दिउँसै गोठमा छिरेर बाघले चौपाया मारेर खान थालेपछि ... - सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दिउँसै गोठमा छिरेर बाघले चौपाया मारेर खान थालेपछि ... 

रासस

कञ्‍चनपुर — बेलडाँडी गाउँपालिकामा दिउँसै बाघले गोठमा छिरेर चौपाया मारेर खान थालेको छ । गोठमा बाँधेका गाई, बाच्छाबाच्छी, बाख्रालाई बाघले मारेर खान थालेको हो । शनिबार मात्रै बेलडाँडी–२ का रङ्गवीर बस्नेतको गोठमा बाँधेका बाख्रा मारेर खाएको छ भने सोही ठाउँका शङ्करदत्त भट्टको गोठमै रहेको बाच्छीलाई घाइते बनाएको छ । तीन दिनअघि मात्रै बस्नेतको गोठमै छिरेर बाघले गोरु मारेको थियो । 

'विगतमा रातिमात्रै बस्तीमा बाघ आएको सुन्ने गरेका थियौँ', स्थानीय विमल धामीले भने, 'अब बाघले दिउँसै बस्तीमा छिरेर गोठामा बाँधेका चौपाया मारेर खान थालेको छ, दुई साताको अवधिमै बाघले यस क्षेत्रका आधा दर्जन बढी किसानले पालेका बाख्रालगायत चौपाया मारेर नोक्सानी गरेको छ ।' साँझ नपर्दै बस्तीमा बाघ देखापर्न थालेपछि स्थानीय बासिन्दा त्रसितसमेत भएका छन् । साँझअगावै स्थानीय बासिन्दाले बाघकै डरले गाउँमा हिँडडुल गर्नसमेत बन्द गरेका छन् ।

बाघले चौपायामा क्षति पुर्‍याउन थालेपछि स्थानीय बासिन्दाले नियन्त्रणका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई अनुरोधसमेत गरेका छन् ।

बाघ नियन्त्रणका लागि हालसम्म कुनै पनि प्रयास हुन नसकेको स्थानीय बासिन्दाको भनाइ छ । बाघसँगै बँदेल, हात्तीले समेत यस क्षेत्रका बासिन्दाले लगाएको बालीनालीमा नोक्सानी पुर्‍याउँदै आएका छन् ।

प्रकाशित : कार्तिक ७, २०७८ १५:४०
प्रतिक्रिया
पठाउनुहोस्

बाढी पसेको बस्तीमा तिहारको तयारी [तस्बिरहरू]

शब्द/तस्बिर : जितेन्द्र साह

(धनपालथान, मोरङ) — स्थानीय लोहन्द्रा खोलाको बाढीले दक्षिणपूर्वी मोरङको धनपालथान गाउँपालिकामा खेतबारी डुबायो  । घरआँगन भत्कायो । लोहन्द्रा खोलाको बाढीले मंगलबार धनपालथान गाउँपालिकाको वडा नम्बर ६ र ७ मा सबैभन्दा बढी असर गरेको थियो । विराटनगर–रंगेली जोड्ने मुख्य हुलाकी मार्गको मध्यमा रहेको यी दुई वडा बीचको सडक भएर खोला बगिरहेको थियो ।

अहिले मौसम खुलेपछि जनजीवन सामान्य हुँदैछ । सबै पीडा बिर्सेर उनीहरु तिहारको तयारीमा जुटेका छन् । खोलाले बगाएर खेत छेउमा थुपारेको माटो बोकेर लगि घर टाल्दैछन् । लिपपोत गर्दैछन् । जस्तो सुकै संकट र दुख आए पनि सामना गर्दै अघि बढ्नै पर्ने स्थानीय बताउँछन् ।

मौसम खुलेर पानी घटे पछि सनपाट धुनेलगायतका कृषि कर्ममा स्थानीय फर्केका छन् । घाम लाग्न थालेको हुनाले एक दिनमा सनपाट सुकेर बेच्न लायकको हुन्छ ।

नगदेबाली सनपाट बेचेर आएको रकमले यसपाली तिहार एवं छठ पर्व मनाउने कृषकहरु बताउँछन् । सनपाट धोएपछि निस्केको सन्ठीको बोझा स्थानीयले घर लगिरहेका छन् । चुल्हो बाल्न, घेराबार गर्न र लक्ष्मी पूजाको राति खेतबारीमा पूजा विधिमा पनि सन्ठीको प्रयोग हुन्छ ।


प्रकाशित : कार्तिक ७, २०७८ १५:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×