कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

सुदूरपश्‍चिममा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ३४ पुग्यो

चित्रांग थापा

धनगढी — सुदूरपश्चिम प्रदेशमा बेमौसमी वर्षासँगै आएको बाढी पहिरोमा परी शुक्रबार साँझसम्म मृत्यु हुनेहरूको संख्या ३४ पुगेको छ । अछामको ढकारी गाउँपालिका —३ मा कार्तिक २ गते खोलामा बगेर बेपत्ता भएकी ७ वर्षीया बालिकाको शव शुक्रबार फेला परेको हो ।

सुदूरपश्‍चिममा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ३४ पुग्यो

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक बिक्रम चन्दका अनुसार हालसम्म बाढी पहिरोमा परी सबैभन्दा बढी १६ जना डोटीमा, डडेलधुरामा ३ जना, बैतडीमा ४ जना, बझाङमा ९ जना, कैलालीमा १ र अछाममा १ जनासमेत ३४ जनाको मृत्यु भएको हो ।

यसैगरी प्रदेशका विभिन्‍न जिल्लामा १७ जना घाइते भएका छन् । एसएसपी चन्दका अनसार घाइते हुनेहरूमा डोटीमा ११ जना, डडेल्धुरामा २ जना, बैतडीमा २ जना, बझाङमा १ जना र बाजुरामा १ जना रहेका छन् ।

बझाङको थलारा गाउँपालिका —४ को डिक्लामा पहिरोमा परी बेपत्ता भएका २३ जनामध्ये हालसम्म ३ जना मृत अवस्थामा फेला परेका छन् । ‘घटनास्थल क्षेत्रमा तीनवटै सुरक्षा निकाय सेना, सशस्त्र र प्रहरीको उद्धार टोली पहिरोमा पुरिएकाहरुको खोजी कार्यमा खटिएको छ,’ चन्दले भने, ‘घटनास्थल र आसपासको क्षेत्रमा खोजी कार्य जारी छ ।’

प्रदेश प्रहरी कार्यालयका अनुसार बाढी पहिरोमा परि बेपत्ता हुनेको संख्या २२ रहेको छ । जसमध्ये सबैभन्दा बढी बझाङमा २० जना तथा कैलाली र बैतडीमा १/१ जना रहेका छन् । केही प्रमुख अवरुद्ध राजमार्गमा यातायात सञ्चालन भिषण वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खसेर खोला खहरेले कटान गरेर अवरुद्ध भएका सुदूरपश्चिमका प्रमुख राजमार्गमा शुक्रबारदेखि यातायात सेवा सञ्चालन हुन थालेको सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय कैलालीको अत्तरियाले जनाएको छ ।

सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोडने प्रमुख धनगढी—डडेलधुरा राजमार्ग, डडेलधुरा— बैतडी राजमार्ग तथा डोटी—अछाम राजमार्गमा पहिरो पन्छाएर सवारी साधन आवागमन हुन थालेको प्रदेश ट्राफिक कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले बताए । उनका अनुसार अझै बैतडीको खोडपेदेखि बझाङ सदरमुकाम चैनपुर जोडने जयपृथ्वी राजमार्ग, बैतडी —दार्चुला जोडने महाकाली राजमार्ग र अछामको साँफे बगरदेखि बाजुराको मार्तडी जोडने सडक अवरुद्ध रहेको छ ।

एसपी गौतमका अनुसार डडेलधुरा —डोटी राजमार्गको रडुवा खोलामा पनि सडक अवरुद्ध छ । ‘दार्चुला सदरमुकामदेखि ५ किलोमिटर वरको सडकखण्ड नदीले कटान गरेकाले दार्चुला पुग्न सडक कटान भएको ठाउँमा हिडेर पार गरेपछि अर्को गाडी बदल्नु पर्ने अवस्था रहेको छ, ’ एसपी गौतमले भने, ‘उक्त सडक खण्ड मर्मत गर्न केही समय लाग्ने देखिन्छ ।’

प्रकाशित : कार्तिक ६, २०७८ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?