१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२
कांग्रेस महाधिवेशन

कञ्चनपुरमा संस्थापनकै दुई प्यानल

कैलालीको अधिवेशन स्थगित
सक्रिय राजनीतिको तीन वर्षमा प्रदेशसभा प्रतिनिधि

कञ्चनपुर, डोटी, धनगढी — कञ्चनपुर कांग्रेसमा जिल्ला अधिवेशनका लागि संस्थापन पक्षकै दुई गुट भिडेका छन् । संस्थापन पक्षका केन्द्रीय सदस्यद्वय रमेश लेखक र एनपी साउदले छुट्टाछुट्टै प्यानल बनाएका हुन् । शनिबार मतदान हुने कार्यक्रम छ । जिल्ला सभापतिका लागि पदम बोगटी र बहादुरसिंह थापाले उम्मेदवारी दिएका छन् । बोगटी लेखकनिकट हुन् भने थापा साउद प्यानलका हुन् । साउदलाई अर्का नेता दिवान बिष्टले पनि साथ दिएका छन् ।

कञ्चनपुरमा संस्थापनकै दुई प्यानल

थापा यसअघि दुई कार्यकाल जिल्ला सभापति भइसकेका हुन् । उनी दोस्रो संविधानसभाका सदस्य पनि हुन् । २०७४ मा प्रदेशसभा निर्वाचनमा समेत उनी उम्मेदवार बनेका थिए । बोगटी पछिल्लो स्थानीय तहको निर्वाचनमा भीमदत्त नगरपालिकामा नगर प्रमुखका उम्मेदवार बनेका थिए । साउद र लेखकले पालिकादेखि प्रदेशसभा प्रतिनिधि र क्षेत्रीय समिति तथा महाधिवेशन प्रतिनिधिमा समेत छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए ।

देउवा पक्षका साउद र संस्थापन इतरका दिवान बिष्टले भने सहकार्य गर्दै आएका छन् । जसका कारण नेता लेखक कमजोर बनेका छन् । दुई नेताबीचको गुटबन्दीले जिल्लामा पुराना नेतादेखि जिल्ला सभापति र लामो समय जिल्ला समितिमा पदाधिकारी बसेकाहरूसमेत महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।

कांग्रेस डोटी जिल्ला कार्यसमिति संस्थापन पक्षकै पकडमा गएको छ । जिल्ला सभापतिदेखि सदस्यसम्मका अधिकांश पदमा संस्थापन पक्षले हात पारेको छ । १ सचिव र १ सहसचिवबाहेक सबै पदमा संस्थापन पक्ष आएका छन् । पार्टी सभापतिका लागि दोस्रो चरणको मतदानमा संस्थापनका नरेन्द्रबहादुर सिंह विजयी भएका छन् । दोस्रो चरणको मतदानमा उनले भूमिराज बडुलाई १ सय ७१ मतअन्तरले पराजित गरेका थिए । सिंहको ५ सय ६८ मत आउँदा बडुको ३ सय ९७ मत आएको थियो ।

नेपाली कांग्रेस कैलालीको जिल्ला अधिवेशन स्थगित गरिएको छ । जिल्ला कार्यसम्पादन समितिको बैठकले शुक्रबारका लागि तोकिएको जिल्ला अधिवेशन तयारी नपुगेको भन्दै स्थगित गरेको हो । जिल्ला प्रचारप्रसार समितिका संयोजक नृपबहादुर सुनारले धनगढीमै मंसिर १६ र १७ गते प्रदेशस्तरीय अधिवेशन भएकाले जिल्ला अधिवेशन गर्न समय अपुग भएको बताए । ‘१० गते अधिवेशन गरेपछि निर्वाचन परिणाम घोषणा गर्दा ३/४ दिन जान सक्छ,’ उनले भने, ‘सर्वसम्मतको अवस्था छैन । चुनाव हुने त्यो पनि दोस्रो चरणमा जाने स्थिति देखिन्छ ।’

उनले दोस्रो चरणको चुनाव भएपछि प्रदेश अधिवेशनका लागि तयारी नपुग्ने भएकाले जिल्ला अधिवेशनलाई पछाडि सार्ने निर्णय गर्नुपरेको बताए । जिल्ला सभापति नरनारायण शाहले विज्ञप्ति जारी गर्दै जिल्ला अधिवेशन अर्कौ सूचना जारी नभएसम्मका लागि स्थगित गरेको बताएका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत विभिन्नस्तरका अधिवेशनहरू धमाधम भइरहेका छन् । वडादेखि पालिका हुँदै प्रदेशसभा प्रतिनिधि, क्षेत्रीय समिति र महाधिवेशन प्रतिनिधिसम्मका अधिवेशनहरू सम्पन्न भइसकेका छन् । वडादेखि महाधिवेशन प्रतिनिधिसम्म पुग्दा कांग्रेसमा लामो समयदेखि राजनीति गरिरहेका र कांग्रेसमै जीवन गुजारेकाहरूसमेत पराजित भएका छन् । जिल्ला कार्यसमितिका पदाधिकारीदेखि जनप्रतिनिधिहरूसमेत पराजित भएका छन् ।

ठूलठूला हस्तीहरू पराजित भइरहँदा कञ्चनपुरकी २४ वषीया प्रेरणा पाण्डेय (टिकेश्वरी) भने प्रदेशसभा प्रतिनिधिमा खुलातर्फ सर्वाधिक मत ल्याएर विजयी भइन् । गत साता भएको प्रदेशसभा प्रतिनिधिको निर्वाचनमा खुलातर्फ कञ्चनपुरको क्षेत्र नं. २ (१) बाट कुल खसेका २ सय मतमध्ये उनले १६१ मत प्राप्त गरिन् । खुलातर्फ ५ जना प्रतिनिधिका लागि ६ जनाको उम्मेदवारी परेको थियो । उनी कांग्रेसमा संलग्न भएको ५ वर्ष भयो । सक्रिय राजनीतिमा लागेको ३ वर्ष मात्रै भएको छ । विभिन्न एफएम र टेलिभिजनमा काम गरिरहेकै बेला ग्रामीण भेगमा पुग्दा राजनीतिक दलमा लागेका बूढापाकाहरू मात्रै देखेर उनलाई कताकता उत्सुकता जाग्थ्यो । बूढापाकाहरू मात्रै राजनीतिमा लागेका कारण युवा लक्षित कार्यक्रमहरू नआउने गरेको उनको बुझाइ छ ।

प्रकाशित : मंसिर ११, २०७८ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?