कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

जनगणना-२०७८ : जन्ममिति र बिहेको उमेरमा अनभिज्ञता

कञ्चनपुर — जन्म मिति, विवाह हुँदाको उमेर र जातजाति जनगणनाका क्रममा सोधिने मुख्य प्रश्न हुन् । तर कतिपयले यसबारे भने अनभिज्ञता प्रकट गर्ने गरेका छन् । जन्म मिति सोध्दा चुनाव भएका बेला वा राजा आएका बेलालगायत उत्तर आउने गरेका छन् । विवाह भएको मितिबारे सोध्दा पनि सानैमा गरेको वा बाढी आएको वर्ष गरेको जस्ता उत्तर आउने गरेका गणकहरूको भनाइ छ । 

जनगणना-२०७८ : जन्ममिति र बिहेको उमेरमा अनभिज्ञता

खासगरी ग्रामीण भेगमा निरक्षर व्यक्तिहरू मात्रै घरमा रहेको अवस्थामा यस्तो समस्या आउने गरेको छ । जसका कारण प्रश्नावली भर्न ढिलो मात्रै हुँदैन, वास्तविक मिति नै थाहा नहुने अवस्थासमेत आउँछ । ‘विवाह हुँदाको उमेरबारे सोध्दा धेरैले सानैमा भएको बताउँछन्,’ कञ्चनपुरको बेलौरी नगरपालिका–७ का गणक अनिल चौधरीले भने, ‘ठिक्क उमेर बताउन सक्ने निकै कम भेटिन्छन् ।’

उनका अनुसार कतिपयले जातजातिका विषयमा पनि बताउन सक्दैनन् । जसका कारण जनगणनाका प्रश्नावली भर्न निकै समस्या हुने गरेको छ । चौधरी बेलौरी नगरपालिका–७ कै स्थायी बासिन्दा हुन् । उनको वडामा थारू समुदायसँगै पहाडी र राना थारू समुदायको बसोबास छ । स्थानीय भएका कारण अलिअलि सबै भाषा बुझे पनि कतिपय विषयमा सबै कुरा बुझाउन समस्या हुने गरेको उनले बताए । ‘सुरुमा रानाथारू र पहाडी समुदायमा कुरा बुझाउन केही समस्या भयो,’ चौधरीले भने, ‘एक/दुई दिनपछि भने सहज हुन थाल्यो ।’ उनको गणना क्षेत्र वडा ७ को क्षेत्र ३ हो । उक्त क्षेत्रमा उनले गणना गर्नुपर्ने २ सय ११ परिवारमध्ये २/३ परिवारको मात्रै गणना गर्न बाँकी छ ।

राना थारू र डगौरा थारू समुदायमा परिवार निकै ठूलो हुन्छ । विगतमा एक/डेढ सयसम्म सदस्यहरू एउटा घरमा बसोबास गर्ने भए पनि हालका वर्षमा परिवार संख्या कम हुँदै गएको छ । चौधरीले एउटा घरमा ३० जनासम्म सदस्य भेटिएको बताए । घरमा प्रश्नावली भर्न दुई घण्टासम्म लागेको उनले बताए ।

लालझाडी गाउँपालिका–४ की गणक धनाकुमारी धानुकलाई जनगणनाबारे सम्झाउनै मुस्किल हुन्छ । जनगणनाको प्रश्नावली बोकेर घरघर पुग्दा उनलाई भोट माग्न आएको समेत भन्ने गरेका छन् । ‘भोट माग्न आएको भन्दै झर्केर बोल्ने गर्छन्,’ धानुकले भनिन्, ‘धेरैबेर सम्झाएपछि विवरण बताउन तयार हुन्छन् ।’

प्रकाशित : मंसिर ८, २०७८ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?