तिहारमा गोबरको दियो

कान्तिपुर संवाददाता

कञ्चनपुर — तिहारमा बत्ती बाल्न माटोको दियोको कारोबार निकै बढी हुन्छ । स्थानीय बजार र सीमावर्ती बजारमा माटोको दियो किन्नेको भीड नै लाग्छ । यस्ता दियोहरू महँगा पनि छन् । यहाँको एक गौशालाले बत्ती बाल्न गाईको गोबरको दियो बजारमा ल्याएको छ । माटोको तुलनामा सस्तो र शुद्धसमेत हुने भएकाले गोबरको दियो बजारमा ल्याएको गौशालाले जनाएको छ ।

तिहारमा गोबरको दियो

भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित महाकाली गौसेवा अनुसन्धान केन्द्रले तिहारलाई लक्षित गरी माटोको दियो उत्पादन गरेको हो । गौशालामै रहेका गाईको गोबरको प्रयोग गरी दियो उत्पादन भइरहेको अनुसन्धान केन्द्रका अध्यक्ष गजेन्द्रबहादुर चन्दले बताए । ‘अहिले हामीले केहीमात्रै दियोहरू उत्पादन गरेका छौं,’ अध्यक्ष चन्दले भने, ‘तिहारमा यसको माग कति हुन्छ त्यसैअनुसार उत्पादन बढाउँदै लैजान्छौं ।’ अहिले दियो बिक्री गर्नुभन्दा पनि सहयोग रसिद काटेर दिने गरिएको छ । बिक्री गर्नुपर्दा प्रतिदियोको मूल्य ८/१० रुपैयाँ पर्छ ।

छाडा गाईगोरुको व्यवस्थापनका लागि गोबरको दियोसँगै अन्य वस्तु उत्पादन गरिने अध्यक्ष चन्दले बताए । तिहारलगत्तै गमला, धूप, जैविकमल र गहुँतबाट गौअर्कसमेत उत्पादन गरिने उनले बताए । यसका लागि गौशालामै रहेको गाईगोरुको गोबर र गहुँतले पुग्दैन । त्यसपछि गाईगोरु पाल्नेहरूबाटै खरिद गरिने उनले बताए । ‘दूध दिन छाडेपछि गाईलाई घरबाट धपाउने चलन चलेको छ,’ उनले भने, ‘हामीले गोबर र गहुँत दूधकै मूल्यमा किनेपछि छाड्ने क्रम घट्ने अनुमान गरेका छौं ।’

अहिले स्थानीयले छाडेका गाईगोरु जताततै छन् । दिनभरि सडकमा डुल्ने छाडा गाईगोरु राति किसानको बारीमा पस्छन् । कतिपय गाईगोरु सडक दुर्घटनामा परेर र हिउँदको चिसोमा सडकमै कठ्यांग्रिएर मर्ने गरेका छन् । अध्यक्ष चन्द र अनुसन्धान केन्द्रका सदस्य पंकज भट्ट नागपुर पुगेर गोबरबाट विभिन्न वस्तु बनाउने तालिम लिएर फर्केका हुन् । उनीहरूले तालिमसँगै दियो, गमला, जैविकमल र गौअर्क बनाउने उपकरणहरूसमेत ल्याएका छन् । अहिले दैनिक १ हजारसम्म दियोहरू उत्पादन भइरहेको छ । उत्पादन भएको दियोलाई एक दिन घाममा सुकाएपछि प्रयोग गर्न योग्य हुन्छ ।

अनुसन्धान केन्द्रलाई नमुना गौशाला बनाउने उद्देश्यका साथ विभिन्न गतिविधिहरू भइरहेका छन् । छाडा गाईगोरुलाई पनि गौशालामै राख्ने योजना रहेको अध्यक्ष चन्दले बताए । तर त्यसका लागि तत्काल पराल तथा भुसालगायतको अभावका कारण समस्या रहेको उनले बताए । अहिले गौशालामा १ सय २२ गाई छन् । गौशालाका संरक्षक जगतगुरु बालसन्त मोहनशरण देवाचार्य हुन् ।

तीन वर्षअघि जगतगुरुकै पहलमा गौशाला स्थापना गरिएको हो । बेलाबेलामा जगतगुरुसमेत गौशालामा आउने गरेका छन् । ‘दियोलगायत अन्य वस्तुका लागि विभिन्न क्षेत्रबाट माग भइरहेको छ,’ अनुसन्धान केन्द्रका सदस्य पंकज भट्टले भने, ‘पहिलो चरणमा दियो मात्रै उत्पादन गरेका छौं ।’ उनले तिहारपछि सबैथोक उत्पादन हुने जानकारी दिए ।

प्रकाशित : कार्तिक १८, २०७८ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?