विपद् पीडितलाई परदेशीको सहयोग- सुदूरपश्चिम - कान्तिपुर समाचार

विपद् पीडितलाई परदेशीको सहयोग

वसन्तप्रताप सिंह

बझाङ — बेमौसमी वर्षासँगै कात्तिक पहिलो साता आएको बाढीपहिरो पीडितहरुलाई अमेरिकामा बस्ने बझाङीहरुले संकलन गरेको राहत बिहीबार वितरण गरिएको छ । अमेरिकाबाट संकलन गरी पठाइएको ५ लाख ६७ हजार थलारा र खप्तडछान्ना गाउँपालिकाका विपद पीडितहरुलाई वितरण गरिएको हो ।

अमेरिकामा बस्दै आएका बझाङको थलारा गाउँपालिका–९ सिरेटाका धनबहादुर सिंह र जयपृथ्वी नगरपालिका– १० कुलाली गाउँका यज्ञराज जोशीको पहलमा संकलित उक्त रकम थलाराका ४, डिख्लाका ७ र खप्तडछान्ना गाउँपालिकाका ३५ घरपरिवारलाई वितरण गरिएको धनबहादुर सिंहका दाई प्रेमबहादुर सिंहले जानकारी दिए । उनले अमेरिकामा संकलित केही रकम अझै बाँकी रहेकोले जिल्लाका अन्य पालिकाका पीडितहरुलाई वितरण गरिने जानकारी दिए । कात्तिक २ गते आएको पहिरोमा परि थलाराका २३ र खप्तडछान्नाका ६ जनाले ज्यान गुमाएका थिए ।

अमेरिकामा बसोवास गर्दै आएका विभिन्न ठाउँका ७१ जना नेपालीबाट उक्त राहत रकम संकलन गरिएको थियो । ‘बाढीपहिरोले जिल्ला नै तहसनहस भएको र घरबारविहिन भएको अवस्थामा पीडितहरुलाई थोरै भए पनि सान्त्वना होस भन्ने उद्देश्यले रकम संकलन अभियान चलाएका हौं,’ अमेरिकामा राहत संकलन अभियान चलाएका धनबहादुर सिंहले भने, ‘हाम्रो अभियानमा अमेरिकामा बस्ने बझाङीहरु र बझाङ बाहिरका मनकारीहरुले पनि साथ दिनुभयो । यो रकमले पीडितलाई केही हदसम्म भएपनि राहत भयो होला भन्ने आसा छ ।’ बझाङ जिल्लामा भएका विपद्‌का घटनामा यसअघि पनि मानवीय सहयोग संकलन अभियान चलाउँदै आएका उनले दुई हप्ताको अवधिमा यो रकम संकलन भएको जानकारी दिए ।

यस्तै थलारा–९ सिरेटा घर भई भारतमा रहेका कलाकार बासुदेव जोशीको पहलमा भारतमा बस्ने नेपालीहरुले संकलन गरेको २३ हजार र सुदूरपश्चिम देउडा एकता समाज भारतद्वारा संकलित २७ हजार गरी ५० हजार नगद रकम पनि विपद् पीडितहरुलाई वितरण गरिएको छ । थलारा गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्याय, थलारा–४ का वडाध्यक्ष विष्णु विष्ट, खप्तडछान्ना गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपक रावललगायतले विपद् पीडितहरुलाई राहत हस्तान्तरण गरेका थिए ।

परदेशमा कमाएको गाँस काटेर भएपनि विपद‌्‌मा आफूहरुलाई सहयोग गरेकोमा मनकारीहरुलाई विपद् पीडितहरुले धन्यवाद दिएका छन् । ‘हामी अहिले साँच्चीकै समस्यामा परेका छौं । सात समुन्द्र पारीबाट हाम्रो पीडा बुझेर सहयोग गर्नेहरु सबैको जय होस्,’ पहिरोमा घरबार गुमाएकी खप्तडछान्ना–१, मसुराडीकी काली कामीले भनिन्, ‘यो रकमले एक दुई महिना भएपनि गुजरा चलाउन सजिलो हुने भयो ।’

खप्तडछान्नाका अधिकांश पीडितहरुले पहिरोका कारण गाउँ नै जोखिममा रहेकोले सुरक्षित ठाउँमा बस्ती सारिदिन माग गरेका थिए ।

प्रकाशित : मंसिर ११, २०७८ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्

एमाले केन्द्रीय कमिटीमा अब कम्तीमा १०० जना महिला

कान्तिपुर संवाददाता

काठमाडौँ — दसौं महाधिवेशनबाट एमाले केन्द्रीय कमिटी महिला प्रतिनिधित्व बढ्ने भएको छ । शुक्रबार राति सौराहामा बसेको केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्य संख्या बढाउने निर्णय गरेपछि महिला प्रतिनिधित्व बढ्ने भएको हो ।

नेता व्यवस्थापनमा सकस परेपछि एमालेले पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थप्दै ३ सय १ सदस्यीय केन्द्रीय कमिटी बनाउने भएको छ । विधानतः २ सय २५ सदस्य हुने केन्द्रीय कमिटीमा ७६ सदस्य थपिने भएका छन् ।

केन्द्रीय कमिटीको आकार बढाएसँगै महिला एकतिहाइ अर्थात् कम्तीमा सय जना छानिने भएका छन् । यसअघि गोदावरी विधान महाधिवेशनको निर्णयअनुसार २ सय २५ केन्द्रीय सदस्यमध्ये ३३ प्रतिशत अर्थात ७५ जना महिला प्रतिनिधि छानिने अवस्था थियो ।

उपाध्यक्षमा दुई र उपमहासचिवमा दुई जना थप्ने निर्णय भएसँगै अब एमालेमा १९ जना पदाधिकारी हुनेछन् । अब पार्टीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिव हुनेछन् । दुई महिनाअघि भएको विधान महाधिवेशनबाट संशोधित विधानमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात सचिवसहित १५ जना पदाधिकारी राख्ने विधान पारित गरेको थियो ।

प्रकाशित : मंसिर ११, २०७८ १२:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×