाता परिचयपत्र, सरकारी निकायको परिचयपत्रमध्ये एउटा देखाए मात्रै भारत जान दिइन्छ । भारतको पिथौरागढमा शनिबार दुई देशका अधिकारी सम्मिलित सीमा बैठकमा दुई देशका नागरिक एक अर्को देशमा आवतजावत गर्दा परिचय खुल्ने कागज भएमात्रै प्रवेश गर्न दिने विषयमा सहमत भएको र सीमा क्षेत्रमा हुने सामान्य समस्या समन्वयात्मक ढंगले अगाडि बढाउने कुरामा छलफल भएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए ।

दुई दिनदेखि सीमा क्षेत्रमा नेपाली नागरिकलाई भारतीय सुरक्षाकर्मीले कडाइ गरेर घण्टौं लाममा कुराइरहेको गुनासो सुनिएकाले त्यसको सहजीकरणका लागि धार्चुला तहसिलका उपजिल्लाधिकारी र सुरक्षा प्रमुखसित समन्वय गर्न सशस्त्र प्रहरीका एसपी गएका छन् । भारतीय अधिकारीले भने नेपाली नागरिकलाई दुःख दिन नभएर कोभिड संक्रमण र घुसपैठको सम्भावना रहेकाले सुरक्षा जाँच बढाएको जवाफ दिने गरेका छन् ।

तैपनि सीमा क्षेत्रमा आवतजावत सहज बनाउने प्रयास भइरहेको प्रशासनले जनाएको छ । भारतले व्यासको छाङरु र टिंकरमा जनगणनामा असहयोग पनि गरेको छ । भारतको बाटो भएर हिँड्ने अनुमति नदिएपछि जनगणना टोलीलाई बिहीबारमात्रै हेलिकोप्टरबाट खलंगा ल्याइएको छ । अतिक्रमित नेपाली भूमिमा पर्ने कुटी, नाभी र गुन्जीमा नेपालले जनगणना गर्न सक्ने भन्दै भारतीय सुरक्षा निकाय सशंकित बनेको छ । नेपालमा राष्ट्रिय जनगणना भइरहेकाले गणकले अतिक्रमित क्षेत्रसम्म पुग्न भारतीय बाटो प्रयोग गर्न सक्ने भन्दै सीमा पुलमा निगरानी बढाएको छ । अहिलेसम्म सीमा क्षेत्रबाट जो पनि सिधै प्रवेश गर्न सक्ने परिस्थिति रहेकाले एकआपसमा विभिन्न किसिमका गतिविधि हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै परिचयपत्र अनिवार्य गर्ने समझदारी भएको हो ।

कुनै पनि परिचय खुल्ने कागजको आधारमा आवतजावत गर्न दिने र समस्या बुझेर आवश्यक सहजीकरणसमेत गर्ने विषयमा सहमति भएको प्रजिअ जोशीले बताए । उनका अनुसार टाढाबाट आएको मान्छे कसैसँग परिचयपत्र नभएको अवस्थामा भने स्थानीय प्रशासनसँग सहजीकरण गरेर समस्या समाधान गर्न सकिने कुरा भएको हो । प्रजिअ जोशीका अनुसार बैठकमा सीमा क्षेत्रमा हुन सक्ने मानव बेचबिखन रोकथाम, सीमा नाकाबाट हुन सक्ने लागूऔषधको कारोबार रोक्ने, झुलाघाट झोलुंगे पुल मर्मत, भारतसँग जोडिएका घाटहरू व्यवस्थित गर्नेलगायत विषयमा छलफल भएको छ ।

भारतीय सुरक्षा निकायले अतिक्रमण गरेको नेपाली भूमि कालापानी क्षेत्रको प्रशासनिक व्यवस्था हेर्ने धारचुला तहसिल क्षेत्रलाई उच्च सुरक्षा चुनौतीको क्षेत्रका रूपमा हेरेको छ ।

प्रकाशित : मंसिर १८, २०७८ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्

शिक्षण छाडेर मूर्ति व्यवसाय

विप्लव महर्जन

सल्यान — बाग्चौर नगरपालिका–९ कोटमौलाका ३३ वर्षीय टोपेन्द्र डिसीले शिक्षण पेशा छोडेर शालिक र मूर्ति बनाउने व्यवसाय गरिरहेका छन् । उनले बाग्चौर बजारमा ७ वर्षदेखि मूर्ति बनाउन थालेका हुन् । स्नातकोत्तर तह उतीर्ण डिसीले झण्डै ३ वर्ष सूर्यप्रकाश आधारभूत विद्यालयमा शिक्षण गरे ।

तर निजी स्रोतबाट भर्ना गरिएका उनले तलब पाउन मुस्किल भएपछि पेशा परिवर्ततन गरेका हुन् । ‘पढेर सरकारी नोकरी गर्नैपर्छ भन्ने केही छैन,’ उनले भने, ‘बचपनदेखिको रुचीलाई व्यवसायमा परिवर्तन गरेको हुँ ।’ उनले मानव शालिक र मूर्ति बनाइ बिक्री गरेर वार्षिक २० लाख रुपैयाँसम्म आम्दानी गरिरहेको बताए । उनको कमाइबाट ६ जनाको परिवारको खर्च सजिलै टर्दै गएको छ ।

सात वर्षदेखि सुरु गरेको व्यवसाय फस्टाउँदै गएपछि उनले बाग्चौरमा एउटा पक्की घर र झन्डै ५ रोपनी जग्गासमेत जोडेका छन् । पहिले माटोका सालिक तथा मूर्ति बनाइ बिक्री गर्ने उनले २ वर्षयता सिमेन्टको मूर्ति बनाई बिक्री गर्न थालेका छन् । एउटा सालिक र मूर्तिलाई १० हजारदेखि १ लाखसम्ममा बिक्री गर्ने गरेको उनले बताए । उनले सञ्चालन गरेको टोपेन्द्र कला केन्द्रका मूर्ति र सालिकहरू किन्न खरिदकर्ताहरू गाउँमै पुग्छन् ।

‘मलाई सानैदेखि चित्रकलाको रुचि थियो, विद्यालयमा गएको समयमा पनि शिक्षकले पढाउँदै गर्दा पछाडि बसेर चित्र कोर्ने गर्थे,’ उनले भने, ‘सुरुमा पेन्टिङ सिकेर यो व्यवसायमा हात हालेको हुँ ।’ ३ वर्षअघि स्थानीय जनप्रतिनिधिहरूका चित्र बनाएर प्रदर्शन गरेका उनले सबैको प्रशंसा पाएका थिए ।

जस्तोसुकै मूर्ति र सालिक बनाउन सक्ने उनले कतैबाट तालिम लिएका होइनन् । ‘विभिन्न चाडपर्वमा देवीदेवता मूर्ति बनाउन माग आउने गरेको छ,’ उनले भने, ‘दसैं–तिहारमा त बजारको माग धान्नै गाह्रो हुन्छ ।’ उनी सालिक र मूर्ति बनाउन बिहान ७ बजेदेखि बेलुकी ६ बजेसम्म निरन्तर खट्छन् । उनले अर्धकदको मानव सालिक ३ दिनभित्रै तयार हुने बताए । उनका अनुसार पूरै शरीरको सालिक बनाउन भने १० देखि १५ दिन लाग्ने गरेको छ । ७ वर्षको अवधिमा झन्डै ३ सय सालिका तथा मूर्ति बनाएको उनको भनाइ छ ।

प्रकाशित : मंसिर १८, २०७८ ०९:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×