महाकालीको बाढीले निकुञ्जको वन क्षेत्र कटान

१० हेक्टर वन कटान
भवानी भट्ट

काठमाडौँ — महाकाली नदीमा आएको बाढीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमासमेत ठूलो क्षति पुर्‍याएको छ । निकुञ्ज कार्यालयका अनुसार बाढीले १० हेक्टर बढी वन क्षेत्र कटान गरेको छ ।

महाकालीको बाढीले निकुञ्जको वन क्षेत्र कटान

झोलुंगे पुलबाट ३ किलोमिटर दक्षिणतर्फ महाकाली नदीले निकुञ्जको वन क्षेत्रको कटान गरेको हो । झोलुंगे पुलको दक्षिणबाट महाकालीको एउटा भंगालो निकुञ्जतर्फ सोझिन्छ । अर्काे दोधारा चाँदनीतर्फ । एक/डेढ किलोमिटर लम्बाईमा कटान गरिरहेको छ ।

‘महाकालीको बाढीले लामो समयदेखि कटान गरिरहेको थियो,’ निकुञ्जका सहायक संरक्षण अधिकृत रबिन चौधरीले भने, ‘यसपालि त धेरै कटान गर्‍यो ।’ उनका अनुसार महाकालीले बर्सेनि दुई/चार हेक्टर कटान गर्दै आएको थियो । एकै पटक ठूलो मात्रामा कटान गरेको यही वर्ष हो ।

निकुञ्ज कार्यालयका अनुसार उक्त क्षेत्रमा सय बढी ठूला रुख र ४ सय बढी पोथ्रा बगाएको छ । कटान गरेको स्थानमा अग्लो क्षेत्रमा साल वन र होचो क्षेत्रमा नदी तटिय वन जामुन, सिसौं, खयर र सिमल रहेको छ । उक्त क्षेत्रमा हात्ती, गैंडा, बाघ र चित्तललगायतका वन्यजन्तु पानी पिउन तथा चर्नका लागि आउने गरेका छन् । हात्तीको प्रमुख चरन क्षेत्र पनि यही हो ।

निकुञ्ज कार्यालयले कटान रोकथामका लागि एक दशकदेखि माग गर्दै आएको छ । महाकालीले कटान सुरु गरेदेखि तटबन्ध निर्माणका लागि पहल गरे पनि हालसम्म कुनै सुनवाई भएको छैन । दुई वर्षअघि जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयले केही ठाउँमा तटबन्ध निर्माण गरे पनि त्यो पर्याप्त नभएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले बताए ।

कटान गरिएको क्षेत्र निकुञ्जको विशाल घाँसे मैदान नजिकै पर्दछ । कटान नियन्त्रण नभए महाकालीको बाढी बाह्रसिंगेको प्रमुख बासस्थान रहेको शुक्लाफाँटा घाँसे मैदानसमेत जोखिममा पर्ने देखिन्छ । ‘धेरै कटान भए फाँटा पनि जोखिममा पर्छ, बाह्रसिंगाको बासस्थान नै मासिने खतरा हुन्छ,’ प्रमुख संरक्षण अधिकृत पुनले भने, ‘हामीले यसका लागि विभागमा पनि जानकारी गराएका छौं ।’

३ सय ५ वर्गकिलोमिटर क्षेत्रफलमा रहेको निकुञ्जको प्रमुख आकर्षण शुक्लाफाँटा घाँसे मैदान हो । यहाँ दुई/अढाई हजारको संख्यामा बाह्रसिंगे हेर्न सकिन्छ ।

निकुञ्जको वार्षिक बजेट बाटोघाटो मर्मतदेखि मचान निर्माण आदिमै ठिक्क हुन्छ । महाकालीको कटान नियन्त्रणका लागि ठूलै वजेट आवश्यक पर्ने भएकाले गुरुयोजना बनाएर काम सुरु गर्नु पर्ने देखिन्छ ।

अविरल वर्षापछि निकुञ्जभित्रका विभिन्न खोलानालामा आएको बाढीले घाँसे मैदानमा पनि पटान गरेको छ । महाकाली नदीको बाढी भुजेला खोला हुँदै बस्तीमा पसेर निकुञ्जभित्रै प्रवेश गरेको थियो । बस्ती हँुदै निकुञ्जभित्र पसेको बाढीले पनि ठूलो मात्रामा पटान गरेको पुनले बताए ।

निकुञ्जभित्र गस्ती तथा अन्य कार्यका लागि प्रवेश गर्ने सबै बाटोहरु बन्द भएको छ । बाटोमा हिलो र पानी भरिएका कारण गस्तीलगायत शुक्लाफाँटा घाँसे मैदानको पोष्टमा खाद्यान्न तथा हात्तीको लागि दाना ढुवानीमासमेत समस्या आएको छ । असोज मध्यदेखि खुला गरिएको जंगल सफारी फेरी बन्द भएको छ ।

प्रकाशित : कार्तिक ९, २०७८ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?