२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

वर्षासँगै दार्चुलाको तिंकरमा हिमपात सुरु

कान्तिपुर संवाददाता

दार्चुला — आइतबार रातिदेखिको अविरल वर्षासँगै दार्चुलाको ब्यास गाउँपालिका–१ तिंकरमा हिमपात सुरु भएको छ । जिल्लाकै सबैभन्दा उचाइमा पर्ने तिंकरमा सोमबार दिउँसोबाट हिमपात सुरु भएको स्थानीय प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार सोमबार दिउँसो तिंकर प्रहरी चौकीसँग सम्पर्क भएको थियो । छाङरु प्रहरी चौकीसित भने सम्पर्क हुन सकेको छैन ।

तिंकरमा हिमपात सुरु भएपछि चिसो बढेको स्थानीयहरु बताउँछन् । तिंकरका उच्च डाँडाहरुमा बिहानैबाट हिमपात सुरु भएको बताइएको छ । हिमपातले उच्च पहाडी डाँडाकाँडा ढाकिएका छन् । तिंकर गाउँसहित लेकाली भेगमा हिमपात भइरहेको स्थानीयहरुले जानकारी दिए ।

चिसोका कारण तिंकर गाउँमा खानेपानीको पाइपभित्र पानी जमेर धारामा पानी आउन सकेको छैन । भारी हिमपात भएपछि तिंकरको जनजीवन कष्टकर बनेको छ ।

अपी हिमाल गाउँपालिकाका उच्च डाँडाहरुमा पनि बाक्लो हिमपात सुरु भएको छ । बस्तीमा भने हिउँ परेको छैन । लगातार वर्षा हुँदा चिसो बढेको स्थानीय धनसिंह धामीले बताए । भोलि बिहानसम्म अविरल वर्षा भएमा बस्तीमै हिमपात बढ्ने सम्भावना अत्याधिक रहेको उनको भनाइ छ ।

प्रकाशित : कार्तिक १, २०७८ २०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?