कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

बेमौसमी वर्षाले कृषिमा साढे ३ अर्बको क्षति

कञ्चनपुर — कञ्चनपुरमा बेमौसमी वर्षाले खेतीपातीमा साढे ३ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ । पालिकाहरूमार्फत संकलन गरिएको तथ्यांकअनुसार धानवाली, तोरी, आलु, तरकारी र केरालगायतमा ३ अर्ब ६३ करोडको क्षति भएको हो । सबैभन्दा बढी धानबालीमा क्षति भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाका नौवटै स्थानीय तहमा १६ हजार ३०२ हेक्टरको धानबाली नष्ट भएको छ । जुन जिल्लामा धानखेती हुने क्षेत्रफल ४६ हजार ४९६ हेक्टरको ३३ प्रतिशतभन्दा बढी हो । यहाँ धानको उत्पादकत्व ४ मेट्रिक टन प्रति हेक्टर छ । धानखेतीमा मात्रै १ अर्ब ८२ करोडको क्षति भएको छ ।

बेमौसमी वर्षाले कृषिमा साढे ३ अर्बको क्षति

जिल्लामा सबैभन्दा बढी शुक्लाफाँटा नगरपालिकामा ३३ सय ६८ हेक्टर, कृष्णपुर नगरपालिकामा ३ हजार हेकटर, बेदकोटमा २२ सय हेक्टरको धान नष्ट भएको ज्ञान केन्द्रले जनाएको छ । बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकामा १८/१८ सय हेक्टर, भीमदत्त नगरपालिकामा १६ सय ७२, पुनर्वासमा १३ सय, बेलडाडी गाउँपालिकामा ९ सय र दोधारा चाँदनीमा २५० हेक्टर धान खेतीमा नोक्सान पुगेको विवरण संकलन भएको छ ।

ज्ञान केन्द्रका अनुसार ८ हजार ५९९ हेक्टरको तोरी, १४ सय ६६ हेक्टरको आलु, १२ सय १५ हेक्टरको तरकारी र ४१० हेक्टरको केराखेतीमा समेत नोक्सान पुगेको छ । ज्ञान केन्द्रका कृषि अर्थ विज्ञ नित्यानन्द जोशीका अनुसार आलुमा ६० करोड, तरकारीमा ६६ करोड, केरामा १४ करोड र तोरीमा ४१ करोड बढीको क्षति भएको छ । ‘धानको क्षतिको विवरण पालिकाहरूले घर घरै पुगेर संकलन गरेका हुन्,’ जोशीले भने, ‘तरकारीलगायत अन्यको विवरण भने अनुमानित हो ।’ उनका अनुसार पालिकाहरूबाट पूर्ण विवरण आएपछि क्षति थोरै तलमाथि हुन सक्ने देखिन्छ ।

पालिकाहरूमार्फत धानको क्षतिको विवरण संकलन भए पनि राहत तथा क्षतिपूर्तिका लागि भने तत्काल कुनै बजेट तथा योजना नआएको जोशीले बताए । ‘विवरण संकलन गरेर पठाइएको छ, राहतका लागि बजेट आएको छैन,’ उनले भने ।

कात्तिक पहिलो साता आएको अविरल वर्षाका कारण धानबालीसँंगै अन्य खेतीपातीमा ठूलो क्षति पुगेको थियो । कृषकहरूले काटेको धान खेतमै कुहिएको थियो । काटेर थुपारेको धान समेत वर्षाले कुहिएको थियो ।

महाकाली लगायत चुरे क्षेत्रबाट बग्ने खोलानालाहरूको बाढीका कारण पनि नदी किनारको धानबाली खेतमै पुरिएको थियो । ‘अब एक/डेढ हप्तामा कृषकहरूलाई राहत वितरणका लागि रकम आउनेछ,’ कृषि ज्ञान केन्द्रका प्रमुख डा. दिलबहादुर विष्टले भने, ‘कृषकको खातामै राहत तथा क्षतिपूर्ति दिने योजनामा छौं ।’ उनले जिल्ला प्रशासन कार्यालयमार्फत वा पालिकामार्फत राहत रकम वितरण गरिने बताए ।

कैलाली र कञ्चनपुरमा अधिकांश अधियाँ गरेर गुजारा चलाउनेहरू छन् । तर पालिकाहरूले तिनको विवरण नै संकलन गरेनन् । राहत वितरणका क्रममा जग्गाधनीले पाउने र वास्तविक पीडित अधियाँ गर्नेहरूले नपाउने स्थानीय बताऊँछन् । ‘जग्गाधनी र अधियाँ गर्ने दुवैले आधा आधा राहत पाउने गरी वितरण गरिनेछ,’ विष्टले भने, ‘सकभर विवरण संकलन भएको होला नभए पनि अधियाँ गर्नेलाई राहतबाट वञ्चित गरिने छैन ।’

प्रकाशित : मंसिर १०, २०७८ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?