कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

राजमार्गमा पहिरो र खाल्डाखुल्डीको धराप

अर्जुन शाह

धनगढी — प्रदेशका ७ पहाडी जिल्ला आवतजावत गर्ने लाइफाइनका रुपमा रहेको धनगढी–डडेलधुरा जोड्ने भीमदत्त राजमार्गका दर्जन बढी स्थानमा पहिरो खसेको छ । कतिपय स्थानमा सडक भासिएर यात्रा गर्नै जोखिम छ ।

राजमार्गमा पहिरो र खाल्डाखुल्डीको धराप

गोदावरीको उकालो सुरु हुने बित्तिकैदेखि खाल्डाखुल्डी, ठाउँठाउँमा भासिएको र पहिरो खसेर ‘धराप’ बनेको सडकमा गाडी चलाउनुपर्ने अवस्था छ । पहाडी जिल्लालाई प्रदेश राजधानी र तराईसँग जोड्ने यो सडकमा दैनिक सरदर ५ सयभन्दा बढी ढुवानी तथा यातायातका साधनहरू ओहोरदोहार गर्छन् ।

घुमाउरो तथा उकालो–ओरालो रहेको धनगढी–डडेल्धुरा राजमार्ग अत्यधिक संख्यामा दुर्घटना भइरहने सडक हो । विगतमा भएका दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा मृतकका परिवारले दुर्घटनास्थल रहेको सडक छेउमा बनाइएका करिब २ सय मृत्युस्तम्भले उसै पनि यात्रीहरूको मन झस्काइरहन्छ । त्यसैमा खाल्डाखुल्डी र भासिएकै सडकमा यात्रा गर्नुपर्दा यात्री थप सशंकित हुने गरेका छन् ।

एक वर्षअघि गोदावरीभन्दा ३ किलोमिटर अगाडिको उकालोमा झण्डै ५० मिटर सडक भासिएको छ । त्यस ठाउँमा अस्थायी रुपमा एकतर्फी सडक खुलाइएको छ । तर अहिलेसम्म मर्मत हुन सकेको छैन । ‘धनगढी–डडेलधुरा खण्डको एक दर्जन बढी स्थानमा यस्तै अवस्था छ,’ यातायात व्यवसायी डबलबहादुर राउतले भने । सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख नरेन्द्र भट्टले त्यस ठाउँमा मर्मतका लागि डेढ करोड रकम विनियोजन गरिएको बताए । गत वर्ष नै मर्मतका लागि बजेट माग गरिएको भए पनि संघीय सरकारले चालू आर्थिक वर्षमा मात्रै रकम छुट्याएकोले काम अघि बढाउने तयारी भइरहेको उनको भनाइ छ ।

वर्षाको समयमा खसेको पहिरो र सडक भासिएकाले दुर्घटनाको जोखिम बढेको व्यवसायीहरू बताउँछन् । ढुवानी व्यवसायी रघुनाथ जैशीले मालबाहक र ठूलो आकारका यात्रुवाहक साधनहरूलाई अझ बढी जोखिम रहेको बताए । प्रदेशकै मुख्य राजमार्ग बिग्रेकोमा वर्ष दिनसम्म मर्मतसुधार नहुनु अनौठो भएको यात्रुहरू बताउँछन् । ‘अब त झन् चाडवाडको बेला आयो, आवतजावत पनि बाक्लो हुन्छ,’ डोटीका सूर्यप्रसाद ओझाले भने, ‘मुख्य राजमार्ग खण्ड त सुधार हुनु पर्ने हो ।’

दसैं–तिहार नजिकिएकाले सडकमा सवारी साधनको चाप बढेको छ । चाडपर्व मनाउनका लागि भारतमा रोजगारीमा रहेका नेपालीहरू घर फर्किने क्रम बढेको छ । सुदूरपश्चिम ट्राफिक प्रहरी प्रमुख एसपी वामदेव गौतम पनि चाडबाडमा बढी सवारी साधन आवतजावत गर्ने भएकाले सडक भासिएकाले दुर्घटनाको उच्च जोखिम रहेको औंल्याउँछन् । सडक डिभिजन कार्यालय महेन्द्रनगरले पहिरोले क्षति पुर्‍याएको तथा भासिएको गोदावरीदेखि फल्टुडेसम्मको विभिन्न ठाउँको सडक मर्मतका लागि झण्डै पाँच करोड बराबरको बजेट विनियोजन गरेको जनाएको छ । टेण्डर भएर दसैंतिहारपछि मर्मतको काम सुरु हुने कार्यालय प्रमुख भट्ट बताउँछन् ।

प्रकाशित : आश्विन १९, २०७८ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?