मध्यपहाडी राजमार्गले फेरियो जीवनशैली

मेनुका ढुंगाना

अछाम — कात्तिक पहिलो साताको अविरल वर्षाका कारण सुदूरपश्चिमका पहाडी भेगमा जनधनको धेरै क्षती भयो । त्यहिबेला डोटी, डडेलधुरा जिल्लाका विभिन्न ठाउँमा पहिरोले सडकहरू अवरुद्ध भए । पाँच दिनसम्म लामो रुटमा रहेको सडक अवरुद्ध भएपछि त्यसको विकल्पमा मध्यपहाडी राजमार्ग प्रयोगमा आयो । डोटी र बाजुरालगायतका अन्य जिल्लाले पनि अछामको बाटो प्रयोग गरेर धनगढी, नेपालगन्ज काठमाडौंसम्मको यात्रा तय गरे । 

मध्यपहाडी राजमार्गले फेरियो जीवनशैली

पहिले अछाम र बाजुरावासी डोटी र डडेलधुरा हुँदै प्रदेश राजधानी धनगढी र संघीय राजधानी काठमाडौं जान्थे । कात्तिक पहिलो साताको वर्षाले भने मध्यपहाडी राजमार्गको महत्त्वलाई सबैले बुझे ।

अछामको चौरपाटी गाउँपालिका, साँफेबगर नगरपालिका, बान्नीगढी जयगढ गाउँपालिका, मंगलसेन नगरपालिका, कमलबजार नगरपालिका र पञ्चदेवल विनायक नगरपालिकालगायत १० स्थानीय तहमध्ये ६ स्थानीय तहलाई मध्यपहाडी राजमार्गले छोएको छ । मध्यपहाडी राजमार्गले यात्रुलाई छोटो रुट मात्र नभई यहाँका स्थानीयको जीवनशैली पनि बदलिदिएको छ । मूल सडकको रूपमा मध्यपहाडी राजमार्ग छ भने त्यही सडकबाट गाउँगाउँमा शाखा सडक विस्तार भएका छन् ।

मध्यपहाडी राजमार्गले गाउँका ससानो बजारमा चहलपहल बढाएको छ । महिनौं दिनसम्म हिँडेर लत्ताकपडा, नुनतेलको जोहो गरेका अघिल्लो पुस्ता अहिले आफ्नै आँगनमा गाडी चल्दा दंग छन् । सदरमुकामसम्म गाडी चढेर अत्यावश्यक काम गर्न आउन पाउँदा सुखको अनुभूति गरेका छन् । छोराको नागरिकतामा सनाखत गर्न प्रशासन कार्यालय अछाममा आएका पञ्चदेवल विनायक नगरपालिका–८ बारलाका ७६ वर्षीय बज्जीर शाही घरदेखि सदरमुकामसम्म गाडी चढेर आउन पाएकोमा खुसी देखिन्थे । ‘पहिले हाम्रो गाउँमा गाडी आउँछ भन्ने कुरा त कथा सुनाएजस्तो लाग्थ्यो । यस्तो पहाडमा गाडी आउँछ होला भन्ने लागेकै थिएन,’ उनले भने, ‘घरबाट गाडी चढेर अहिले सदरमुकामसम्म आयौं । आफ्नै पालामा यस्तो विकास भएको देख्दा खुसी लाग्छ ।’

उनका अनुसार पहिले लुगाकपडा आफैं बुन्ने, एउटै घरमा ७/८ भैंसी पाल्ने यहाँका स्थानीयको दैनिकी थियो । समय बदलिएसँगै पेसा पनि परिवर्तन भयो । बज्जिरसँगै छोरीको नागरिकता बनाउन सदरमुकाम मंगलसेन आएका बारलाका ७५ वर्षीया मानबहादुर शाही अहिलेको पुस्ता भाग्यमानी भएको बताउँछन् । उहिले धेरै दिनसम्म हिँडेर नुन ल्याउन गएको घटना सम्झँदै उनी भन्छन्, ‘पन्ध्र किलोसम्म घिउ बोकेर चिसापानी, बौनियाको बजारमा बेच्थ्यौं । त्यही पैसाको नुन किनेर ल्याउँथ्यौं,’ शाहीले भने, ‘अहिले त भैंसी पाल्नेहरू मुस्किलले भेटिन्छन् ।’

राजापुरमा नुन ल्याउन जाँदा बाटोमा वर्षा भई अलपत्र परेको सुनाउँदै मानबहादुर अहिलेको पुस्तालाई भाग्यमानी ठान्छन् । ‘गाउँका सात जना बर्दियाको राजापुर गएका थियौं । वारिपारि खोलाको पानी बीचमा हामी थियौं । आफू बाँच्नलाई नुन फ्याँक्यौं । जोखिम मोलेर हामी बाँचेका हौं,’ उनले भने, ‘नुन सकिने दिन जति नजिक आउँथ्यो त्यति नै डरले मुटु काँप्थ्यो ।’ उनका अनुसार घरबाट निस्केपछि कहाँ पुग्यो, अवस्था के छ भन्ने जानकारी परिवारमा हुँदैन्थ्यो ।

‘घरबाट निस्केको दिन बाटोमा केही नभए फेरि भेट होला, चिन्ता नगुर्नु, भगवान्ले साथ दिए नुन ल्याएर घरमै फर्किने छु भन्दै बाँच्ने झिनो आशा बोकेर सहरमा सामान किन्न जान्थ्यौं,’ मानबहादुरले भने, ‘दस दिनसम्म हामी बाटोमै हुन्थ्यौं । घरका मान्छे चिन्तामा हुन्थे ।’ अहिले उनको उमेरका जति खुसी बाराला गाउँमा अरू सायदै होलान् । पुरुष नभएको घरका महिला जान्थे । चिसापानी, राजापुर, कटासे, तिकुनियासम्म सामान किन्न जाने पुरुष नै हौ । अहिले त सुखका दिन आए । काठमाडौंको सामान एकै दिनमा गाउँ पुग्छ ।’ यी सबैको एउटै कारण सडकको विकास भएको स्थानीयको बुझाइ छ ।

प्रकाशित : मंसिर ४, २०७८ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?