कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

बित्थडचिरमा होल्डिङ सेन्टर स्थापना गरिने

‘कोरोना परीक्षण गरेर मात्रै जिल्ला प्रवेश गराउने व्यवस्था गर्न सकियो भने सिंगो जिल्ला नै सुरक्षित हुन्छ’
वसन्तप्रताप सिंह

बझाङ — कोभिडलगायत सम्भावित महामारीबाट जिल्लालाई बचाउन बझाङ प्रवेश गर्ने मुख्य नाका बित्थडचिरमा होल्डिङ सेन्टर स्थापना गरिने भएको छ । बित्थडचिर गाउँपालिकाले परीक्षण सुविधासहितको होल्डिङ सेन्टर स्थापना गर्न जिल्ला कोभिड संकट व्यवस्थापन समिति र अन्य सरोकारवालासँग पहल गर्ने निर्णय गरेको हो । 

बित्थडचिरमा होल्डिङ सेन्टर स्थापना गरिने

बित्थडचिर गाउँपालिकाका जनप्रतिनिधि तथा स्थानीय नागरिक अगुवाहरूको बैठकले कोरोना महामारीको संकट अझै टरिनसकेकाले बाहिरबाट जिल्ला प्रवेश गर्ने व्यक्तिहरूलाई नाकामा परीक्षण गरेर मात्रै घर पठाउने व्यवस्था गर्न होल्डिङ सेन्टर स्थापना गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष प्रेम बोहराले बताए । ‘कोरोनामात्रै नभएर भविष्यमा आउने अन्य सम्भाव्य महामारीको नियन्त्रण गर्ने कुरालाई पनि ध्यान दिएर होल्डिङ सेन्टर निर्माणका लागि पहल गर्ने निर्णय गरेका हौं,’ गाउँपालिका अध्यक्ष बोहराले भने, ‘जिल्ला प्रवेश गर्ने गेटमै कोरोना परीक्षण गरेर मात्रै जिल्लाभित्र प्रवेश गराउने व्यवस्था गर्न सक्यो भने सिंगो जिल्ला नै सुरक्षित हुने भएकाले होल्डिङ सेन्टर आवश्यक छ ।’ उनले नाकामै केहीबेर रोकेर यात्रुहरूको परीक्षण गर्ने र संक्रमण देखिए आइसोलेसनमा राख्ने व्यवस्था गर्न सके जिल्लाका १२ वटै पालिकाहरूले कोभिड नियन्त्रणका लागि आइसोलेसन, क्वारेन्टाइनलगायत झन्झट उठाउन नपर्ने बताए ।

परीक्षण सुविधासहितको होल्डिङ सेन्टर हुँदा पालिकाहरूले क्वारेन्टाइन, आइसोलेसन व्यवस्थापन, कन्ट्र्याक्ट ट्रेसिङ र संक्रमण नियन्त्रणका लागि गरिने अन्य खर्चको भार कम हुनेछ । महामारी नियन्त्रणमा लाग्नुपर्ने जनशक्तिले अन्य काम गर्न पाउने हुँदा नियमित कामकाज र विकास गतिविधि पनि नरोकिने साइपाल विकास समाजका अध्यक्ष कविन्द्र खड्काले बताए । ‘बित्थडचिर गाउँपालिकाले होल्डिङ सेन्टर स्थापना गर्ने महत्त्वपूर्ण निर्णय गरेको छ,’ उनले भने, ‘कोरोना मात्रै नभएर अन्य महामारी नियन्त्रणका लागि पनि यो संरचनाले जिल्लालाई सुरक्षित राख्नका लागि ठूलो सहयोग हुनेछ ।’

बित्थडचिर गाउँपालिकाले दसैंतिहार र चाडबाडको मौसमलाई लक्षित गरेर तत्कालका लागि जिल्ला बाहिरबाट आउने गाउँपालिकाका बासिन्दाहरूलाई आरडीटी परीक्षण गरेर मात्रै समुदायमा प्रवेश गर्न दिइने निर्णयसमेत गरेको छ । ‘अहिलेलाई बाहिरी जिल्लाबाट आउने पालिकाभित्रका नागरिकलाई होल्डिङ सेन्टरमा राखेर परीक्षणपछि मात्रै घर पठाउने व्यवस्था गरेका छौं,’ बित्थडचिर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टले भने, ‘जिल्लाभरिका सबैको परीक्षण गर्नका लागि हाम्रै क्षमताले सम्भव नहुने भएकाले यो प्रस्ताव डीसीसीएमसीको बैठकमा राख्छौं ।’ जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकमार्फत सबै पालिका र संघसंस्थाहरूबाट सहयोग जुटाएर जिल्ला भित्रिने सबैको परीक्षण गर्ने सुविधासहितको होल्डिङ सेन्टर सञ्चालनमा ल्याइने र त्यसको व्यवस्थापन बित्थडचिर गाउँपालिकाले गर्ने प्रशासकीय अधिकृत भट्टले बताए ।

कम्तीमा एक हजार जनासम्मलाई व्यवस्थापन गर्ने गरी बित्थडचिर गाउँपालिकामा होल्डिङ सेन्टर बनाउने पहल सुरु भएको र पहिलो चरणमा जग्गा हेर्ने काम पनि भइसकेको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डीसीसीएमसी) का अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले होल्डिङ सेन्टर स्थापनाको लागि प्रदेश र संघ सरकारलाई पनि सहयोगको लागि अनुरोध गरिने बताए । ‘कोभिड महामारी मात्रै नभएर अन्य विपत्का बेला पनि प्रयोगमा आउने खालको बहुउपयोगी होल्डिङ सेन्टर निर्माणका लागि पहल गर्ने सोच बनाएका छौं,’ सीडीओ अधिकारीले भने, ‘आगामी डीसीसीएमसीको बैठकबाट औपचारिक निर्णय गरेर सहयोग जुटाउने काम सुरु गर्नेछौं ।’ उनले होल्डिङ सेन्टरलाई भविष्यमा ठूला सभासम्मेलन गर्नसमेत मिल्ने खालको बनाइने बताए ।

बझाङ जिल्लामा कोभिड– १९ संक्रमणको दोस्रो लहरबाट दुई हजार व्यक्ति संक्रमित भएका थिए भने अहिलेसम्म २५ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । अधिकांश व्यक्ति रोजगारीका लागि भारत जाने भएकाले यो जिल्ला छिमेकी देश भारतमा फैलिने महामारीबाट समेत प्रभावित हुने गरेको छ ।

प्रकाशित : आश्विन १७, २०७८ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?