कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

‘तनाव व्यवस्थापन नहुँदा आत्महत्या वृद्धि’

अछाम — लामो समयदेखि मानसिक समस्या खेपिरहेकी अछामको रामारोशन गाउँपालिका—२ की एक महिलाले गत वर्ष आत्महत्या गरिन् । उनले तनाव खेप्न नसकेर नै आत्महत्या गरेको उनका छिमेकी बताउँछन् । लामो समयसम्म भारतमा रोजगारीका लागि बसेका उनका श्रीमान् कोरोना संक्रमण बढेपछि घर आएका थिए ।

आर्थिक अवस्था कमजोर भएका परिवारमा घरझगडा हुन थाल्यो । गाउँमा रोजगारी र आम्दानीको स्रोत केही थिएन । तर दिनहुँ मदिरा सेवनको लतमा फस्दै गएका श्रीमान साँझ घर फर्केपछि श्रीमतिसँग कलह गर्थे । दिनदिनैको घरकलह सहन नसकेर दुई महिनाअघि श्रीमतीले आत्महत्या गरिन् ।

त्यसैको दुई महिना पछाडी श्रीमान्ले पनि आत्महत्या गरेको उनका छिमेकीले बताए । ‘सधैंको कहलले परिवारमा अशान्ति थियो । जहिल्ये झगडा भएको मात्रै सुनिन्थ्यो । अन्ततः दुवै जनाले आत्महत्या गरे । अहिले केटाकेटीको विचल्ली छ,’ उनका एक छिमेकीले भने ।

ढकारी गाउँपालिका—२ का एक २४ वर्षीया एक पुरुषले गत असारमा आत्महत्या गरे । उनले आत्महत्या गर्नुको कारण नै आर्थिक संकटले परिवारमा ल्याएको समस्या प्रमुख कारण भएको उनका छिमेकी बताउँछन् । ‘लामो समयदेखि मदिरा सेवन गर्ने उनी केही समययता तनावमा देखिन्थे’ उनका छिमेकीले भने, ‘भारतको बम्बैमा राम्रै कमाइ थियो । कोरोनाका कारण घर आए । घरमा बेरोजगार भएपछि मदिरा सेवन गर्न थाले । पारिवारिक झगडा हुन थाल्यो । तनाव खेप्न नसकेरै आत्महत्या गरे जस्तो लाग्छ ।’ जिल्ला प्रहरी कार्यालय अछामका अनुसार आर्थिक बर्ष ०७५/७६ मा १९ जना, ७६/७७ मा २५ जना र आ ७७/७८ मा ६१ जनाले अछाममा आत्महत्या गरेका छन् । कार्यालयका अनुसार विगतका वर्षहरूभन्दा गत बर्ष आत्महत्याका घटनामा दोब्बरले बृद्धि भएको छ । कोरोना संक्रमणका कारण भारतलगायत तेस्रो मुलुकमा रहेका धेरै पुरुषहरू घर फर्केको र तनावको कारण आत्महत्यासम्मको अवस्थामा पुगेका हुन् ।

जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला तथा बालबालिका सेवा केन्द्रले आत्महत्या, महिला हिंसा, घरेलु हिंसालगायतका विकृतिहरू हटाउन कार्यक्रम गरेता पनि खासै प्रभाव नपरेको जनाएको छ । वर्षेनी आत्महत्या बढ्नुको मुख्य कारण मानसिक स्वास्थ्य समस्या रहेको स्वास्थ्य कार्यालयका प्रमुख झनक ढुंगाना बताउँछन् । ‘पछिल्लो समय अछाममा मानसिक स्वास्थ्य समस्या देखिएको छ । आत्महत्याको सोच आउनुनै यसको मुख्य कारण हो,’ ढुंगानाले भने ।

ढुंगानाका अनुसार मानसिक स्वास्थ्य समस्याका भावनात्मक र व्यावहारिक लक्षणहरूमा बर्बराउने, रिसाउने, झोक्राउने, छटपटिने, रुने, शंका गर्ने र पढाइ बिग्रने पर्छन् । शारीरिक लक्षणमा कमजोरी, दुब्लाउने, रिंगटा लाग्ने, खानामा अरुचि, स्मरण शक्तिमा ह्रास र शरीरका अंगमा पीडा देखिन्छ । एकाग्र हुन नसक्ने, निर्णय लिन गाह्रो, कसैले बोले झै सुन्ने र मर्ने सोचाइजन्य लक्षण हुन् ।

प्रकाशित : मंसिर ४, २०७८ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?