जनगणनामा छुटेकाको विवरण संकलन गरिँदै

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामका कशवीर सार्की शुक्रबार बिहानै जिल्ला जनगणना कार्यालयमा पुगे । जनगणनामा उनको परिवारको विवरण भर्न छुटेको थियो । यही जानकारी दिन उनी वडा कार्यालय हुँदै जिल्ला प्रशासनपछि जनगणना कार्यालय पुगेका हुन् । उनको सूचनापछि जनगणना कार्यालयले विवरण संकलनका लागि गणकलाई खटायो ।

जनगणनामा छुटेकाको विवरण संकलन गरिँदै

वैदेशिक रोजगारीका लागि कतारमा रहेका उनी केही दिनअघि मात्रै घर पुगेका थिए । उनको परिवार सीमावर्ती भारतीय बजार वनबासामा बस्दै आएको छ । यस कारण कात्तिक २५ देखि मंसिर ९ सम्म सञ्चालन भएको जनगणनाको क्रममा उनको परिवार छुटेको हो ।

परिवारसहित काठमाडौंमा बस्ने भीमदत्त नगरपालिका–१८ का पुष्पराज भट्टको परिवार पनि जनगणनामा विवरण भर्न छुटेको थियो । काठमाडौंमा गणना हुँदा महेन्द्रनगर आएका र महेन्द्रनगरमा गणाना सकिँदा पुगेका कारण उनको परिवारको विवरण संकलन हुन सकेको थिएन । भट्टले पनि शुक्रबार बिहानै जिल्ला जनगणना कार्यालयमा फोन गरेर विवरण संकलन नभएको जानकारी गराए । त्यसलगत्तै विवरण संकलनका लागि गणक दीक्षा चन्दलाई भट्टको घरमै पठाएको जिल्ला जनगणना कार्यालय कञ्चनपुरका प्रमुख गोविन्द्रप्रसाद न्यौपानेले बताए ।

१२ औं राष्ट्रिय जनगणनाअन्तर्गत घरपरिवारको विवरण संकलनको काम कात्तिक २५ देखि सुरु भई मंसिर ९ मा सकिएको छ । शुक्रबार थप एक दिन छुटफुटको विवरण संकलन गर्ने समयावधि छ । गणकहरूले भरेका प्रश्नावलीहरूको रुजु गर्ने काम केही दिनसम्म चल्ने छ । उक्त प्रश्नावली केन्द्रमा नपठाएसम्म आएका सूचनाअनुसार छुटेकाहरूको विवरण संकलन हुने न्यौपानेले बताए ।

‘अहिले छुटेकाहरूको विवरण संकलन गरिरहेका छौं,’ न्यौपानेले भने, ‘एक/दुई दिन अझै छुटफुटको विवरण संकलन हुनेछ ।’ कञ्चनपुरमा राष्ट्रिय जनगणनाका लागि ४७७ गणक परिचालन गरिएका थिए । ९ वटा स्थानीय तह रहेको कञ्चनपुरमा विभिन्न पालिकामा ५ वटा स्थानीय जनगणना कार्यालयसमेत स्थापना गरिएको थियो । विगतमा शिक्षक तथा सरकारी कर्मचारीहरू नै जनगणनामा परिचालन गरिन्थे । यसपटक अनलाइनबाटै सरकारी क्षेत्रभन्दा बाहिरकालाई जनगणनामा गणकका रूपमा परिचालन गरिएको हो । यसले बेरोजगारले केही दिनका लागि भए पनि रोजगारी पाउनुका साथै भविष्यमा समेत अन्य तथ्यांकसम्बन्धी कार्यक्रमका लागि जनशक्ति तयार भएको जिल्ला जनगणना कार्यालय कञ्चनपुरका प्रमुख न्यौपाने बताउँछन् ।

यस पटकको गणनामा सर्वसाधारणमा जनगणनाका बारेमा जनचेतना वृद्धि घएको र सूचना संकलनमा सहज भएको न्यौपाने बताउँछन् । प्रश्नावली लामो भए पनि पारिवारिक विवरण संकलनमा स्थानीय जागरुक भएकै कारण सजिलो भएको उनले बताए । तर कतिपय ठाउँमा निरक्षरभन्दा पनि साक्षर र जानेबुझेकैले सूचना दिन अटेरी गर्ने तथा लुकाउन खोज्ने गर्दा समस्या भएको उनले बताए ।

यसअघि भदौ ३० देखि असोज १७ सम्म घरपरिवार सूचीकरण गरिएको थियो । घर परिवार सूचीकरणका लागि ११७ सुपरिवेक्षक परिचालन गरिएका थिए । सूचीकरणबाट आएको विवरणकै आधारमा जनगणना गरिएको हो ।

घरपरिवार सूचीकरणमा कञ्चनपुरमा जिल्लामा १ लाख १० हजार हाराहारी घरपरिवार रहेको आकलन गरिएको छ ।

प्रकाशित : मंसिर १२, २०७८ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?