हप्ता दिनदेखि अँध्यारोमा अस्पताल- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हप्ता दिनदेखि अँध्यारोमा अस्पताल

बिरामीको उपचारमा समस्या
वसन्तप्रताप सिंह

बझाङ — बेमौसमी वर्षाका कारण आएको बाढीपहिरोले विद्युत् सेवा अवरुद्ध हुँदा जिल्ला अस्पतालमा बिरामीको उपचारमा समस्या भएको छ । एक हप्तादेखि जिल्ला अस्पताल बझाङमा विद्युत् आपूर्ति नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको हो ।

वर्षापछि आएको बाढीपहिरोले विभिन्न ठाउँमा विद्युत्‌का पोल बगाएपछि राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा अवरुद्ध भएको थियो । केन्द्रीय लाइन अवरुद्ध भए पनि दुई सय किलोवाट क्षमताको स्थानीय सुर्मादेवी जलविद्युत् आयोजनाबाट अहिले सदरमुकाम चैनपुरमा विद्युत् आपूर्ति सुचारु गरिएको छ । यद्यपि सदरमुकाम नजिकै सिमखेतमा रहेको अस्पतालमा भने विद्युत् पुगेको छैन ।

विद्युत् सेवा अवरुद्ध हुँदा बिरामीको शल्यक्रिया लगायतका अक्सिजन, नेबुलाइजर, एक्सरे, भिडियो एक्सरे जस्ता स्वास्थ्य सेवा प्रभावित भएको छ । विद्युत् सेवा नभएपछि आकस्मिक सेवा पनि प्रभावित हुँदा बिरामीलाई झन् समस्या भएको छ । विद्युत् समस्याका कारणले अस्पतालमा आएका सेवाग्राहीहरूलाई तत्काल सेवा दिन असजिलो बन्दै गएको अस्पतालले जनाएको छ ।

दैनिक सयौंको संख्यामा बिरामीहरु अस्पताल आउने गरेको र विद्युत् नहुँदा उपचारमा समस्या हुने गरेको जिल्ला अस्पताल बझाङका निमित्त प्रमुख डाक्टर योगेन्द्र खातीले बताए । ‘विद्युत् सेवा अवरुद्ध भएको एक हप्ता भन्दा बढी भयो । अपतालमा भएको जेनेरेटर चलाएर सेवा दिइरहेका थियौं । अब त डिजेल पनि सकियो,’ उनले भने, ‘बाढीपहिरोले सडक अवरुद्ध हुँदा बजारमा डिजेल अभाव छ । बाहिरबाट ल्याउन सकिने अवस्था पनि छैन । विद्युत् नहुँदा शुक्रबारदेखि अधिकांश सेवा बन्द भएको छ ।’

उनले विद्युत् अभावमा आकस्मिक सेवा पनि प्रभावित भएको बताए । सुत्केरी हुन नसकेका र बाढीपहिरोमा परेर घाइते भएकाहरु उपचारका लागि जिल्ला अस्पताल आउने गरेका र यस्ता प्रकारका अधिकांश बिरामीहरुको शल्यक्रिया गर्नुपर्ने भए पनि विद्युत् नहुँदा समस्या भएको उनले बताए ।

चैनपुर बजारमा बिजुली बलिरहेको भए पनि संवेदनशील क्षेत्र अस्पतालमा बिजुली नभएको र विद्युत् सेवा सुचारु गर्नका लागि नेपाल विद्युत् प्राधिकरणको बझाङ वितरण शाखा चैनपुरमा जानकारी गराएको अस्पतालले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणको वितरण शाखा चैनपुरले विद्युत्‌को खपत बढी र उत्पादन क्षमता कम हुँदा बजारमा पनि आलोपालो विद्युत् आपूर्ति गराइएको छ । अस्पताल लाइनमा पोल ढलेको र केही स्थानमा मर्मत गर्नुपर्ने भएकाले विद्युत् प्रसारण नियमित गर्न अझै समय लाग्ने वितरण शाखा चैनपुरका प्रमुख हरेन्द्रराय यादवले बताए ।

‘जिल्ला अस्पतालको समस्या हामीलाई जानकारी छ । हामीले मर्मतका लागि प्रयास गरिरहेका छौं । अस्पताल लाइनमा पहिरोले पोल ढालेको र ट्रान्सफर्मरमा समस्या देखिएको छ । राष्ट्रिय प्रसारण लाइन मर्मतमा अझै समय लाग्ने देखिन्छ,’ उनले भने, ‘हामी अस्पतालमा पनि चाँडै यसै लाइनबाट अस्पतालमा विद्युत् आपूर्ति गर्ने प्रयास गरिरहेका छौं ।’ बैतडीको खोडपेदेखि चैनपुरसम्म एक सय भन्दा बढी पोल ढलेका कारण राष्ट्रिय प्रसारणको लाइन मर्मत गर्न समय लाग्ने देखिन्छ । डडेल्धुरासम्म सडक खुलिसकेकाले अवरुद्ध विद्युत् सेवा सुचारु गर्ने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ ।

प्रकाशित : कार्तिक ७, २०७८ १३:१७
प्रतिक्रिया
पठाउनुहोस्

बेमौसमी वर्षाले सडकमा १ अर्ब ५ करोडको क्षति 

कान्तिपुर संवाददाता

काठमाडौँ — कात्तिक महिनामा परेको बेमौसमी वर्षाका कारण आएको बाढी–पहिरोले सडक र राजमार्गहरूमा १ अर्ब ५ करोडको क्षतिको प्रारम्भिक विवरण आएको सडक विभागले जानकारी दिएको छ । 

सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले कात्तिक १ गतेयता परेको वर्षाका कारण आएको बाढी र पहिरोले १ अर्ब ५ करोडको क्षति भएको प्रारम्भिक अनुमान प्राप्त भएको बताए ।

प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको आइतबारको बैठकमा महानिर्देशक थापाले भने, 'कात्तिक १ गतेयता परेको बेमौसमी वर्षाका कारण सडकमा भएको कुल भौतिक क्षतिको प्रारम्भिक अनुमान १ अर्ब ५ करोड आएको छ । यो अनुमान प्रारम्भिक हो, पूर्ण विवरण आउन बाँकी छ ।'

बेमौसमी वर्षाले १८ वटा राजमार्गका २४४ ठाउँमा बन्द भएको थापाले जानकारी दिए । तीमध्ये अझै केही खुल्न बाँकी रहेको उनको भनाइ थियो । 'मनाङ, बाजुरा, बझाङलगायतका राजमार्ग अझै अवरुद्ध छ । अबको दुई–तीन दिनमा मनाङ खुल्ने अवस्थामा छ । बझाङमा अवरुद्ध सडक खुल्न अझै समय लाग्ने अवस्था छ,' उनले भने ।

अहिले सडक विभागको पहिलो प्राथमिकता अवरुद्ध सडक अस्थायी रूपमा वा एकतर्फी रूपमा भएपनि सञ्चालनमा ल्याउने रहेको उनले बताए ।

कात्तिक १ गतेयता परेको वर्षका कारण सुदूरपश्चिम र कर्णाली लगायतका धेरै ठाउँमा बाढी र पहिरो गएको थियो । तराईका विभिन्न जिल्ला डुबानमा परेका थिए ।

प्रकाशित : कार्तिक ७, २०७८ १३:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×