कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मेसिन थन्क्याएर हातैले जाँच

पार्टपुर्जा नपाएको र जनशक्ति अभाव रहेको भन्दै ३ वर्षदेखि गड्डाचौकी भन्सारको एक्सरे मेसिन प्रयोगविहीन
भवानी भट्ट

कञ्चनपुर — नेपाल–भारत सीमानाका गड्डाचौकीमा जडान गरिएको एक्सरे मेसिन प्रयोगविहीन बनेको छ । चार वर्षअघि गड्डाचौकी भन्सार कार्यालयले भारतबाट आउनेले बोकेका झोला तथा ल्याएका सामग्री जाँच गर्न भन्दै जडान गरेको उक्त मेसिन ३ वर्षदेखि प्रयोगमा छैन । पूर्व–पश्चिम राजमार्गछेउमै रहेको भन्सार कार्यालयको चेकपोस्टमा राखिएको एक्सरे मेसिन धुलाम्मे बनेको छ । लामो समयदेखि प्रयोग नहुँदा जीर्णसमेत भएको छ ।

मेसिन थन्क्याएर हातैले जाँच

२०७४ मा झन्डै एक करोड रुपैयाँभन्दा बढी खर्चेर एक्सरे मेसिन जडान गरिएको थियो । मेसिन जडानपछि भारतबाट घर फर्किने नेपाली कामदार र दैनिक उपभोग्य सामग्री किन्न सीमावर्ती भारतीय बजार जानेहरूको जाँचमा सहज हुने अनुमान गरिएको थियो । त्यहीअनुसार करिब एक वर्षसम्म सेवा पनि दिइयो । तर मेसिन चलाउन सक्ने दक्ष जनशक्तिको अभाव र लामो समयदेखि बन्द हुँदा बिग्रेका कारण सञ्चालनमा ल्याउन नसकिएको भन्सार कार्यालय बताउँछ । तर मेसिन मर्मत गरी सञ्चालनमा ल्याउन पहल गरिएको छैन ।

भारतमा सास्ती खेपेर आएका नेपाली कामदारहरूले स्वदेशमा समेत जाँचका नाममा दुःख पाइरहेको कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले बताए । ‘यात्रुहरूलाई झोला खोल्नुपर्ने, एक–एक गरेर सामान जाँच गराउनुपर्ने झन्झट हुन्छ,’ मल्लले भने, ‘एक्सरे मेसिनले त्यो झन्झटबाट मुक्ति दिलाउँछ । जतिसक्दो छिट्टै मेसिन सञ्चालनमा ल्याउन जरुरी छ ।’ एक्सरे मेसिन सञ्चालनमा आए नाकामा खटिने कर्मचारीलाई काम गर्न सहज र छिटो हुने उनको भनाइ छ ।

दसैंतिहार नजिकिएसँगै घर फर्किने नेपालीहरूको नाकामा भीड बढेको छ । उनीहरूलाई सशस्त्र प्रहरी, प्रहरी र भन्सार कार्यालयले छुट्टाछुट्टै स्थानमा जाँच गरिरहेको छ । एक्सरे मेसिन सञ्चालन भए एक स्थानमा मात्रै जाँच गरे पुग्छ । यात्रुहरूलाई अनावश्यक झन्झट हुने थिएन । तर भन्सार कार्यालयले भने बिग्रिएको पार्टपुर्जा नपाउँदा समस्या भएको जनायो ।

गड्डाचौकी भन्सार कार्यालय प्रमुख मीमान्स अधिकारीले केही समय कोरोना महामारीका कारण र पछिल्लो समय मेसिन बिग्रेका कारण सञ्चालनमा आउन नसकेको बताए । उनले २०७६ चैतदेखि लकडाउन भएसँगै नाका बन्द रहेको र त्यसयता पनि कोरोना संक्रमणकै कारण आवागमन कम भएका कारण मेसिन प्रयोगमा नआएको बताए । ‘सप्लायर्ससँग मर्मतका लागि भनेका छौं, केही पार्टपुर्जा नपाएर मर्मत हुन सकेको छैन,’ उनले भने, ‘मर्मत भएपछि सञ्चालनमा ल्याउने छौं ।’ उनले भन्सार कार्यालयमा एक्सरे मेसिन सञ्चालन गर्ने प्राविधिक जनशक्तिको समेत अभाव रहेको बताए ।

यसैबीच, गड्डाचौकी भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यभन्दा १ सय ४ प्रतिशत बढी राजस्व संकलन गरेको छ । ०७७/७८ मा ३५ करोड ६८ लाख राजस्व संकलनको लक्ष्य पाएको भन्सार कार्यालयले ३७ करोडभन्दा बढी संकलन गरेको हो । चालु आर्थिक वर्षमा ५० करोडभन्दा बढी राजस्व संकलनको लक्ष्य पाएको छ । सुरुमा ४२ करोड लक्ष्य पाएको थियो भने गत आवमा लक्ष्यभन्दा बढी संकलन भएपछि संशोधन गरेर लक्ष्य बढाइएको थियो ।

प्रकाशित : आश्विन १९, २०७८ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?