दिनहुँजसो दुर्घटना

चिल्ला र चौडा सडकमा दुर्घटना बढी, दुर्घटना पर्नेमा सबैभन्दा बढी मोटरसाइकल

धनगढी,कञ्चनपुर,अछाम — कैलालीस्थित पूर्वपश्चिम राजमार्गमा दैनिकजसो दुर्घटनाका कारण मृत्युका घटना भइरहेका छन् । पछिल्ला पाँच दिन लगातार यो राजमार्ग खण्डमा भएका सडक दुर्घटनामा ४ जनाले ज्यान गुमाएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत गोदावरीको स्याउले चोकमा सोमबार बिहान पैदल हिँडिरहेका बेला ट्रकको ठक्करबाट कैलालीको स्थानीय १९ वर्षीय नरेश देउवाको मृत्यु भयो । आइतबार राति कैलालीमै मोटरसाइकल दुर्घटनामा परी घोडाघोडी नगरपालिका—१ का २० वर्षीय रुद्र बोहराको मृत्यु भएको थियो ।

दिनहुँजसो दुर्घटना

त्यस्तै, शनिबार पनि घोडाघोडी—५ डोके बजारमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक वसन्तराज शर्माको मृत्यु भएको थियो । ट्राफिक प्रहरी कार्यालय कैलालीको तथ्यांकअनुसार चालु आर्थिक वर्षका चार महिना साउनदेखि कात्तिकसम्म कैलालीमा १ सय ६ वटा सडक दुर्घटना भए । ती घटनामा ३० जनाको मृत्यु भएको छ । १ सय ४४ जना घाइते भएका छन् ।

कार्यालय प्रमुख प्रहरी निरीक्षक वकिलबहादुर सिंहका अनुसार अधिकांश घटना सवारीसाधन तीव्र गतिका कारण भएका छन् । २१ वटा दुर्घटना छाडा चौपायाका कारण भएका छन् । ‘यो चार महिनाको अवधिमा भएका घटनाको विस्तृत अध्ययनअनुसार लगभग सबै दुर्घटना र मृत्यु तीव्र गतिका कारण भएको पाइएको छ,’ इन्स्पेक्टर सिंहले भने, ‘सवारीसाधनका कारण एक जना र चौपायाका कारण भएको दुर्घटनामा एक जनाको मृत्यु र २३ जना घाइते भएका छन् ।’ अन्य २८ जनाको मृत्यु तीव्र गतिकै कारण भएको उनको भनाइ छ ।

कार्यालयका अनुसार सबैभन्दा बढी दुर्घटना शनिबारका दिन हुने गरेको पाइएको छ । चार महिनाको दुर्घटना संख्या विश्लेषण गर्दा शनिबारका दिन सबैभन्दा धेरै २६ दुर्घटना भएको कार्यालय प्रमुख सिंहले बताए । यस अवधिमा भएका सडक दुर्घटनामा २५ देखि ४० वर्ष उमेर समूहका चालकले हाँकेको सवारीसाधनको संख्या सबैभन्दा धेरै रहेको कार्यालयको भनाइ छ । कार्यालयका अनुसार दुर्घटनाग्रस्त ६७ सवारीसाधनका चालकहरूको उमेर समूह २५ देखि ४० वर्ष थियो ।

दुर्घटना दर बढ्दै गएको भए पनि न्यूनीकरणका ठोस प्रयासहरू भने भएका देखिँदैनन् । राजमार्गमा खटिएका ट्राफिक प्रहरीले जरिवाना असुल्ने कार्यलाई प्राथमिकता दिने गरेका छन् । तर नियम पालनमा कडाइ भने गरेको पाइँदैन । पूर्वपश्चिम राजमार्ग क्षेत्रमा धेरैजसो स्थानमा ट्राफिक प्रहरीका पोस्टहरू छन् । आफू भर्खरै सरुवा भएर आएको र सडक दुर्घटना न्यूनीकरणका लागि नियमको पालना गर्ने गराउने कार्यलाई प्राथमिकता दिने निरीक्षक सिंहले बताए । ‘धनगढीको सडक क्षेत्रमा त सुरु नै गरिसक्यौं । जथाभाबी सवारी पार्किङ गर्न नपाइने र त्यस्तो अवस्थामा सवारीसाधन लक गर्ने गरेका छौं ।’ धनगढी बजार क्षेत्रमा तथा धनगढी—अत्तरिया ६ लेन सडकमा पनि दुर्घटना बढिरहेको छ । ६ लेन सडक निर्माण भए पनि धनगढीदेखि अत्तरिया चोकसम्मको सवारी अवधि छोट्टिएको मात्रै छैन, सुविधायुक्त र रमणीय पनि भएको छ । तर यस खण्डमा दुर्घटनाको दर पनि बढेको छ ।

ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार गत साउनदेखि कात्तिकसम्मको अवधिमा २५ वटा दुर्घटना भएका छन् । ती दुर्घटनामा ३ जनाको मृत्यु, ३३ जना घाइते र १४ वटा छाडा पशु चौपायाको मुत्यु भएको तथ्यांक छ । ‘चिल्ला र चौडा सडक भएपछि दुर्घटना न्यून हुनुपर्नेमा बढेको देखिन्छ,’ जिल्ला ट्राफिक प्रहरी कार्यालयका सई मोहनसिंह धामीले भने, ‘अव्यवस्थित पार्किङ तथा अनियन्त्रित गतिले दुर्घटना बढेको देखिएको छ ।’

कार्यालयका अनुसार ६ लेन सडकको दुवैतिर सिमेन्टका डिभाइडरहरू राखिएको छ । ६ लेनमा तीव्र गतिमा सवारीसाधनहरू गुडाइने भएकाले क्रस गर्न सहज गर्ने उद्देश्यले डिभाइडरहरू राखिएको हो । तर चालकले ट्राफिक नियमहरूको पालन नगर्दा र ती डिभाइडरकै कारण दुर्घटनाको जोखिम बढाएको हो । धनगढी सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र एवं प्रदेशकै राजधानी भएकाले सवारीको चाप अत्यधिक छ ।

ट्राफिक प्रहरीका सुदूरपश्चिम प्रमुख एसपी वामदेव गौतमका अनुसार सडक दुर्घटना बढ्दो क्रममा हुनुका पछाडिको मुख्य कारण सवारी चालकको लापरबाही तथा तीव्र गति रहेको पाइएको छ । ट्राफिक नियमविपरीत तीव्र गति, जथाभावी ओभरटेक, चालक निदाउने, मादक पदार्थको सेवन, सडक दुर्घटना हुने गरेको पाइएको छ । दुर्घटनामा कतिपय अवस्थामा यात्रुहरूको पनि कमजोरी रहने गरेको प्रहरीको भनाइ छ । सवारीसाधनमा हुने यान्त्रिक गडबडी पनि दुर्घटनाको अर्को कारण हो । क्षमताभन्दा बढी भार, मौसम, सडकको अवस्था, छाडा चौपाया, पुराना सवारीसाधनहरू, ब्रेक फेललगायतका कारणले पनि दुर्घटना हुने गरेको छ ।

बर्सेनि बढ्दै सवारी दुर्घटना

कञ्चनपुरमा चालु आर्थिक वर्षको ४ महिनामा सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका ६९ दुर्घटनामा ७ जनाको मृत्यु हुनुका साथै ३४ जना घाइते भएका छन् । ट्राफिक प्रहरीका अनुसार सबैभन्दा बढी असोजमा २५, साउनमा २०, कात्तिकमा १४ र भदौमा १० दुर्घटना भएका छन् । सबैभन्दा बढी दुर्घटना हुने सवारीसाधन मोटरसाइकल छ । ४ महिनाको अवधिमा ६९ मध्ये ४३ दुर्घटना मोटरसाइकलमा भएका छन् । प्रहरीका अनुसार अधिकांश दुर्घर्टना छाडा चौपायाका कारण हुने गरेका छन् ।

रातिको समयमा सडकमा बस्ने छाडा चौपाया नदेखिने गरेका कारण दुर्घटना हुने गरेको हो । यसरी भएका दुर्घटनामा ४३ चौपायासमेत मरेका छन् । ट्राफिक प्रहरीले छाडा चौपायाका कारण हुने दुर्घटना न्यूनीकरणका लागि रेडियमसमेत लगाउन सुरु गरेको थियो । विभिन्न संघसंस्थाको सहयोगमा रेडियम लगाउने कार्य गरे पनि पछिल्लो समय रोकिएको छ ।

अछाममा पनि बर्सेनि सवारी दुर्घटना बढ्न थालेका छन् । ग्रामीण भेगसम्म सडक विस्तार भएसँगै दुर्घटना पनि बढेका हुन् । क्षमताभन्दा बढी यात्रु बोक्ने मुख्य समस्याले दुर्घटना बढेको अछामका प्रहरी प्रमुख डीएसपी तुल्सीराम अर्यालले बताए । उनका अनुसार आव ०७७/७८ मा अछाममा सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । ४५ जना घाइते भएका छन् । गत आवमा सवारी दुर्घटनासम्बन्धी दुईवटा मुद्दा चलेका छन् ।

यसैबीच, सुदूरपश्चिममा हरेक वर्ष सडक दुर्घटना बढ्दो क्रममा छ । ५ वर्षमा सडक दुर्घटनामा ८ सय ४३ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष ०७३/०७४ देखि ०७७/०७८ सम्मको अवधिमा १ हजार ५ सय ३० वटा दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालयको तथ्यांक छ ।

प्रकाशित : मंसिर १५, २०७८ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?