दसैं मनाउन घर फर्किनेको भीड- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दसैं मनाउन घर फर्किनेको भीड

अहिले झुलाघाट नाकाबाट दैनिक २ सय बढी नेपाली घर फर्किन थालेका छन्
तृप्ति शाही

बैतडी — दसैं नजिकिँदै गर्दा भारतका विभिन्न सहरतिर पसेकाहरू नेपालीहरू यतिबेला घर फर्कन थालेका छन् । केही दिनयता भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकाबाट स्वदेश फर्कनेको संख्या बढ्दै गएको छ । कामको लागि भारत गएको महिनौंपछि दसैंको लागि घर फर्किएको सिमानाका झुलाघाटमा भेटिएका बैतडीको पुर्चौडी नगरपालिकाका विनोद पार्कीले बताए ।अघिपछि परिवार पाल्नका लागि घर बस्न नपाए पनि दसैं परिवारसॅंगै मनाउने योजना साथ घर आएको उनले सुनाए । महिनाभरि काम गरेको पैसाले परिवारका सदस्यलाई लुगाफाटो पनि किनेर ल्याएको उनले बताए । 

आफू पनि दसैंको लागि मात्र घर फर्किएको दशरथचन्द नगरपालिकाका करन बोहराले बताए । गाउॅमै दसैको रमाइलो गर्ने भन्दै एक वर्षपछि घर आएको उनले सुनाए । कामको लागि भारतै जानपर्ने बाध्यता भएको बताउदै उनले भने, ‘चाडबाडको बाहनामा पनि घर आउन पाएँ, खुसी लागेको छ । दसै सकेर फेरि फर्किनै पर्छ ।’

देशमै रोजगारीको व्यवस्था भएको भए यसरी लाखौं नेपाली भारत जानुपर्ने बाध्यताको अन्त हुने उनले सुनाए । आफू जस्तै प्रदेशिएका धेरै दाजुभाइ दसै र तिहारको लागि घर आउन थालेका उनले बताए । अहिले झुलाघाट नाकाबाट दैनिक २ सय बढि नेपालीहरू नेपाल फर्किन थालेका छन् । नेपाल आउनेको संख्या बढेको र भारत जाने भने घटेका छन् । दिनको २/४ जना मात्र पारि जान थालेका सीमामा खटिएका सुरक्षाकर्मीहरूले बताए । रोजगारीका लागि भारत पसेका सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लाका स्थानीय दैनिक रूपमा स्वदेश फर्कने गरेको सीमा प्रहरीचौकी झुलाघाटले जनाएको छ ।

यस्तै, नेपाल घर भएका भारतमा बसोबास गर्ने नेपालीहरू पूजाआजाको लागि पनि स्वदेश फर्किदैछन् । आफ्नो कुल देवताको पूजाआजाको लागि बैतडीका विभिन्न गाउॅमा पुर्ख्यौली घर भएकाहरू जिल्ला आउन थालेका छन् । घटस्थापनाको दिनबाटै जिल्लामा पूजाआजाको कार्य सुरु हुन्छ । यहा दसैंको समयमा व्रत बसेर पूजापाठ गर्ने चलन छ । भारतमा बस्ने भए पनि दसैको पूजाको लागि नेपाल माइती घर फर्किएको जानकी चन्दले बताइन् ।

यस्तै, दसैं र तिहारको समयमा दैनिक उपभोग्यका सामग्रीसँगै नयाॅ कपडा किन्नको लागि पनि जिल्लाका स्थानीय भारतीय सीमा बजार झुलाघाट जाने गरेका छन् । पारि सस्तो पाइने भन्दै दैनीक सयौं नागरिकहरू भारतीय बजारबाट सामान खरिद गरेर ल्याउने गरेका झुलाघाटका स्थानीय व्यापारी जयसिंह भाटले बताए । यो समयमा अन्य समय भन्दा भीडभाड धेरै भएको उनले बताए ।

सीमानाकामा कोरोना परीक्षण

झुलाघाट नाकाबाट दसैंका लागि घर फर्कने सबैको सीमामै कोरोना परीक्षण गरेर मात्रै पठाउने गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । सीमामै एन्टिजेन परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएकाहरूलाई मात्रै पठाइने गरिएको छ । कोरोना पोजेटिभ आएकाहरूलाई जिल्ला अस्पताल वा सम्बन्धित पालिकाका आइसोलेसनमा पठाइने गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । कसैलाई होम आइसोलेसनको लागि सिफारिस गरिएको उनले बताए ।

झुलाघाट नाकामा गएको चैतदेखि सञ्चालन भएको हेल्थ डेस्कमार्फत कोरोना परीक्षणको काम हुँदै आएको छ । अहिले दसैंको समयमा बढी मानिस सीमा नाकाबाट फर्किने भएकाले कोरोना परीक्षण जारी रहेको उनले बताए ।

प्रकाशित : आश्विन २२, २०७८ ११:२४
प्रतिक्रिया
पठाउनुहोस्

बागलुङ कालिकामा भक्तजन

कान्तिपुर संवाददाता

बागलुङ — कोरोना संक्रमण र निशेधाज्ञाले ४ महिना बन्द भएको कालीका मन्दिर दसैंका लागि खुला भएको छ । खुला भएसँगै मन्दिरमा भक्तजन बढ्न थालेका छन् । घटस्थापनाको दिनदेखि पूर्णिमासम्म यहाँ सयौं भक्तजन आउने गर्छन् ।

बिहीबार नै सयौं भक्तजन आएपछि मन्दिर व्यवस्थापनले भौतिक दूरी काम गर्ने, पूजा व्यवस्थापन र अनिवार्य मास्क लगाउने व्यवस्था गराएको कालीका भगवती गुठीका अध्यक्ष राजु खड्काले बताए ।

औंसीको दिन कागवेनीमा श्राद्ध गरेर फर्केकाले घटस्थापनाको दिन कालीका दर्शन गरेर फर्कने पुरानो चलनसमेत छ । बिहीबार बिहानैदेखि जिल्लाबाहेक छिमेकी जिल्ला, चितवन, नवलपुर, पोखरालगायतका भक्तजन समेत आएका हुन् । भक्तजन आउने भएपछि गुठीले मन्दिर र वरपर सफाइ गरेको छ ।

सवारीको पार्किङ व्यवस्थापन र गाडीमा कोचाकोच यात्री ल्याउन नदिन ट्राफिक व्यवस्थापनमा पनि कडाइ गरिएको जिल्ला ट्राफिक प्रमुख बद्रीप्रसाद तिमिल्सिनाले बताए । कालीका मन्दिरमा पूजासँगै पञ्चबली दिने चलन छ । भाकल गरेकाहरूले चिताएको पुग्ने विश्वासले कुखुरा, बोका, राँगो र भेडाको बली दिनेसमेत गर्छन् । कतिपयले नरिवल चढाँउछन् ।

कालीका मन्दिरमा ५ सय वर्षदेखि नियमित पूजा हुने गरेको इतिहास छ । यसैबीच गलकोट नगरपालिका–३ को कोतघर र कालीका मन्दिर, ताराखोला गाउँपालिकाको अर्गल मौलामा पनि पूजा सुरु भएको छ । सबै मन्दिरमा घटस्थापना गरेर जमरा राख्ने चलन छ ।

प्रकाशित : आश्विन २२, २०७८ ११:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×