अछाम बस दुर्घटना

अस्तायो विदेश पुग्ने सपना

मेनुका ढुंगाना

अछाम — अछामको मंगलसेनबाट मंगलवार धनगढी जादै गरेको बस् मंगलसेन नगरपालिका— ४ कैलाशखोलानजिकै दुर्घटना हुँदा २ जनाको ज्यान गयो । ज्यान गुमाउने दुवै जना मंगलसेन नगरपालिका— १ का २२ वर्षीय एकेन्द्र थापा रोमानिया कामको खोजीमा जान घरबाट बिदाइ भएर गएका थिए ।

अस्तायो विदेश पुग्ने सपना

मंगलसेन नगरपालिका— १४ का ५३ वर्षीय टंक भण्डारी कामको खोजीका लागि भारत जान घरबाट निस्किएका थिए । तर २२ वर्षीय एकेन्द्र र ५३ वर्षीय टंक गन्तव्यमा नपुग्दै बस दुर्घटनामा परेर कैलाशखोलामा अस्ताए । उनीहरूको भौतिक शरिर मात्रै नभइ परिवारका सपनासमेत सेलाए ।

कोरोना संक्रमणको कारण भारतमा रोजगारी गुमेपछि कालागाउँका टंक भण्डारी एक वर्षअघि घर आएका थिए । जीविकोपार्जनको माध्यम नै भारत गएर पैसा कमाउनु थियो । ‘घरको मुख्य कमााउने मान्छे नै दुर्घटनामा परेर मृत्यु भएपछि परिवारलाई असह्य पीडा भएको छ । अब के गर्ने भनेर सोच्नै सकिएको छैन’ मृतक टंकका भतिजा जीवन भण्डारीले भने, ‘मंगलसेनबाट गाडी चढेको १५ मिनेट नपुग्दै दुर्घटना भएको छ । त्यो ठाउँमा घुम्ती पनि छैन । कुनै अप्ठ्यारो पनि छैन । चालकले जबरर्जस्ती फालेर मारेको देखिन्छ ।’

मंगलसेन —१ कुन्तिका एकेन्द्र पनि मंसिर २२ गते रोमानिया जानको लागि घरबा बिदावारी गरेर निस्केका थिए । घरको आर्थिक अवस्था कमजोर भएका कारण उनले आफ्नो पढाइ अगाडी बढाउन सकेनन् । तर भाइबहिनीको पढाइ र घरको आर्थिक अवस्था सुधार्नको लागि उनी वैदेशिक रोजगारीमा जान तयार भएका थिए ।

‘घरबाट अनेक सपना बोकेर निस्किेको जवान छोरो गाडी चढेको १५ मिनेटमै अस्ताएपछि आमाबुवा र आफन्त सम्हालिउन पनि कसरी’ उनका आफन्त टेक बहादु थापाले भने, ‘विदेशबाट फर्केर बिहे गर्नको लागि केटि समेत हेरेर गएका थिए । लाखौं खर्च गरेर विदेश जानलाई घरबाट पठाएको सन्तानलाई आफ्नै अगाडि गुमाउँदा गाउँ नै शोकमा छ ।’

३८जना बसमा सवारमध्ये ३६ जना घाइते भएका छन् । जिल्ला अस्पताल मंगलसेनमा उपचाररत घाइते मंगलसेन नगरपालिका—३ की २४ वर्षीया सिर्जना साउदले ड्राइभरले एक हातले फोन समातेको र अर्को हातले गाडी चलाएको सुनाइन् । सुरुमा पनि साघुँरो बाटोमा अन्य गाडीलाई ओभरटेक गर्दै धेरै स्पिडमा गाडी कुदाएको उनको भनाइ छ । ‘घटनास्थल भन्दा अलि पर सिर्जना चोकनजिक पनि बसको पांग्रा नालीमा जान लागेको थियो । त्यतिखेर पनि हामी डरले चिच्याएका हौं । अलि अगाडी नपुग्दै गाडी रोड तल खस्यो’ घाइते सिर्जनाले भनिन, ‘घाइते भएकाहरूलाई उद्दार गर्नुभन्दा पनि चालकलाई भाग्नै हतारजस्तो देखिन्थ्यो ।’ सिर्जनासहित उनका बुवा, आमादाइ र भाइ कामको खोजीमा भारत जान लागेका थिए ।

मंगलसेनबाट धनगढी जाँदै गरेको ना ६ ख ८२९ नम्बरको बस मंगलसेन नगरपालिका—४ मा दुर्घटना भएपछि बुधबार मृतक र घाइतेका आफन्तले मंगलसेन नगरपालिका र सडक बन्द गरे । चालकको लापरबाहीले गाडी दुर्घटना भएको भन्दै उनीहरूले उचित क्षतिपूर्तिको माग गर्दै सडक बन्द गरेका हुन् ।

प्रकाशित : मंसिर १६, २०७८ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?