पहिरोले घर भत्किएर डडेलधुरा र डोटीमा १–१ जनाको मृत्यु, २ घाइते- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरोले घर भत्किएर डडेलधुरा र डोटीमा १–१ जनाको मृत्यु, २ घाइते

चित्रांग थापा

धनगढी — तीन दिनदेखिको अविरल वर्षाका कारण घर भत्किएर सुदूरपश्चिममा २ जनाको मृत्यु भएको  छ भने अन्य २ जना घाइते भएका छन् ।

सुदूरका पहाडी जिल्लामा सञ्चारसेवा समेत ठप्प भएका कारण जनधनको क्षतिको विवरण प्राप्त हुनमा समस्या भइरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय धनगढीका वरिष्ठ प्रहरी उपरीक्षक विक्रम चन्दका अनुसार अविरल वर्षाका कारण सोमबार राति घर भत्किएर डडेलधुराको गन्यापधुरा गाउँपालिका –१ भत्काडामा ३२ वर्षीय विष्णु अवस्थीको मृत्यु भएको हो । डोटी जिल्लाको आदर्श गाउँपालिकामा पनि एक जनाको घर भत्किएर मृत्यु भएको छ । सञ्चार सम्पर्क प्रभावित भएका कारण डोटीमा मृत्यु हुनेको नाम ठेगाना खुल्न नसकेको एसएसपी चन्दले बताए ।

घर भत्किएर डडेलधुराको अमरगढी नगरपालिकामा पनि आमाछोरा घाइते भएको तथा उनीहरुको अवस्था समान्य रहेको चन्दले बताए । प्रदेश प्रहरी कार्यालयबाट प्राप्त जानकारीअनुसार कञ्चनपुरमा महाकाली र कैलालीको टीकापुर क्षेत्रमा कर्णालीको बहाव तीव्र रुपमा बढ्दै गएका कारण तटीय क्षेत्रमा बाढी पस्ने जोखिम बढ्दै गएको छ ।

‘कर्णालीको बहाव ११.५ मिटर पुगेको छ, जुन खतराको तहभन्दा १ मिटर बढी रहेको छ,’ एसएसपी चन्दले भने, ‘बाढी पस्ने उच्च जोखिममा रहेका शाहीपुर, बसन्ता र सत्तिबजार तथा आसपासका क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको र स्थानीयवासीलाइ सतर्क रहन जानकारी गराउने काम भइरहेको छ ।’ उनका अनुसार टीकापुरको ५ नम्बर वडा क्षेत्रमा कर्णालीको बाढीले निरन्तर कटान गरिरहेको छ ।


प्रकाशित : कार्तिक २, २०७८ १२:४१
प्रतिक्रिया
पठाउनुहोस्

नेप्सेमा गिरावट जारी : साढे १२ बजेसम्म ७३ अंक घट्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — मंगलबार पनि सेयर बजारमा ठूलो अंकको गिरावट आएको छ ।

कारोबार सुरु भएदेखि नै घटेको बजार १२: ३० बजेसम्म ७२.९ अंकले घटेको हो । यसअघि हिजो सोमबार बजार बन्द हुँदा ६९ अंकले घटेको थियो ।

आज साढे १२ बजेसम्म १७७ कम्पनीको मूल्य घटेको छ भने ८ कम्पनीको मात्रै बढेको छ । साढे १ घण्टासम्म कुल १ अर्ब २४ करोड रुपैयाँको सेयर किनबेच भएको छ । ब्यापार बाहेक सबै समूह राताम्मे भएका छन् ।


प्रकाशित : कार्तिक २, २०७८ १२:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×