नाकामा लर्को- सुदूरपश्चिम - कान्तिपुर समाचार

नाकामा लर्को

कान्तिपुर संवाददाता

कञ्चनपुर — पिठ्युँमा ठूलो भारी । हातमा सानोतिनो झोला । कतिपयका काखमा दूधे बालक पनि । सबैलाई गाडी चढ्ने हतारो ।

फूलपातीका दिन मंगलबार बिहान गड्डाचौकी नाकामा दसैंका लागि घर फर्किनेको भीड थामिनसक्नु थियो । यस्तै भीडमा भेटिए कैलाली टीकापुरका दीपक महतो । दुई महिनाअघि मात्रै भारतको सिमला गएका उनी दसैंका लागि घर फर्किएका हुन् ।

‘सिमला पूरै खाली भइसक्यो, नेपाली कामदार घर फर्किसके,’ उनले भने, ‘दसैं–तिहारमा त उता उराठ नै लाग्छ, नआऊँ भने पनि मनले मान्दैन ।’

महतो हरेक वर्ष रोपाइँ सकेर सिमला पुग्छन् । एक महिनाजति स्याउ टिप्छन् । एक महिना घाँस काट्छन् । ‘अब अर्को वर्ष मात्रै जान्छु,’ महतोले भने, ‘दसैं–तिहार खर्च अहिलेको कमाइले पुगिहाल्छ, हिउँदमा त्यहाँ चिसो धेरै हुन्छ काम गर्नै गाह्रो हुन्छ ।’

असोज सुरुदेखि नै गड्डाचौकी नाकामा घर फर्किनेको भीड बढेको छ । दिनमा दुई हजारभन्दा बढी नेपाली यो नाकाबाट फर्किने गरेका हुन् । घटस्थापनादेखि भने भीड अझै बढेको छ । दिनमा तीन हजारभन्दा बढी यो नाकाबाट फर्किन थालेका छन् ।

प्रकाशित : आश्विन २७, २०७८ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्

मुगु बस दुर्घटना : कर्णालीका प्रदेश प्रमुख र मुख्यमन्त्रीद्वारा दुःख व्यक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — मुगुमा मंगलबार भएको बस दुर्घटनाप्रति कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुःख व्यक्त गरेका छन् । छुट्टाछुट्टै समवेदना सन्देश जारी गर्दै उनीहरुले मृतकका परिवारप्रति सहानुभूतिका साथै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् । 

मुख्यमन्त्री शाहीले दुर्घटनाको सूचना पाउन बित्तिकै उद्धार तथा प्रारम्भिक उपचारमा खटिने सुरक्षा निकाय, स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधिलगायतलाई धन्यवाद दिएका छन् । त्यस्तै, चाडपर्वका बेला सवारीसाधनमा हुने भीडभाड कम गर्न, सवारी साधनको यान्त्रिक अवस्था दुरुस्त राख्न तथा ट्राफिक नियमको पालनालाई कडाइ गरी दुर्घटना न्यूनीकरणको व्यवस्था मिलाउन प्रदेश सरकार, स्थानीय तह, स्थानीय प्रशासन, सुरक्षा निकाय र सरोकारवालालाई निर्देशनसमेत दिनुभएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव कृष्णप्रसाद आचार्यद्वारा जारी शोक वक्तव्यमा उल्लेख छ ।

नेपालगञ्जबाट सोमबार छुटेको भे१ख ३१६७ नम्बरको यात्रुबाहक बस मंगलबार मध्याह्न १२ बजेतिर छायाँनाथ रारा नगरपालिकाको वडा नं ७ स्थित पिनातपने खोला नजिकै दुर्घटनामा परेको थियो । दुर्घटनामा परी ३२ जनाको मृत्यु हुनुका साथै १३ घाइते भएका थिए । घाइतेको मुगु जिल्ला अस्पताल, बाँकेको नेपालगञ्ज र कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

यो पनि

प्रकाशित : आश्विन २७, २०७८ ०९:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×