कांग्रेस सुदूरपश्चिम : निर्वाचनका लागि उम्मेदवारी दर्ता सुरु- सुदूरपश्चिम - कान्तिपुर समाचार

कांग्रेस सुदूरपश्चिम : निर्वाचनका लागि उम्मेदवारी दर्ता सुरु

चित्रांग थापा

धनगढी — पूर्वनिर्धारित निर्वाचन कार्यतालिकामा ३ घण्टा ढिलो गरी नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिको निर्वाचन प्रक्रिया सुरु भएको छ ।

शुक्रबार बिहान ८ बजेदेखि ११ बजेसम्म उममेदवारहरूको मनोनयन पत्र दर्ताको पूर्वनिर्धारित समयमा हेरफेर गरी दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको हो ।

प्रदेश अधिवेशन आयोजक समितिको प्रचारप्रसार उपसमितिका संयोजक नृप सुनारका अनुसार परिवर्तित कार्यतालिका अनुसार शुक्रबार दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्वाचन समितिले तोकिएको हो ।

प्रचारप्रसार उपसमितिका संयोजक सुनारका अनुसार शुक्रबार दिउँसोसम्म सभापति पदमा संस्थापन पक्षबाट वीरबहादुर बलायर र संस्थापन इतर पक्षबाट नारायण दत्त मिश्रले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै उपसभापतिमा गोपाल गुरुङ र मानबहादुर रावल तथा महामन्त्री पदका लागि नर नारायण शाह, प्रताप गुरधामी र रामबहादुर शाहीले उम्मेदवारी दर्ता गराएको संयोजक सुनारले बताए । विभिन्न पदाधिकारी तथा सदस्यहरूका लागि मनोनयन प्रक्रिया जारी छ ।

प्रकाशित : मंसिर १७, २०७८ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्

बागलुङको एक विद्यालयका ३० जनामा कोभिड संक्रमण

अगन्धर तिवारी

पर्वत — बागलुङको एक विद्यालयका विद्यार्थी र शिक्षकगरी एकैपटक ३० जनामा कोभिडको संक्रमण पुष्टि भएको छ । बागलुङ नगरपालिका–१३ पैयुंपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयका छात्रछात्रा र शिक्षकहरुमा कोभिड संक्रमण देखिएको हो । कोभिडको जस्तै लक्षण देखिएपछि जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मीहरुको टोलीले बिहीबार र शुक्रबार परीक्षण गरेको थियो । 

केहीको एन्टिजेन र केहीको पीसीआर परीक्षण गर्दा एकैपटक ठूलो संख्यामा संक्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेका अनुसार १०० नमुना परीक्षण गर्दा ३० जनामा संक्रमण पुष्टि भएको हो । ‘नयाँ भेरिएन्ट हो कि भनेर जीन सिक्वन्सिङ परीक्षण गर्न केही नमुना काठमाडौं पठाउँदैछौं,’ उनले भने, ‘त्यो नतिजा आएपछि के हो भन्ने पत्ता लाग्छ ।’

कोरोना पुष्टि हुनेमा १७ वर्षमुनिका २१ जना र १७ वर्ष उमेरभन्दा माथिका ९ जना रहेका छन् ।

वडाध्यक्ष नारायण शर्मा पौडेलले संक्रमण पुष्टि भएको विद्यालय एक साताका लागि बन्द गर्न जिल्ला कोभिड नियन्त्रण तथा रोकथाम व्यवस्थापन समितिलाई पत्राचार गरिएको बताए ।

प्रकाशित : मंसिर १७, २०७८ १५:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×