कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बझाङका ९ पुल जोखिममा

बझाङ — साउन २५ गते सेती नदीमा निर्माण भएको झनानाको मोटरेबल पुल तामझामका साथ उद्घाटन भयो । जयपृथ्वी राजमार्गमा पर्ने दुर्गाथली गाउँपालिका र खप्तड राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने थलारा गाउँपालिकालाई यसले जोडेको छ ।

यो पुल सञ्चालनमा आएसँगै सेतीपारि रहेको बझाङको आधा भूभागका बासिन्दालाई आवागमनमा सहज हुने र खप्तड घुम्ने पर्यटकको यात्रा पनि निकै छोटो हुने अपेक्षासहित स्थानीय खुसी भएका थिए ।

पाँच वर्ष लगाएर ९ करोड लागतमा निर्माण सम्पन्न यो पुलले दिएको खुसी चार महिना पनि टिक्न सकेन । कात्तिक पहिलो साताको बेमौसमी वर्षासँगै सेतीमा आएको बाढीले यो पुलमा क्षति पुर्‍याएपछि पुलमा आवागमन बन्द छ । बाढीले झनानातर्फको पिलर र सडकको बीचको भाग बगाएपछि यातायात सञ्चालन हुन सकेको छैन ।

पुल मर्मत गरेर पुनः सञ्चालन गरिदिन थलारा गाउँपालिकाका जनप्रतिनिधिहरू जिल्लादेखि प्रदेश र केन्द्रसम्म धाउन थालेका छन् । यद्यपि बन्द भएको डेढ महिनासम्म पनि पुल मर्मत भएर यातायात सञ्चालन हुन सकेको छैन । निर्माण गर्ने बेला नै ठेकेदार कम्पनीले सहायता संरचना (सपोर्ट स्ट्रक्चर) राम्रो नबनाएका कारण पुलको यो हबिगत भएको थलारा गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायको भनाइ छ ।

कात्तिक पहिलो साताको बेमौसमी वर्षापछि आएको बाढीका कारण झनानामा मात्रै नभएर जिल्लाका ९ वटा सडक पुलमा क्षति भएको छ । तीमध्ये चारवटा निर्माण सम्पन्न भएका छन् । चारवटा निर्माणाधीन पुल छन् । सेती नदी तथा अन्य खोलामा आएको बाढीले आसपासको जमिन कटान गरेपछि ती पुलहरू जोखिममा परेका हुन् ।

जयपृथ्वी राजमार्गमा पर्ने मौरीबगरमा रहेको तारुगाडको पक्कीपुल बाढीले बगाएर ल्याएको ढुंगा र बालुवाले पुरिने अवस्थामा पुगेको छ । चैनपुर ताक्लाकोट सडक खण्डमा पर्ने सुनिकोट गाड पक्कीपुल, नारुगौडामा र तमैलमा बन्न लागेको निमार्णाधीन पक्की पुल जोखिममा परेका हुन् ।

योमध्ये तमैलको पुलको डिजाइन नै परिवर्तन गर्नुपर्ने अवस्था छ । सेती नदीले कटान गरेर तमैलतर्फ करिब २ सय मिटर जग्गा बगाएपछि पूर्वनिर्धारित डिजाइन नै परिवर्तन गर्नुपर्ने अवस्था आएको सेती लोकमार्ग उत्तर खण्ड (चैनपुर–ताक्लाकोट सडक) कार्यालयका प्रमुख सुरेन्द्रबहादुर सिंहले बताए ।

प्रकाशित : मंसिर १७, २०७८ १२:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?