‘घर त फर्कियौं, अब के खाने ?’- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘घर त फर्कियौं, अब के खाने ?’

घरभित्र बाढीको लेदोले बस्नै नहुने छ भने मरेका चौपाया गन्हाएर गाउँ छिर्नै नसक्ने अवस्था
भवानी भट्ट

कञ्चनपुर — घर चारैतिर भत्केको छ । भित्रको अन्न र लुगाकपडा सबै भिजेको छ । धान, गहुँ त बाढीले बगाइहाल्यो । बाढीले विस्थापित भएर तीन दिनपछि घर फर्किएका कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकभरका मोतीराम सुनारले शुक्रबार आफ्नो घरको अवस्था यस्तो पाए । भत्केको घर पन्छाउने, भिजेको अन्न सुकाउने काममै उनी व्यस्त छन् । 

‘घर त फर्कियौं, अब के खाने, के लाउने भन्ने चिन्ता छ,’ मोतीरामले भने, ‘भित्रको अन्न सबै भिजेको छ, लुगाफाटा पनि सबै भिजेका र बगेका छन् ।’ घरभित्र बस्न नसकिने भएकाले सुनार आफू मात्रै फर्के भने छोरा, बुहारी र श्रीमती विद्यालयमै बसिरहेका छन् ।

मध्यरातमा महाकाली र जोगबुडाको बाढी बस्तीमा पसेपछि गाउँलेको भागाभाग चल्यो । बाढी बढ्दै गएर घरभित्रै पस्दा पनि भाग्ने ठाउँ कतै नहुँदा ज्यानको आस मारेर बसेको मोतीराम बताउँछन् । ‘रातभरि डरैडरले बस्यौं, बिहान प्रहरीले उद्धार गरेपछि ज्यान जोगियो,’ उनले भने, ‘यहाँ बाढी नपसेको घर नै छैन, खेतबारी र घरभित्रको सबै अन्न नोक्सान भयो ।’ मोतीरामले डेढ बिघामा बेसार खेती लगाएका थिए । आधा बिघामा तोरी थियो भने ५ कठ्ठामा मुला लगाएका थिए । सोमबार रातिदेखि बस्तीमा पसेको बाढीले सबै पटान गरी पुरियो । ‘खेतमा पटान गरेर पुरियो, भित्रको बगाएर लग्यो,’ उनले भने, ‘अब भोकमरी हुने अवस्था आयो ।’

महाकाली नदीछेउमै घर भएका कुतियाकभरकै खड्के बुढा पनि अहिले घरभित्रको हिलो पन्छाउने, भिजेका धान, गहुँ सुकाउने काममा व्यस्त छन् । ‘न भित्रको अन्न रह्यो न त बाहिरको,’ उनले भने, ‘आज (शनिबार) बिहान भारतीय सीमाका एसएसबीले खुवायो, साँझ के खाने ठेगान छैन ।’ उनको परिवार अझै पनि जोगबुडावारि अम्बिका माध्यमिक विद्यालयमा आश्रय लिई बसिरहेको छ । उनी मात्रै घर कुर्न गएका हुन् । बस्ने–खाने केही ठेगान नभएकाले छोरा, बुहारी र छोरी विद्यालयमै बसेको उनले बताए ।

बुढाले पनि तीन बिघामा बेसार लगाएका थिए । आधा–आधा बिघामा परवल, मुला र तोरी पनि छरेका थिए । बाढीले सबै पुरियो । तीन/चार फिटसम्म बालुवाले खेत पुरिएको उनले बताए । बुढाको मुख्य पेसा तरकारी खेती हो । यसैबाट उनले परिवारको गुजारा चलाउँथे । तरकारी लगेर महेन्द्रनगर बिक्री गर्थे । बाढीले सबै ध्वंस पारेको उनी बताउँछन् । उनको घरगोठ भत्काउनुका साथै बाढीले गाई–भैंसी र बाख्रासमेत बगाएको छ ।

कुतियाकभरमा ३५ परिवारको बसोबास छ । बाढीले सबैको घरमा क्षति पुर्‍याएको छ । गाई, भैंसी र बाख्रासमेत बगाएर लगेको छ । मरेका गाई–भैंसी घर आँगनमै असरल्ल परेकाले गन्हाउन थालेको स्थानीय विनोद सुनारले बताए । उनका अनुसार हिलोका कारण खाल्डो खनेर पुर्न सक्ने अवस्था नभएकाले घर आँगनमै कुहिने अवस्था आएको हो । यसबाट विभिन्न किसिमका संक्रमण फैलिन सक्ने खतरासमेत बढेको छ ।

दोधारा चाँदनी जिल्लामै बाढीको उच्च जोखिममा रहेको क्षेत्र हो । पूर्वमा महाकाली र पश्चिममा जोगबुडा नदीका कारण यहाँ बर्सेनि डुबान र कटान हुने गरेको छ । जोगबुडा नदीपारि रहेको कुतियाकभरमा हिउँदमा समेत कटान हुने गरेको छ । भारतीय पक्षले शारदा नहरको पानी जोगबुडा नदीमै छाड्ने गरेका कारण हिउँदमा समेत कटान हुने गरेको हो ।

दोधारा चाँदनी नगरपालिकाका अनुसार बाढीका कराण झन्डै ८ सय परिवार विस्थापित भएका थिए । जसमध्ये आधाभन्दा बढी परिवार घर फर्केका छन् । सबैभन्दा बढी प्रभावित कुतियाकभर क्षेत्रका बासिन्दा भने अझै फर्किन नसकेको नरगपालिकाका प्रवक्ता दिलबहादुर सिँजालीले बताए । उनका अनुसार अहिले पनि घरभित्र हिलो र कतिपय घर भत्किएका कारण स्थानीय घरकै सरसफाइमा लागेका छन् ।

‘अहिले घर फर्किने अवस्था छैन, घरमा गएर खान–लाउनलाई पनि केही छैन,’ सिंजालीले भने, ‘हामीले पुनःस्थापनका लागि पहल गरिरहेका छौं, राहतका लागि पनि पहल गरिरहेका छौं ।’ उनका अनुसार कुतियाकभर क्षेत्रका कृषकले पालेका गाई–भैंसी बाढीले बगाएर लगेकाले यसको समेत विवरण संकलन भइरहेको छ ।

प्रकाशित : कार्तिक ७, २०७८ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्

किसानलाई राहत दिनेबारे छलफल गर्न केन्द्रले बोलायो सातै प्रदेशका कृषि मन्त्री

कान्तिपुर संवाददाता

काठमाडौँ — बेमौसी वर्षापछिको बाढीपहिरोबाट पीडित किसानलाई राहत दिनेबारे सात वटै प्रदेशका कृषि मन्त्रीहरुको भेला हुने भएको छ । संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयको नेतृत्वमा हुने छलफलमा क्षति मुल्याङकन र राहतबारे निर्णय हुने  छ ।

‘किसानलाई राहत दिनेबारे कात्तिक ९ गते बैठक राखेका छौं,’ कृषि मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सन्जेलले भने, ‘छलफलमा सातै प्रदेशका कृषि मन्त्री र कृषि सचिवको सहभागिता रहनेछ । बैठकले क्षति मुल्याङकन र सम्भवत राहतबारे निर्णय गर्छ ।’

प्रारम्भिक अध्ययन अनुसार लुम्बिनी, सुदूरपश्चिम र प्रदेश १ मा मात्रै ७ अर्ब रुपैयाँ भन्दा बढीको धानबाली क्षति भएको छ । धान उत्पादन हुने मूख्य पकेट क्षेत्र प्रदेश २ को अझै विवरण आइसकेको छैन । क्षतिको थप विवरण संकलनका लागि केन्द्रबाट आइतबार ७ वटा टोली पठाउने तयारी भएको मन्त्रालयले जनाएको छ । टोलीले प्रदेश, स्थानीय तहसँगको सहकार्यमा विवरण संकलन गर्ने जनाएको छ ।


प्रकाशित : कार्तिक ७, २०७८ १२:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×