२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

कांग्रेस महाधिवेशन : कैलालीमा संस्थापन पक्षकै दुई गुट

मोहन बुढाऐर

धनगढी — कैलाली कांग्रेसको जिल्ला नेतृत्वका लागि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षकै बीचमा प्रतिस्पर्धा हुने देखिएको छ । अहिलेसम्म जिल्ला सभापति नरनारायण शाह र पूर्वजिल्ला सभापति दीर्घराज भाटका दुई गुटबीच वडा, प्रदेश, संघीय निर्वाचन समिति र महाधिवेशन प्रतिनिधिमा चुनावी प्रतिस्पर्धा भएको छ । शाह र भाट दुवै देउवा समूहकै हुन् । 

कांग्रेस महाधिवेशन : कैलालीमा संस्थापन पक्षकै दुई गुट

संस्थापन पक्षकै दुई गुटभित्र खेलेर पाँचवटै निर्वाचन क्षेत्रबाट इतर समूहका आठ जना महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् । वडादेखि क्षेत्रीय अधिवेशनसम्म कतै पनि छुट्टै प्यानल बनाएर प्रतिस्पर्धा नगरेको संस्थापन इतर समूहका ८ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् ।

सस्थापन इतरमा चिनिएका पूर्वजिल्ला सभापति नारायणदत्त मिश्र र गीता कठरिया क्षेत्र नम्बर १ बाट, क्षेत्र नम्बर २ बाट कमल शाह, सुमनकुमारी सन्ज्याल र भक्तबहादुर थापा, क्षेत्र नम्बर ३ बाट दीपकराज जोशी र क्षेत्र नम्बर ५ बाट क्षितिज भण्डारी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भए । कुनै गुटमा स्पष्ट नखुलेका भण्डारीले देउवा–पत्नी आरजु राणाका स्वकीय सचिव प्रकाश देउवाको भन्दा पनि बढी मत ल्याएका छन् ।

जिल्ला प्रचारप्रसार समितिका संयोकज नृप सुनारले कैलालीका पाँच वटै निर्वाचन क्षेत्रका क्षेत्रीय समिति सभापतिमा देउवा पक्षकै विजयी भएको बताए । तर समितिका अन्य पदाधिकारी र सदस्यमा संस्थापनकै दुई गुटभित्र प्रवेश गरेर इतर पक्षका दस प्रतिशत जति उम्मेदवार विजयी भएका छन् । क्षेत्र नम्बर ४ मा देउवा पक्षकै दीर्घराज भाट समूहको प्यानलै विजयी भएको छ । तर यहाँ मतगणनामा फरक परेको भन्दै उम्मेदवारको उजुरी परेपछि निर्वाचन समितिले अहिलेसम्म आधिकारिक घोषणा गरेको छैन ।

जिल्ला सभापतिका लागि भाटका उम्मेदवार नारायणदत्त भट्ट छन् । शाह गुटबाट प्रकाश बम र खेम चौधरीमध्ये एक जना उम्मेदवार हुने चर्चा छ । स्वतन्त्र रूपमा गणेश देउवा पनि सभापतिमा दाबेदार छन् । उनी पहिला संस्थापन इतरका मानिए पनि पछिल्लो समयमा देउवा समूहमा प्रवेश गरेका छन् । त्यस्तै अर्का युवा नेता भीम बडुवाल पनि देउवा समूहमै लागेका छन् । यसअघि उनी गगन थापानिकट थिए ।

प्रकाशित : मंसिर ९, २०७८ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?