जिल्ला सभापतिदेखि उपमेयरसम्म पराजित- सुदूरपश्चिम - कान्तिपुर समाचार
कांग्रेस महाधिवेशन

जिल्ला सभापतिदेखि उपमेयरसम्म पराजित

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरमा कांग्रेसका जिल्ला सभापति हरिप्रसाद बोहोरा महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिका उम्मेद्वार रहेका बोहोराले २४४ मत ल्याए ।

खुला पुरुषतर्फ १० जना महाधिवेशन प्रतिनिधिका लागि १९ जनाको उम्मेद्वारी परेको थियो । ५०८ मतदाता रहेको क्षेत्र नम्बर २ मा ५०४ मत खसेको थियो ।

क्षेत्र नम्बर २ मा नेताहरु रमेश लेखक र एनपी सावदले छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए । लेखक प्यानलबाट उम्मेद्वारी दिएका बोहोरासहित सबै उम्मेद्वार पराजित भएका छन् ।

यसैगरी भीमदत्त नगरपालिकाकी उपमेयर पनि क्षेत्रीय सचिवमा पराजित भएकी छन् । प्रतिनिधि सभाको क्षेत्र नम्बर ३ बाट सचिवकी उम्मेद्वार रहेकी उपमेयर सुशिला चन्द सिंह पराजित भएकी हुन् । सिंहले २२६ मत प्राप्त गरिन् । सचिवमा विजयी उम्मेद्वार उमेश प्रसाद जोशीले ३०७ र गंगादत्त भट्टले ३०१ मत प्राप्त गरे ।

प्रकाशित : मंसिर ७, २०७८ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्

सुनसरीका युवक ताप्लेजुङमा मृत, १२ जना पक्राउ

कान्तिपुर संवाददाता

ताप्लेजुङ — मिक्वाखोला गाउँपालिका ४ साँवामा निर्माणाधिन जलविद्युत आयोजनामा कार्यरत एक युवकको शव मृत भेटिएपछि प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रबत्ता कैलाश कुमार अधिकारीका अनुसार उनीहरुलाई सदरमुकाम फुङलिङ ल्याइएको छ । 

सुनसरीको इटहरी उपमहानगरपालिका ३ का अर्पण याक्खा सोमबार मृत भेटिएका थिए । जन्मदिनको पार्टी मनाउन गएका उनी मृत भेटिएपछि प्रहरीले अनुसन्धान थालेको हो । जाहेरी दिन परिवारका सदस्य आउने क्रममा रहेको र पक्राउको क्रम जारी रहेकाले बुधबार बिहानसम्ममा विस्तृत विवरण सार्वजनिक गर्ने अधिकारीले वताए । अर्पणको शव जिल्ला अस्पतालको शव गृहमा राखिएको छ । प्रहरीले उनको हत्या आसंकामा सुक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ ।

यसैबीच, जिल्लाको आठराई त्रिवेणी गाउँपालिका ३ हाङपाङमा सोमबार बेलुका भएको आगलागीमा ३२ लाख ३९ हजार मूल्य बराबरको क्षति भएको छ । बेलुका ९ बजे भाङटार चुवाका चेतन याक्सोको घरमा बिजुली सर्ट भई आगलागी भएको इलाका प्रहरी कार्यालय दोभानले जनाएको छ ।

३ र २ तले दुईवटा घरमा रहेको नगद १ लाख ६४ हजारसहित सुन, चाँदी, खाद्यान्न, फर्निचर, टेलिभिजन, मोबाइल लगायतका सम्पूर्ण सामग्री जलेको रेडक्रस सोसाइटी हाङपाङका सभापति नरेन्द्र अधिकारीले जनाएका छन । रातको समयमा अकस्मात आगलागी भएपछि कुनैपनि सरसामान निकाल्न नपाएको स्थानियले जनाएका छन् ।

प्रकाशित : मंसिर ७, २०७८ १७:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×