खुल्यो जयपृथ्वी राजमार्ग

बझाङ — एक महिनादेखि अवरुद्ध बझाङको जयपृथ्वी राजमार्ग शनिवारदेखि अस्थायी रूपमा सञ्चालनमा आएको छ । कात्तिक १ गतेदेखि बन्द राजमार्ग सेती नदीको धार फर्काएर अस्थायी सडक निर्माण गरेपछि सञ्चालनमा आएको हो । राजमार्गमा धनगढी र महेन्द्रनगरलगायतँबाट बस र मालबाहक सवारीहरू चल्न थालेका छन् । असोज ३१ देखि ३ कात्तिकसम्म परेको बेमौसमी वर्षापछि आएको बाढी र पहिरोले क्षतिग्रस्त भएपछि बझाङलाई अन्य जिल्लासँग जोड्ने एकमात्र राजमार्ग अवरुद्ध थियो ।

सेतीमा आएको बाढीले केदारस्युँको नारुगौडामा १ सय मिटर र तमैल नजिक जालेबगरमा करिब ७ सय मिटर सडक बगाएर नदीको मुख्य भंगालो नै सडक भएको ठाउँबाट बग्न थालेपछि यहाँ मानिस हिड्ने बाटो समेत बन्द थियो । बाढीले जालेबगर खण्डमा निर्माण गरेको ५ सय मिटरभन्दा बढी ग्याविनजाली र ५० मिटरभन्दा बढी आरसीसी सडकसमेत बगाएको थियो ।

नारुगौडामा केही दिनअघि नै विस्फोटक पदार्थ प्रयोग गरेर नयाँ सडक निर्माण गरिए पनि जालेबगरको काम भने शनिवार मात्रै सकिएको हो । ‘सेतीको मूल भँगालोलाई पश्चिमतर्फ फर्काएर अहिलेलाई बाटो खुलाउने काम भएको छ,’ निर्माण कार्यमा संलग्न एकजना निर्माण व्यवसायी चक्र बोहराले भने ‘नदीमा पानीको बहाव नबढ्दासम्म यो सडकले काम गर्छ । सेतीको सतह बढेपछि भने फेरि त्यही अवस्था आउन सक्छ ।’ उनले चैत/वैशाखतिर गर्मी बढेपछि हिउँ पग्लेर सेतीको सतह बढ्ने र सडक बन्द हुन सक्ने बताए ।

बाढी र पहिरोले जयपृथ्वी राजमार्गको खोड्पेदेखि बझाङसम्मको १ सय ८ किलोमिटरमध्ये विभिन्न ठाउँमा गरि १० प्रतिशत सडक क्षतिग्रस्त भएको सडक डिभिजन कार्यालय बैतडीले जनाएको छ । ठाउँठाउँमा सडक भासिएको र नदी कटानमा परेकोले थोरै वर्षा हुनेबित्तिकै पनि जुनसुकै बेला बन्द हुने अवस्था रहेको डिभिजन कार्यालयको भनाई छ ।

तत्कालका लागि यातायात सुचारु भए पनि यो सडक दिगो नहुने भएकाले वैकल्पिक उपाय समयमै सोच्नुपर्ने बझाङका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए । ‘बाहिरी जिल्ला जोड्ने एक मात्रै सडक अवरुद्ध हुँदा निकै समस्या भएको थियो । अहिलेलाई यसले राहत दिएको छ ।’ प्रमुख जिल्ला अधिकारी अधिकारीले भने, ‘सेतीको सतह बढ्नेबित्तिकै फेरि बगाउन सक्ने भएकाले अर्को विकल्पको बारेमा समयमै सोच्नु जरुरी छ ।’

प्रकाशित : मंसिर ६, २०७८ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?