२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

जब बिहान चोकमा सालिक देखियो

बझाङ्गी भाषामा बन्न लागेको चलचित्र छायांकनका लागि नगरपालिकाको अनुमति लिएर यो सालिक राखिएको हो
वसन्तप्रताप सिंह

बझाङ — सदरमुकाम चैनपुरको मुख्यभागमा रहेको लोकतान्त्रिक चोकसँगै जोडिएको घरमा फेन्सी व्यापार गर्ने केशवराज जोशी मंगलबार राति १० बजेतिर मात्रै पसल बन्द गरेका थिए । ११ बजेतिर उनी सुत्दा चोकमा केही चहलपहल थिएन । चोकमात्रै होइन, सिंगो चैनपुर बजार नै शान्त थियो ।

जब बिहान चोकमा सालिक देखियो

बिहान ६ बजेतिर उठेर पसल खोल्न बाहिर निस्किँदा जोशी चकित परे । अघिल्लो रातिसम्म सडकमात्रै भएको चोकमा त सालिक ठडिएको रहेछ । नजिक गएर हेरे जयपृथ्वीबहादुर सिंहको सालिक । सालिकको मुनि घातुको प्लेटमा ‘असतोमा सदगमय, तमसोमा ज्योतिर्गमयः मानवतावादी राजा जयपृथ्वीबहादुर सिंह विसं १९३४–१९९७’ लेखिएको थियो । मध्यरातमा सालिक कसले स्थापना गरेको रहेछ भन्ने केही खुलेको थिएन । लगत्तै उनले फोटो खिचे र फेसबुकमा पोस्ट गरे । उनले फोटोको विवरण राख्दै लेखेका थिए । ‘राति सुत्दासम्म केही थिएन । बिहानै उठ्दा यस्तो देखियो । जसले यो काम गरे साँच्चै राम्रो गरे ।’

त्यतिन्जेल चोक वरिपरिका अरू मानिस पनि ब्युँझिए । चोकको बाटो भएर तलमाथि गर्नेहरू पनि झुम्मिए । हिजोसम्म केही नभएको चोकमा एकाबिहानै जयपृथ्वीको सालिक ठडिएको देखेर सबै छक्क पर्थे । कसले स्थापना गरेको हो भन्ने थाहा नपाए पनि सालिक स्थापना गर्नेलाई धन्यवाद दिँदै सामाजिक सञ्जालहरूमा फोटो पोस्ट गर्नेक्रम बढ्दै थियो । यो क्रम बझाङमा मात्रै सीमित भएन । जिल्ला बाहिर र देश बाहिर रहेकाहरू पनि सालिक स्थापना भएको खुसियालीमा स्टाटसहरू पोस्ट गर्न थाले । एकाएक सञ्जालका भित्ताहरू जयपृथ्वीको सालिकका तस्बिरले रंगिए ।

‘स्वदेशे पुज्येत राजा विद्वान् सर्वत्र पुज्येत’ भन्दै अमेरीकाबाट विष्णु जोशीले लेखेका छन्, ‘राणाशासकहरू आफ्ना सन्तानलाई पढ्न दार्जिलिङ र बेलायत पठाउँथे तर जनताका लागि स्कुल खोल्न पनि रोक लगाउँथे । त्यो जमानामा जयपृथ्वीले आफ्नो श्रीपेच दाउमा राखेर जनता पढाए । त्यसैले त कैयौं निरंकुशका सालिक ढलिरहँदा जयपृथ्वीका सालिक सम्मानका साथ ठडिइरहेका छन् ।’

बझाङमा जयपृथ्वीको नाम उच्च सम्मानका साथ स्मरण गरिन्छ । मानवताको सन्देश बोकेर जिल्लामात्रै नभएर विश्व भ्रमण गरी नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउने, शिक्षा, कानुन, सार्वजनिक सेवालाई जनमुखी बनाउन प्रयास गर्ने र थुप्रै सामाजिक सुधारका काम गरेका जयपृथ्वीलाई राष्ट्रिय विभूति घोषणा गरिनुपर्छ भन्ने आवाज बेलाबेला उठ्ने गर्छ । बझाङमा पनि उनकै नाममा जयपृथ्वी नगरपालिकाको नामकरण गरिएको छ । देशले नै गौरव गर्ने व्यक्ति जन्मेको जिल्लामा उनको एउटा सालिकसमेत नरहेको भन्दै आलोचना हुँदै आएको सन्दर्भमा सदरमुकामको मुख्यचोकमा राखिएको अर्धकदको जयपृथ्वीको सालिकले सबैलाई खुसी बनाएको छ ।

एकाबिहानै जिल्लावासीलाई खुसीको खबर सञ्चार गर्ने यो सालिक यही चोकमा भने चार दिनमात्रै रहनेछ । यो सालिक बझाङ्गी भाषाको चलचित्र छायांकन टोलीले स्थापना गरेको हो । पहिलो पटक बझाङ्गी भाषामा बन्न लागेको चलचित्र (नाम सार्वजनिक भएको छैन) छायांकनको कथावस्तुका आधारमा नगरपालिकाको अनुमति लिएर चार दिनका लागि मात्रै यहाँ सालिक राखिएको चलचित्रका कलाकार नीलगगन रोशन सिंहले जानकारी दिए ।

‘हामीले बझाङी भाषाको पहिलो चलचित्र बनाउँदै गर्दा बझाङ चिनाउने राम्रो कुरा के हुन सक्ला भनेर खोजिरहेका थियौं । जयपृथ्वी चै छुटाउनु हुन्न भन्ने भएर उहाँको सालिक नजिक छायांकन गर्ने योजना बनायौं तर जिल्लामा सबैले देख्ने ठाउँमा उहाँको सालिक नै रहेनछ,’ चलचित्रका निर्देशक प्रविन रोकायाले भने, ‘अनि आफ्नै लगानीमा सालिक बनाएर त्यहाँ स्थापना गरेका हौं ।’ उनले फिल्म छायांकन हुन्जेल सालिक अहिले भएको ठाउँमा राखिने र त्यसपछि नगरपालिकासँग समन्वय गरेर अर्को उपयुक्त ठाउँमा सारिने बताए ।

जयपृथ्वी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मंगलबहादुर शाहीले कलाकारहरूले सालिक निर्माण गरेकोमा धन्यवाद दिँदै उपयुक्त स्थानमा स्थायी रूपमा सालिक स्थापना गर्न नगरपालिकाले पहल गर्ने बताए । ‘चोकमा ठाउँ साँघुरो भएकाले उपयुक्त हुँदैन । त्यसैले खुलामञ्च वा अन्य कुनै सार्वजनिक ठाउँमा सालिक राख्ने सोच बनाएका छौं । यसका लागि नगरपालिकाले आवश्यक व्यवस्थापन गर्नेछ ।’ स्थानीयले अहिले राखिएकै ठाउँमा कम स्थान लिने प्रविधिको प्रयोग गरेर सालिक स्थापना गरिनुपर्ने बताएका छन् ।

प्रकाशित : आश्विन २१, २०७८ १३:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?