कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

महिलाले बनाए नमुना गाउँ

वसन्तप्रताप सिंह

बझाङ — बझाङको छबिस पाथीभेरा गाउँपालिका—७ को खोरीगाउँले परिचय बदलेको छ । यो गाउँलाई अझै पनि धेरैजसोले पालिकाको मात्रै नभएर जिल्लाकै विकट, दुर्गम र पिछडिएको गाउँका रूपमा चिन्ने गरेका छन् ।

महिलाले बनाए नमुना गाउँ

उच्च हिमाली भेगमा पर्ने यो गाउँको परिचयमा आर्थिक विपन्नता, विकासका पूर्वाधारको अभाव, छाउपडी, छुवाछूत, लैंगिक विभेद, सामाजिक अन्धविश्वास, दयनीय सरसफाइको अवस्थाजस्ता विम्बहरू जोडिने गरेका भए पनि अहिले यहाँको अवस्था पूरै बदलिएको छ ।

प्रायःजसो बासिन्दा परिश्रमी र सहयोगी भावनाका धनी हुँदाहुँदै पनि १ सय २० परिवारको बसोबास रहेको खोरीगाउँले केही वर्ष पहिलासम्म विकासको लय समाउन सकेको थिएन । पुरुषहरू दिनभर जुवातास र क्यारेमबोर्डमा व्यस्त हुन्थे । साँझपख मदिराले मात्तिँदै लडखडाउँदै घर आइपुग्थे । प्रत्येक घरमा दिनहुँ झगडा र कोलाहल हुन्थ्यो । दिनभर काममा घोटिएका महिलाहरू राति शान्तिसँग निदाउन पनि पाउँदैन थिए ।

न त उनीहरूले ज्याला मजदुरी गरेर कमाएको पैसा नै चाहिने काममा खर्च गर्न पाउँथे । केटाकेटीहरूको उस्तै बिचल्ली थियो । ‘हामीले भारी बोकेको पैसा पनि पुरुषहरूलाई रक्सी खानलाई दिनुपर्थ्यो । दिएन भने कुटाइ खानुपर्थ्यो,’ केही वर्षअघिका दिन सम्झँदै स्थानीय किट्टीदेवी बोहराले भनिन्, ‘बेल बुड्न (घाम डुब्न) लाग्यो कि होहल्ला सुरु भइहाल्थ्यो । गाउँमा बसिखानु हुँदैन्थ्यो ।’ जुवातास र मदिराको लतले गाउँ नै बर्बाद हुन थालेपछि यहाँका महिलाहरू एकजुट हुन थालेको उनले बताइन् ।

‘अब त अति भयो भनेर सबै महिलाहरूले सल्लाह गर्‍यौं । समिति बनाएर जुवा, रक्सी बन्द गर्ने निर्णय गर्‍यौं । रक्सी बनाउनेहरूका घरमा गएर भाँडाकुँडा उछिट्यायौं,’ अर्की स्थानीय भौंरी बोहराले भनिन्, ‘७/८ बर्ष भयो । अब त हाम्रो गाउँजस्तो शान्त कँही छैन,’ उनले छिमेकी गाउँबाट रक्सी खाएर खोरीगाउँमा कोही प्रवेश गर्‍यो भने पनि ५ हजार नगद जरिवाना गर्ने नियम अहिलेसम्म पनि कायम रहेको बताइन् ।

खोरीगाउँका महिलाहरूले गाउँलाई मदिरामुक्त गर्दै सुरु गरेको समाज सुधारको अभियान यतिकैमा रोकिएन । अहिले यो गाउँको सरसफाइको अवस्था पालिकामै नमुना बनेको छ । बाटाघाटा, घर आँगन र सार्वजनिक स्थलहरू सफा र चिटिक्क छ । खानेपानीका लागि स्थानीय कुवामा घण्टौं लाइन बस्नुपर्ने अवस्था अन्त्य भएको छ । प्रत्येक घरमा खानेपानी धारा जडान गरिएका छन् ।

सबैका घरमा शौचालय, भाँडा माझ्ने जुठ्यान र भाँडा सुकाउने चाङ बनेका छन् । छबिसपाथीभेरा गाउँपालिका ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको ६६ प्रतिशत आर्थिक तथा प्राविधिक सहयोग तथा स्थानीयको ३४ प्रतिशत नगद योगदान तथा श्रमदानमा निर्माण गरिएको छडोखोला खोरी खानेपानी तथा सरसफाइ योजनाले यो सबै सम्भव भएको हो ।

सिंगो गाउँलाई नै खानेपानी र सरसफाइयुक्त बनाउने लक्ष्य लिएको यो योजनाको नेतृत्व महिलालाई दिन सुरुमा पुरुषहरूले मानेका थिएनन । ‘योजना सम्पन्न गर्न अनेक अड्डा अफिस धाउनुपर्छ । महिलाहरूका हातबाट यस्तो काम हुँदैन भनेर पुरुषहरूले भने, ’ उपभोक्ता समितिकी सचिव बेलुदेवी बोहराले भनिन्, ‘हामी किन सक्दैनौं ? पुरुषहरू बाहिरै बसेर सहयोग गर्नु होस् भन्यौं । उहाँहरूले पनि हुन्छ हेरौं भनेर सहमति दिनुभयो ।’

घरघरमा ताजा तरकारी उत्पादन

खोरी हिमाली गाउँ भएकोले चिसोले गर्दा तरकारी फलाउन कठिन हुन्थ्यो । गाउँमा तरकारी उत्पादन नहुने भएकोले यहाँका बासिन्दाहरू हिउँदयाममा नुन खुर्सानी र मोहीसँग रोटी खानुपर्ने बाध्यतामा थिए । महिलाहरूकै सक्रियतामा अहिले यो गाउँमा आधुनिक प्रविधिमा आधारित प्लास्टिक घरको प्रयोगले बाह्रैमास ताजा तरकारी उत्पादन हुन थालेको छ ।

‘खानेपानी भयो, अब खेर गएको पानीबाट तरकारी खेती गर्छौं । हामीलाई सहयोग गर्नुस् भनेर हामीले गाउँपालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका सरहरूलाई भन्यौं’ छडोखोला खोरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिकी अध्यक्ष अगुवा महिला सुनीता बुढा भन्छिन्, ‘हाम्रो काम देखेर उहाँहरू खुसी हुनुभएको रहेछ । उहाँहरूले टनेल र तालिम दिनुभयो । बाँकी लगानी हामीले गर्‍यौं । अहिले त तरकारी फालाफाल छ ।’

उनले गाउँमा उत्पादन भएको तरकारी स्थानीयस्तरमा मात्रै खपत नभएर पालिकाका अन्य गाउँमा र सदरमुकामसम्म बेचेर आम्दानी गरिरहेको बताइन् । तरकारीबाट आम्दानी हुन थालेपछि धाराबाट खेर जाने पानीलाई जम्मा पर्ने सिँचाइ ट्यांकी बनाउने र स्प्रिङकल धाराबाट विभिन्न ठाउँमा सिँचाइ गर्न मिल्ने गरी पूर्वाधार बनाइदिन पालिकासँग माग गरेको बताउँदै पालिका पनि यो विषयमा सकारात्मक रहेको बुढाको भनाइ छ ।

हट्दै छाउपडी प्रथा

महिलाहरूकै अगुवाइमा यो गाउँमा कुप्रथाका रूपमा रहेको छाउपडी प्रथा पनि हटेको छ । सामाजिक विकासका क्षेत्रमा एकपछि अर्को सफलता पाएपछि हौसिएका यहाँका महिलाहरूले महिनावारी र सुत्केरी भएका महिलाहरूलाई गरिने विभेद अन्त्य गर्न पनि आफैं कस्सिएका हुन् ।

‘पहिला महिलाहरू पढेलेखेका थिएनन् । महिनावारी भएका बेला सरसफाइ गर्न नजान्ने भएर घरभन्दा टाढा राखिएको हो । अहिले सबैले सरसफाइ सिकेका छन अब विभेद गर्नु हुँदैन भनेर सल्लाह गर्‍यौं । सबैले छाउ बार्न छोड्यौं ।’ स्थानीय चन्दना जप्रेलले भनिन्, ‘सुरु सुरुमा बूढापाकाहरूले अप्ठेरो पनि मानेका थिए । विस्तारै बानी पर्दै गयो । अहिले त कसैले केही भन्दैन ।’

छाउ बार्न छोडेका यो गाउँका महिलाहरूले महिनावारी हुँदा सुरक्षित प्याड प्रयोग गर्ने र आफूले प्रयोग गर्ने प्याड आफैं उत्पादन गर्न थालेका छन् । गाउँमा पुन प्रयोग गर्न मिल्ने प्याड बनाउन जान्ने महिलाहरूको बाहुल्य भएसँगै उनीहरूले यसलाई उद्योगका रूप दिन पनि सुरु गरेका छन् । खानेपानी तथा सरसफाइ उपभोक्ता समितिकै सक्रियतामा उत्पादन थालिएको प्याडलाई प्याकेजिङ गरेर गाउँपालिकाभरिका विद्यालयलाई बिक्री गर्ने र महिलाहरूको आम्दानी बढाउने योजना रहेको स्थानीय शान्ति बोहराले बताइन् ।

खोरी गाउँका महिलाहरूको अभियानलाई गाउँपालिका र विभिन्न संघसंस्थाहरूले पनि सहयोग गर्दै आएका छन् । ‘सुरुमा महिलाहरूले के गर्न सक्लान् र भन्ने लागेर खिसी गरेर उडाउने काम पनि गरियो,’ स्थानीय लक्ष्मण बोहराले भने ‘अहिले भने त्यस्तो छैन । महिलाले अगुवाइ गर्‍यो भने पुरुषको भन्दा राम्रो काम हुने रहेछ भनेर जुनसुकै काममा उहाँहरूलाई जिम्मा दिने र हामीले साथ दिने गरेका छौं ।’

पालिकाबाट एक लाख पुरस्कार

यो गाउँका महिलाको सक्रियताको सम्मान गर्दै छबिसपाथीभेरा गाउँपालिकाले नगद पुरस्कार पनि दिएको छ । महिलाहरूको अगुवाइमा गाउँको समग्र विकास उदाहरणीय भएको भन्दै पालिकाले सम्मान स्वरूप १ लाख १ सय २५ रुपैयाँ नगद पुरस्कार दिएको हो ।

‘विकास निर्माण, सामाजिक सुधार, कृषि, शिक्षालगायतका क्षेत्रमा यहाँका महिलाहरूले गर्नुभएको काम पालिकाभरिमै उदाहरणीय छ,’ गाउँपालिका अध्यक्ष अक्कल धामीले भने, ‘उहाँहरूलाई अझ राम्रो काम गर्न हौसला मिलोस् र अन्य गाउँका मानिसहरूले पनि खोरीको सिको गर्न उत्प्रेरणा होस् भनेर हामीले पुरस्कार दिएका हौं ।’

प्रकाशित : मंसिर १३, २०७८ १४:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?