बिरामी पर्न थाले बाढीपीडित

गणेश चौधरी

टीकापुर — कैलालीको टीकापुर नगरपालिका–८ बनगाउँकी चाँदनी चौधरी शनिबार दिउँसो नुन किन्न नजिकैको सत्ती बजार निस्कँदै थिइन् । बैमौसमी बाढीले घरका सबै समान डुबानमा परेपछि नुनको खोजीमा निस्केको उनले सुनाइन् । ‘विभिन्न संघसंस्थाले चाउचाउ र बिस्कुट दिएका छन् । यसले कति दिन भोक टार्न सकिएला ?,’ उनले भनिन्, ‘४ दिनदेखि चाउचाउ र बिस्कुटको भरमा छौं ।’ 

बिरामी पर्न थाले बाढीपीडित

श्रीमान् कामका लागि भारत गएपछि उनी दुई बच्चासहित घरमा बस्दै आएकी थिइन् । ‘घरमा बाढी पसेपछि बच्चा भने धन्न जोगाउन सके,’ चाँदनीले भनिन् । टीकारपुर–८ कै १२ वर्षीया निर्जला चौधरीले शनिबार बिहान चाउचाउको झोलसित भात खाएको सुनाइन् । उनले भनिन्, ‘तरकारी केही नभएपछि चाउचाउको झोल र भात पकाएर खायौं ।’

बाढी पीडित परिवारको चार दिनदेखि सडकमै बास छ । घरमा पूरै हिलोमाटो भएकाले सडकमा बस्नुपरेको स्थानीय चेचुराम थारूले बताए । उनका अनुसार कतिपय परिवार सडकमा केही कर्णालीको पुलमा पनि रात बिताउने गरेका

छन् । पानी घटे पनि घरमा गएर बस्न अझै ३/४ दिन लाग्ने उनले बताए । ‘गाउँमा एउटा उच्चो घर त छ । तर ३० जना जति मात्र अटाउँछन् । त्यो घरमा बालबच्चा र बूढापाकालाई राखेका छौं । अलि जवानहरू रोडमा र पुलमा सुत्छौं,’ उनले भने ।

डुबानमा परेका घरमा तत्काल फर्केर बस्न सक्ने अवस्था नरहेको जनप्रतिनिधिहरूको भनाइ छ । टीकापुर–८ का वडाध्यक्ष दीर्घ ठकुल्लाले भने, ‘ज–जसको घर फर्कने अवस्था छैन । उनीहरू अझै रोड, सेल्टर र विद्यालयमा बसिरहेका छन् ।’

यसैबीच, बाढी प्रभावित क्षेत्रका बासिन्दामा ज्वरो आउने, टाउको दुख्नेलगायत समस्या देखिन थालेको छ । टीकापुर–८ को स्वास्थ्य चौकी आउने बाटो अवरुद्ध भएकाले स्थानीयहरू उपचारका लागि बर्दियाको राजापुर जाने गरेका छन् । ‘५/६ जना बिरामी राजापुर गएर उपचार गराए । सरकारले अहिलेसम्म कुनै पहल गरेको छैन,’ स्थानीय राजकुमारी चौधरीले भनिन् । त्यस्तै, बाढीका कारण विद्यार्थीका किताब, कापी, विद्यालयको पोसाक बगेपछि विद्यालय जान पनि समस्या परेको छ । नगरपालिकाले विद्यालयहरू आइतबारदेखि खुल्ने सूचना जारी गरिसकेको छ । कक्षा ४ मा अध्यनरत अनु चौधरीले आफ्ना कापी–किताब पोसाक सबै बगेकाले विद्यालय जान नसक्ने सुनाइन् ।

प्रकाशित : कार्तिक ७, २०७८ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?