१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

जिसस प्रमुख र पूर्वसांसद नै पराजित

मेनुका ढुंगाना

अछाम — मंगलबार सम्पन्न भएको नेपाली कांग्रेस क्षेत्र नम्बर १ को निवार्चनमा महाधिवेशन प्रतिनिधि पदमा चर्चित अनुहार नै पराजित भए । जिल्लामा कांग्रेसका पुराना नेता र महत्त्वपूर्ण जिम्मेवारी पाएका नेताले नै पराजय भोग्नु परेको हो ।

जिसस प्रमुख र पूर्वसांसद नै पराजित

पूर्वसांसद तथा राजदूत बलबहादुर कुवँर र जिल्ला समन्वय समिति अछमका प्रमुख नरबहादुर कुवँर नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । समन्वय समिति प्रमुख कुवँरले खुलातर्फ उम्मेद्वारी दर्ता गराएका थिए । उनले जम्मा २० मत मात्रै प्राप्त गरे । पूर्वमन्त्री गोविन्दबहादुर शाह र जिल्ला पार्टी सभापति भरतकुमार स्वारले दुई प्यानल बनाएका थिए । तर, उनी कुनै प्यानलमा अटाएनन् । अछामको निर्वाचन क्षेत्र नम्बर १ मा मंगलबार सम्पन्न भएको मत परिणामामा पूर्वराजदूत तथा सांसद कुवँर पनि महाधिवेशन प्रतिनिधिमा पराजित भए । उनी भरतकुमार स्वारको प्यानलबाट चुनाव लडेका थिए । उनले १९३ मत पाए ।

भौतिक रुपमा निर्वाचन क्षेत्रमा नभएका तर, वारेशनामाबाट महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी दर्ता गरेका पूर्वआईजिपी मोतिलाल बोहरा विजयी भएका छन् । खस आर्यतर्फबाट उम्मेदवार बनेका पूर्वआईजिपी बोहराले ३४१ मत प्राप्त गरेर विजयी भए । पुराना नेताहरुको कार्यशैली देखेर विरक्त भएका कार्यकर्ताले नयाँ अनुहारबाट केही अपेक्षा गरेको क्षेत्रीय प्रतिनिधिहरु बताउँछन् । विद्यार्थी राजनीतिबाट आएका नयाँ पुस्ताका युवा नेता तपेन्द्र खड्का, नृप साउद, डिवी सुनार, जयन्द्र स्वार, कृष्ण कुवँर लगायतका युवा महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् ।

अछाममा संस्थापनको वर्चस्व

अछामका दुई निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ मा तनावपूर्ण अवस्थाका बीच निर्वाचन भएको छ । मंसिर ६ गते क्षेत्रीय अधिवेशनको उद्घाटन भएको थियो । मतगणनाका बेला फर्जि मत खसेको पाइएपछि गणना स्थगित भएर पुनः मतदान गर्ने निर्णय भएको थियो । सुरुको मतदानमा कुनै पनि प्यानल नबनाएर स्वतन्त्र उम्मेदवारी दिएका नेताहरूले पुनः मतदान गर्नुपर्ने अवस्था आएपछि संस्थापन पक्षकै दुई टिम बनाएका थिए ।

पूर्व सूचना तथा सञ्चारमन्त्री गोविन्दबहादुर शाह र कांग्रेस जिल्ला सभापति भरतकुमार स्वारको नेतृत्वमा अर्को टिम बन्यो । तर विजयी भने कुनै एक प्यानल भएनन् । दुई वटै टिमबाट चुनाव जिते । पूर्वमन्त्री शाहले भने आफ्नो टिममा पौडेल पक्ष र गगन थापा पक्षसँग समीकरण गरेका थिए । दुई टिमबाट संस्थापन पक्षका २० जना महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् । संस्थापन इतरका ५ जना विजयी भए ।

क्षेत्र नम्बर २ मा संस्थापनका २२ जना र संस्थापन इतरका ३ जना निर्वाचित भएका थिए । दुवै निर्वाचन क्षेत्र भएको अछाममा ४२ जना संस्थापन र ८ जना संस्थापन इतरमा महाधिवेशन प्रतिनिधि विजयी भएका छन् । क्षेत्र नम्बर १ को विवादले जिल्ला अधिवेशन तोकिएको समयमा हुन नसकेको कांग्रेस जिल्ला सचिव नमबहादुर शाहीले बताए । उनका अनुसार अब केन्द्रीय महाधिवेशनपछि मात्रै अछाममा जिल्ला अधिवेशन हुनेछ ।

प्रकाशित : मंसिर १५, २०७८ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?