पहिरोमा मृत्यु भएकाको परिवारलाई राहत- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरोमा मृत्यु भएकाको परिवारलाई राहत

रासस

डडेलधुरा — गत साता परेको अविरल वर्षाका कारण पहिरोमा परी ज्यान गुमााउनेका परिवारलाई राहत वितरण गरिएको छ । घरमाथिको भीरबाट खसेको ढुङ्गा लागेर मृत्यु भएकी आलिताल गाउँपालिका–८ की ५० वर्षीया पर्वती खड्काका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ ।


प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले सोमबार घरमै पुगेर मृतक पार्वतीका श्रीमान धनबहादुर खड्कालाई दुई लाख रुपैयाँ रकम हस्तान्तरण गरे । सङ्घीय सरकारको मापदण्डअनुसार जिल्ला विपद् व्यवस्थापन समितिले राहत रकम उपलब्ध गराउने निर्णय गरेको र सोहीअनुसार राहत रकम हस्तान्तरण गरिएको प्रजिअ जोशीले जानकारी दिए ।

गत बिहीबार दिउँसो घरनजिकै काम गरिरहेका बेला माथिबाट पहिरासँगै खसेको ढुङगा लागेर पार्वती गम्भीर घाइते भएकी थिइन् । गम्भीर घाइते उनको उपचारका लागि धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । अन्य स्थानका बाढीपहिरो पीडितलाई पनि चाँडै राहात उपलब्ध गराइने प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।

प्रकाशित : कार्तिक ८, २०७८ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्

बन्जीको त्यो ३ सेकेन्ड

सीमा तामाङ

अरुले बन्जी गरेको देखेर आफूलाई नि हुटहुटी चल्थ्यो । झोलुंगे पुलमा हिँड्न र पिङ खेल्न डराउने मलाई बन्जी हान्ने आँट बटुल्न चाहि साह्रै गाह्रो । दसैं नजिकिँदै थियो ।

घर जाने योजना बनाउँदै हामी तीन दिदीबहिनी गफिँदै थियौं । यत्तिकैमा भोटेकोसीमा बन्जी गर्ने कुरा निस्कियो । मेरी दिदी मिना र बहिनी रिना पनि तयार भए ।

विजयादशमीको भोलिपल्ट बन्जी गर्न फूलपातीको अघिल्लो दिन नै लागि ईसेवाबाट प्रि-बुकिङ गर्‍यौं । फूलपातीको दिन घर (काठमाडौं देखि सिन्धुपाल्चोकको धुस्कुन) हिड्यौं । बन्जी गर्ने भनेपछि बहिनी चाहिँ बुकिङ गरेकै दिनदेखि उत्साहित थिइन् । टिकटकबाट बन्जी गरेको भिडियो हेर्थी । डाउनलोड गरेर देखाउँथी । भिडियो हेर्दा कता कता डर लाग्थ्यो मलाई । सक्दिनँ कि भन्ने । बन्जी गर्ने दिन गन्दागन्दै दशमी आयो । घरमा विजयादशमी टिका लगायौं । मिठो मसिनो खायौं । परिवार, आफन्तजन भेटघाट र रमाइलो गर्‍यौं ।

भोलिपल्ट बिहानै उठेर बन्जी गर्दै काठमाडौं फर्किनु थियो । बिहान ६ बजे उठेर झोलीतुम्बा कस्यौं । चियाखाजा खाएर आठ बजे घरबाट निस्कियौं । टोली आठ जनाको थियो । चार जना बन्जी गर्ने, चार जना हेर्ने । करिब १ घण्टा ३० मिनेटमा हामी सुनकोसी बजार पुग्यौं । बहिनी (रिना)को कोठामा उसका सामान राखेर हामी बाह्रबिसे बजारतर्फ लाग्यौं । त्यहाँ दिदी र मेरो स्कुटर वर्कसपमा छोडेका थियौं । स्कुटर निकालेर एक जना भाइ र तीन दिदिबहिनी नयाँपुल अर्थात बन्जी गर्ने ठाउँतिर लाग्यौं । बाँकी ४ जना गाडीमा बाटो लागे । झण्डै ४५ मिनेट अर्थात ११:१५ मा हामी नयाँ पुल पुग्यौं ।

भोटेकोसी माथिको पुल तरेर पारी गयौं द लास्ट रिसोर्टमा । रिसोर्टका कर्मचारीले ‘नो अब्जेक्सन’ फर्म भर्न लगाएर हलमा पठाए । हलमा बन्जी गर्ने आउनेहरुको भीड थियो । २० मिनेटपछि बन्जी ‘इन्स्ट्रक्टर’ले हाम फाल्ने विधि र तरिकाको ब्रिफिङ गर्न थाले । त्यसपछि पो मनमा डरले अलि अलि डेरा जमाउन थाल्यो । बन्जी गर्न मलाई मात्रै डर लागेको हो कि भन्ने लाग्थ्यो । तर, इन्स्ट्रक्टर भन्न थाले ‘डरमा नै बन्जीको मजा छ ।’

ब्रिफिङपछि सबैको तौल लिइयो । ६० किलो बढी तौल भएकाको पहिलो समूहमा र कमको दोस्रो समूहमा बन्जी गराउने भयो । हामी चारैजना दोस्रो समूहमा पर्‍यौं । पहिलोवालाहरुलाई बन्जी स्टेसन लगियो । उनीहरु एकपछि अर्को बन्जी गर्न थाले । हाम्रो पालो एक घण्टापछि मात्रै आउने भयो । त्यतिन्जेल हामीले खाना खायौं । वरपर घुम्यौं । फोटो खिच्यौं ।

मनमा डर भएपनि बन्जी गर्ने हुटहुटीले एकै ठाउँमा बस्नै सकेनौं । पुल छेउमा गएर बन्जी गर्दै गरेकाहरु हेर्‍यौं । उनीहरुको पालो सकिएपछि हामीलाई बन्जी स्टेसन लगियो । दोस्रो समूहका ८ जना थियौं । मेरो पालो सातौंमा थियो । हेर्दाहेर्दै ६ जनाले फाल हाने । अब मेरो पालो ।

बन्जी मास्टरले कम्मर र खुट्टामा सेफ्टी बाँधिदिए । देब्रे हातमा गोप्रो बाँधिदिए । क्यामरा पर्सन रुबिन दाईले मतिर क्यामरा तेर्साउँदै नाम सोधे- ‘कसैलाई केही भन्नु छ की, कहाँ हुनुहुन्छ, कस्तो फिल भइरहेको छ?’ ।

मैले आफ्नो अनुभव भने ।

त्यसपछि बन्जी मास्टरले मलाई बन्जी प्ल्याटफर्मको किनारामा लगे । त्यहीँबाट भोटेकोसीतिर हाम फाल्नु थियो । आधा पैताला पुल बाहिर पर्नेगरी अघि सर्न लाए । अब भने मलाई डरको सीमा नै रहेन । पुलबाट तल हेरेँ । आङ सिरिंग भयो ।

तल हेर्दा डर लाग्छ भनेरै होला बन्जी मास्टरले सिधा अगाडि हेर्न लाए । हातलाई सिधा फिजाउन भने । भारी हार्नेस्ले दुवै खुट्टा एकैठाउँमा बाँधिएकोले थेग्न गाह्रो भइरहेको थियो । बन्जी गरिसकेकाहरुले पनि त्यहीँ सुनाउथे ‘बन्जी प्लाटफर्ममा पुगेपछि होसहवास् नै उड्छ ।’

साँच्चै हो रहेछ ।

दुई हातलाई पखेंटा बनाएर हावामा उड्नु थियो अब । बन्जी मास्टरले ‘आर यू रेडी ?’ भनेर सोधे ।

मैले पनि झट्ट ‘एस्’ भनिदिएँ ।

उनले काउण्ट डाउन सुरू गरे ‘थ्री, टु, वान, बन्जी... ।’

बन्जी मास्टरले बन्जी भनिसक्दा मैले प्ल्याटफर्म छोडिसकेको थिएँ । दिमागमा जोडले जम्प गर्छु भन्ने थियो । सकिनँ । झोलुगें पुलदेखि भोटेकोसी तिर १६० मिटर उचाइमा हावाको बेग स्पर्स गर्दै डरलाई डरैसँग थाती राखेर हामफालें ।

मेरा आँखा बन्द थिए । अत्तालिए । चिच्याए । तीन सेकेण्डको फ्रि-फल पछि मात्रै आँखा खुले । टाउको तल, खुट्टा सिधा माथि । भोटेकोसी, वारीपारीका हरियाली जंगल, निकै माथि झोलुगें पुल र निलो आकाश । फ्रि-फल हुँदाको क्षण त शब्दमै वर्णन गर्नै सकिँदैन ।

एकदमै डरलाग्दो, भयानक !

गाह्रो त हाम्फाल्नु मात्र रहेछ । तल पुगेपछि भोटेकोसीको चिसो सिरेटोले फेरि अर्कै महसुस गराउने रहेछ ।

स्प्रिङ्ग वाला ‘बन्जी रोप’ले झट्किन्थ्यो- तल/माथि ।

पहिलो चोटी झट्काल्दा फेरी मुटुले फेरि ठाउँ छोड्यो (यसअघि हामफाल्दा पनि छोडेको थियो) । डोरी चुडिँएर भोटेकोसीमा खस्छु कि भन्ने भान भयो । बन्जी रोप तीनपटक झट्किएपछि बन्जी मास्टरले माथिबाट इशारा गरे । हाम फाल्नुअघि बन्जी मास्टरले डोरी तानेर आफ्नो ‘पोजिसन’ चेन्ज गर्न सिकाएका थिए ।

सिट्ठी बजाएर इशारा दिएपछि मैले त्यही गरे । अब म सिर्फ कम्मरमा बाँधेको सेफ्टीको सहायतामा हावामा झुमी रहेकी थिए । त्यसपछि पो बायाँ हातमा गोप्रो छ भन्ने याद भयो । हावाका वेगमा झुमिँदै रमाए । आनन्दित भए । डर र आनन्दले साहसिक अनुभव भयो ।

त्यसपछि बन्जी मास्टरले पठाएको हुक आफ्नो कम्मरको सेफ्टीमा अड्काए । अनि बन्जी मास्टरले सिकाएझैं दुवै हात फिजाएर इशारा दिएँ । अब भने डोरीबाट विस्तारै माथिमाथि आउँदै थिएँ म । प्लाटफर्म नेर पुगेपछि बन्जी मास्टरले डोरी समात्न भने ।

अनि सोधे ‘कस्तो रहृयो अनुभव ?’

मसँग खास जवाफ नै थिएन । मेरो अनुहारको रङ अझै खुलेकै थिएन ।

मैले जीवनमै पहिलोपटक बन्जी गर्न सक्नु नै ठूलो उपलब्धि थियो ।

विश्वकै साहसिक खेलहरु मध्येको एक हो बन्जी । हाम फाल्न जति नै डर लागे पनि बन्जी जम्प गर्नुको मज्जा बेग्लै छ । बन्जी जम्पपछि आउने आँट र साहस पहिलोपल्ट अनुभूति गरेँ ।

‘रिफ्रेसमेन्ट’ महसुस गरेँ । मेरो दसैं साच्चिकै बन्जीले 'रक्स' भयो । हाम्रो टोली बन्जी सकेर दिउँसो तीन बजे काठमाडौं लाग्यो ।


प्रकाशित : कार्तिक ८, २०७८ १५:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×