१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८
कांग्रेस महाधिवेशन

पाका पराजित, युवा निर्वाचित

बैतडी र अछाम — बैतडीमा मन्त्री–सांसद भइसकेका र पार्टीको जिल्ला नेतृत्वमा पुगिसकेकालाई पराजित गर्दै युवाहरू कांग्रेसको महाअधिवेशन प्रतिनिधि चयन भएका छन् । संस्थापन र इतर समूहको दुवै गुटबाट लडेका युवाहरूले जित हासिल गरेका छन् । जिल्लामा भ्रातृ संगठनको वर्षौं नेतृत्व गरेका महिलालाई पछ्याउँदै संस्थापनइतर समूहबाट २७ वर्षीया लक्ष्मी शाह चन्द महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी छन् । उनी ट्रेड युनियन कांग्रेस महिला संघकी प्रदेश सहसचिव हुन् ।

पाका पराजित, युवा निर्वाचित

यस्तै संस्थापन पक्षका नेविसंघ जिल्ला अध्यक्ष २९ वर्षीय कपिल केसी पनि महाधिवेशन प्रतिनिधिमा छनोट भएका छन् । ३२ वर्षीया पुनम पाल बम, ३४ वर्षीय तेजबहादुर चन्द, ३६ वर्षीय सुरत पार्की, तुलसी ठगुन्नालगायतका युवायुवतीहरू महाधिवेशन प्रतिनिधिमा छनोट भएका छन् । विद्यालय उमेरबाटै नेविसंघको राजनीतिमा जोडिएकी सिगास गाउँपालिकाकी लक्ष्मी अहिले जिल्लामा सबैभन्दा कम उमेरकी महाधिवेशन प्रतिनिधी हुन् । राजनीतिप्रति परिवारिक आबद्धताका कारण सानैबाट रुचि बढेको उनले बताइन् ।

पछिल्लो समय युवाहरूको राजनीतिक यात्रामा बलियो सहभागिताका साथ अगाडि बढिरहेकोमा उनले खुसी व्यक्त गरिन् । ‘यो चुनावले पुरानो भएर मात्र राजनीति सम्भव छैन भन्ने देखाएको छ,’ युवा नेता तेजबहादुरले भने । महाधिवेशन प्रतिनिधिमा पूर्वराज्यमन्त्री नरबहादुर चन्द, सचेतक रहिसकेका विनयध्वज चन्द, पूर्वजिल्ला सभापति नरेन्द्र विष्टलगायतका नेताहरू पराजित भएका छन् । यसपालि युवा पुस्ताका उम्मेदवार धेरैले जितेका छन् । डेढ दशक बढी पत्रकारितामा सक्रिय ३५ वर्षीय वेदप्रकाश तिमिल्सेना महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् ।

पत्रकारिता गर्दा देखिएका समस्या र कमजोरी पूरा गर्न राजनीतिक क्षेत्र उपयुक्त लागेर होमिएको उनको भनाइ छ । ‘पत्रकारिता गर्दा त विषय उठान गर्ने हो, राजनीति त्यसलाई समाधान गर्न सकिने निकाय हो,’ उनले भने, ‘पार्टीमा या जनप्रतिनिधि भएर त्यसको समाधान गर्न अघि बढ्न म राजनीति लागे ।’

प्रकाशित : मंसिर ११, २०७८ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?