पश्चिम तराईमा छठको रौनक- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पश्चिम तराईमा छठको रौनक

पहाडी समुदाय पनि आकर्षित
चन्दा संकलन गरेर मोहना नदी किनारमा पूजा
मोहन बुढाऐर, भवानी भट्ट

धनगढी,कञ्चनपुर — ३०/४० को दशकमा सुदूरपश्चिममा छठ पर्व मनाउने मधेसी समुदायको बसोबास नगण्य थियो । पूर्वी तराईबाट सुदूरका कैलाली र कञ्चनपुर बसाइँ सरेका मधेसी समुदायका केही परिवार पनि छठ मनाउन आफ्नै रैथाने थातथलो जान्थे । धनगढीका पूर्ण शंकर यादवका अनुसार कैलालीको मोहना नदी भन्सार नजिकै मोहना घाटमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य (जल) चढाएर छठ मनाउने कार्यको सुरुवात पचासको दशकमा राधेश्याम गुप्ता र पुरन लालले गरेका हुन् । साठीको दशकपछि मोहना घाट छठी पर्वको अवसरमा झकिझकाउ हुन थालेको हो ।

‘अहिले हजारौंको भीडमा सूर्यलाई अर्घ्य चढाउन नदीमा खुट्टा हाल्ने ठाउँ पाउन मुस्किल हुन्छ,’ राधेश्यामका छोरा सचिदानन्दले भने, ‘छठ पर्वलाई मधेसी समुदायले मात्रै हैन, पहाडी समुदायबाट पनि मनाउन सुरु भएको हो ।’ उनले जागिर र व्यापारको सिलसिलामा पूर्वी मधेसबाट बसाइँ सरेकाको संख्यामा वृद्धि हुँदै गएको छ । सचिदानन्दले भने, ‘अहिले यहाँ पनि १० प्रतिशत जति मधेसी समुदायको बसोबास पुगसिकेको छ ।’ धनगढीमै व्यापार गरिरहेका पप्पु गुप्ताले अहिले छठ मनाउन पुर्ख्यौली थलो जाने चलन हटिसकेको बताए । ‘यता घरपरिवार नभएका कोही मात्रै पूर्व घर जान्छन् होला,’ उनले भने ।

अहिले छठ पूजालाई भव्यरूपमा मनाउन छठ पूजा सेवा समिति गठन गरिँदै आएको छ । उक्त समितिले नदी किनारमा टेन्टको व्यवस्था गर्न सुरु गरेपछि उदाउँदो सूर्यको पूजा राति बास बसेर मनाउन थालेका छन् । चन्दा संकलन गरेरै मोहना घाटलाई सजाइने गरेको समितिका अध्यक्ष सन्तोष मण्डलले बताए । उनले यो वर्ष ४/५ सयदेखि एक लाखसम्म चन्दा संकलन गरेर सात लाखभन्दा बढीको अनुमानमा मोहना किनारमा छठी पूजा पर्व मेलाको आयोजना गरिएको बताए । बिहीबार कैलालीको मोहना घाट र कञ्चनपुरको महाकाली सिँचाइ योजनाको नहरमा हजारौंको सहभागितामा छठ पर्व समापन गरिएको छ ।

धनगढीका दीपक मण्डलको पहाडी समुदायकी छोरी साधना खत्रीसंँग वैवाहिक सम्बन्ध जोडियो । मधेसी समुदायको चलनअनुसार उनले पनि छठ पूजा सुरु गरिन् । त्यस्तै उनका मामा प्रदीप गुप्ताले चौधरी समुदायकी छोरीसंँग बिहे गरे पछि उनको परिवारमा पनि छठको पूजा गर्न थालिएको छ । सेवा समितिका सल्लाहकार पूर्णशंकर यादवले पछिल्लो समय मधेसी समुदायसँग पहाडी र अन्य समुदायको मिश्रण बढेको बताए । उनका अनुसार वैवाहिक सम्बन्धबाहेक देखासिखी र रहरले पनि अन्य समुदायले छठ मनाउन लागेका छन् । धनगढीकी मेघा भट्ट पनि दुई वर्षदेखि अस्ताउँदो र उदाउँदो सूर्यलाई जल चढाउन मोहना नदीमा जाने गर्छिन् । सूर्यलाई जल चढाएर मनको तापलाई कम गर्ने विश्वासका साथ छठ मनाउन सुरु गरेको उनले बताइन् ।

समितिका सदस्य पूर्णशंकर यादवका अनुसार मोहना घाटमा हरेक वर्ष छठ मान्ने पहाडी समुदायका परिवारहरू बढ्दै गएको बताए । ‘केही वर्षमै छठ तराई मधेस हुँदै पहाड उक्लिनेछ,’ उनले भने, ‘सारा नेपालीलाई एउटै माला छठमा बाँध्नेछ ।’ पहाडी समुदायकी चेली यादवकी श्रीमती सुजिताले अहिले माइती र घर दुवैमा छठ मनाउन लागेको बताइन् । उनले सुरुमा तीन दिनसम्म भोकै बस्नुपर्ने यो व्रत बस्न कठिन लागे पनि मनमा शान्ति प्राप्त हुन थालेको बताइन् । उनले अहिले घरमा दसैंतिहार र छठलाई उस्तै रूपमा मान्ने गरेको बताइन् ।

कञ्चनपुरमा महेन्द्रनगर बजार छेउको महाकाली सिँचाइ आयोजनाको नहर छठका लागि झकिझकाउ गरिएको थियो । मंगलबारदेखि नै सजाइएको नहर किनारमा बुधबार साँझ व्रतालु महिला र पुरुषहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिए भने बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठको समापन गरे । व्रतालुहरू नदी किनारमा फलफूलदेखि तरकारी सागपात सबैथोक घरबाट लिएर आएका थिए ।

महाकाली सिंँचाइ आयोजनाको नहर किनारमा सरसफाइ गरेर निकै आकर्षक तरिकाले सजाइएको थियो ।

प्रकाशित : कार्तिक २६, २०७८ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्

रोपाइँको मुखमा मल हाहाकार

भारतबाट अवैध रुपमा दोधारा चाँदनीसम्म पुगेको मल प्रहरीले ल्याउन दिएन
मोहन बुढाऐर, भवानी भट्ट

कञ्चनपुर/धनगढी — सामाजिक सञ्जाल फेसबुकमा शनिबार एउटा तस्बिर निकै भाइरल बन्यो । कञ्चनपुरको दोधारा चाँदनीबाट महिलाहरूले टाउकोमा राखेर सानो परिमाणमा ल्याउँदै गरेको मल बरामद गरेपछि धेरैले प्रहरीको बहादुरी भन्दै उक्त तस्बिर पोस्ट गरे । कतिपयले स्वदेशमै मल आपूर्ति गर्न नसक्ने र भारतबाट अवैध रूपमा भित्रिएको मल पनि ल्याउन नदिने भन्दै आक्रोशसमेत पोखे ।

कञ्चनपुरको महाकालीपारि दोधारा चाँदनी क्षेत्रबाट मल ल्याउँदै गरेका महिला । तस्बिर : फेसबुकबाट साभार

मनसुनको सुरुवातसँंगै पश्चिम तराईका किसान रोपाइँको तयारीमा छन् । बीउदेखि खेत सबै तयार गरे पनि रासायनिक मल अभावले उनीहरू चिन्तित छन् । नेपालमै सहज तरिकाले मल नपाइने र निषेधाज्ञा र नाका बन्द भएका कारण भारतबाट पनि ल्याउन नसकेका कारण किसान चिन्तित बनेका हुन् । भारतबाट अवैध रूपमा दोधारा चाँदनीसम्म पुगेको मलसमेत प्रहरीले ल्याउन नदिएपछि झनै समस्या भएको छ ।

धान रोप्नुअघि प्रयोग गर्ने डीएपी मल भने किसानले पाउन सकेका छैनन् । यो वर्ष मनसुन छिटो भएकाले रोपाइँ पनि सुरु भइसकेको कैलालीको गदरियाका परशु चौधरीले बताए । ‘धान रोप्नुअघि डीएपी मल छर्न पाएनौं,’ उनले भने, ‘पानी पर्ने बेला धान रोप्नुपर्ने भएकाले मल बिना रोपाइँ भयो ।’ घोडाघोडी निम्दीका कमल बमले मलबिना धान रोप्नुपर्ने अवस्था आएको बताए । ‘स्थानीय सहकारीमा मलका लागि दिनदिनै धाउनुपरेको छ,’ उनले भने, ‘सहकारी सस्थामा थोरै मल आइपुग्छ हारालुछ भएर एकैछिनमा सकिन्छ ।’ मल आपूर्ति गर्ने निकाय कृषि सामग्री कम्पनी लिमिटेडका प्रदेश कार्यालय प्रमुख नवलसिंह बोगटीले निषेधाज्ञामा बैंकहरू बन्द भएकाले गोदाममा भएको मल पनि सहकारी संस्थालाई दिन नसकिएको जानकारी दिए । ‘एक साता भयो, स्थानीय प्रशासनले दिनमा दुई घण्टा मात्र बैंक खोल्ने अनुमति दिएको छ,’ उनले भने, ‘बैंक खुलेपछि हामीले पनि सहकारीलाई मल लिन बोलाएका छौं, कसले पायो, कसले पाएन थाहा छैन । मल वितरण जारी छ ।’

मागअनुसारको मल एकैपटक नआउने भएकाले पनि किसानलाई मलको अभाव खट्किने गरेको उनले बताए । भारतबाट चोरीको अवैध मल पनि अहिले किसानले महँगोमा किन्नुपरेको हसुलियाका वीरभान चौधरीको भनाइ छ । सीमा सुरक्षामा रहेका नेपाली र भारतीय सुरक्षाकर्मीले तस्करबाट बढी पैसा असुल्दा किसानलाई त्यसको भार परेको उनी बताउँछन् ।

कञ्चनपुरमा रासायनिक मलको आपूर्ति गर्ने कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनी दुवैका गोदाम लगभग रित्ता छन् । कृषि सामग्री कम्पनी लिमिटेडको गोदाममा अहिले सय टन डीएपी र २० टन युरिया मात्रै छ । ‘सहकारी मल खोज्दै आउँछन्, हामीले पर्याप्त मात्रामा दिन सकेका छैनौं,’ कृषि सामग्री लिमिटेडको महेन्द्रनगर कार्यालय प्रमुख बलबहादुर शाहले भने, ‘भैरहवामा प्रशस्त मल छ भन्छन्, तर यहाँ आउँदैन ।’ लिमिटेडसंँग मल बिक्रीका लागि ११४ सहकारी आबद्ध रहेको उनले जानकारी दिए ।

कृषि सामग्री कम्पनीले १५ सय टन युरिया र २ हजार टन डीएपी बेचिसकेको छ । यतिले मात्रै पर्याप्त नहुने शाहले बताए । मल आपूर्तिका लागि गत वर्षदेखि जिल्लाका सबै स्थानीय तहलाई कोटा निर्धारण गरिएको छ । स्थानीय तहमा खेतीपाती हुने क्षेत्रफलका आधारमा यहाँ आएको मलमध्ये १० देखि १३ प्रतिशतसम्म आपूर्ति गर्नुपर्ने उनको भनाइ छ । कञ्चनपुरमा मल आपूर्ति गर्दै आएको साल्ट ट्रेडिङको गोदाम पनि रित्तो छ । भएको अलिअलि मल बिक्री भएपछि गोदाम रित्तो भएको हो । ‘अब असार दोस्रो सातापछि मात्रै मल आउने भन्ने छ,’ साल्ट ट्रेडिङ महेन्द्रनगरका प्रमुख दीपक भट्टले भने ।

मल आपूर्ति गर्ने दुवै संस्थाका गोदाम रित्ता भए पनि महेन्द्रनगर बजार तथा ग्रामीण भेगमा समेत अवैध मल भने छ्यापछ्याप्ती भेटिएको छ । दुई साताअघि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा भएको संयुक्त अनुगमनका क्रममा महेन्द्रनगरको तिरुपति बालाजीको गोदाममा ठूलो परिमाणमा अवैध मल भेटिएपछि गोदाम सिल गरिएको थियो ।

प्रकाशित : असार १, २०७८ ०७:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×