कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सुधारिँदै अत्तरिया चोक

निर्माण कम्पनी र सडक डिभिजन कार्यालयको सम्झौताअनुसार काम नगरेपछि ढिलाइ
अर्जुन शाह

धनगढी — सुदूरपश्चिमका ७ पहाडी जिल्ला तथा कञ्चनपुरको प्रवेशद्वारका रूपमा रहेको कैलालीको अत्तरिया चोकको मर्मत सुधार र स्तरोन्नति भइरहेको छ । चोकको धुलाम्मे अवस्थाबाट उत्पन्न कुरुपताले सुदूरपश्चिमलाई नै ‘गिज्याइ’ रहेको जस्तो बनाएको थियो । अगाडि पछाडि राम्रो सडक, तर व्यस्त चोकैमुनि खाल्डैखाल्डाको अवस्थाले व्यस्त चोकको परिचय नै धूलाम्मे चोकको बन्न पुगेको थियो ।

सुधारिँदै अत्तरिया चोक

यतिबेला अत्तरिया चोकवरिपरि कालोपत्रेसहित मर्मतको काम सुरु भएको छ । तर पनि ठेक्का पाएको कम्पनीको लापरवाहीका कारण काम पुरा कहिलेसम्म हुने भन्ने ठेगान भने छैन । यही काम पनि गत असारभित्र सम्पन्न हुनुपर्ने हो तर, निर्माण कम्पनी र सडक डिभिजन कार्यालयको सम्झौताअनुसार समयअवधिमा कम्पनीले काम नगरेपछि ढिलाई भएको हो । चोकको सडक क्षेत्रको कालोपत्रेसहित सुधारका लागि ०७७ चैतमा सडक डिभिजन कार्यालय महेन्द्रनगरले एक करोड ६६ लाखको ठेक्का गरेको थियो । भुवन निर्माण सेवा धनगढीले ठेक्का पाएको थियो । ‘मौसमका कारणले रोकियो भने बेग्लै हो, नत्र समयमै सकिन्छ,’ निर्माण कम्पनीका भुवनेश्वर पन्तले भने ।

काम पुरा हुन अनिश्चित भएपनि सुरुआत भएकोमा केही स्थानीय अब त काम पूरा होला कि भन्नेमा उत्साहित देखिएका छन् । ‘अब पनि समयमै काम पुरा गरेन भने ठेकेदार कम्पनीलाई घेर्छौ,’ अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष अशोक देबकोटाले भने । सुदूरपश्चिम प्रदेशसभाको बैठकले २०७५ असोजमा यस प्रदेशको राजधानी गोदावरी नगरपालिकाको तेघरीमा राख्ने निर्णय गरेको थियो । अत्तरिया गोदावरीसँगै जोडिएको सुदूरपश्चिमको व्यापारिक द्वार हो । सुदूरपश्चिमका ७ पहाडी जिल्ला, धनगढी र महेन्द्रनगर यही चौक भएर सडक बाँडिन्छन् ।

धनगढी–अत्तरिया ६ लेनको चिल्लो सडकमा मोटर गुडाउँदै जब अत्तरिया चौराहमा पुग्नेबित्तिकै ‘धुलाम्य चोक’ र दुर्गन्धित वातावरणले हैरान अवस्था व्यहोर्दै आएका स्थानीय चौक सुधार हुने भएपछि उत्साहित भएका छन् । सडक मार्गबाट सुदूरपश्चिममा पहिलो पटक आउने जो कोहीले अत्तरियामा फुटेको सडकबाट उडेको धुलो खेप्नुपर्दा मन्न खिन्न हुने अवस्था थियो । अत्तरिया क्षेत्रका स्थानीयले बारम्बार चौक सुधारका लागि दबाब दिँदै आएका थिए ।

‘प्रदेशको राजधानी तोकिएको गोदावरी नजिकको मुख्य बजार अत्तरिया चोकको धुलाम्मे अवस्थाले बर्षौदेखि टर्चर भइरहेको थियो,’ अत्तरियाका व्यवसायी लक्षीराज आचार्यले भने, ‘चारैतिरबाट हुइँकिएर आउने गाडीहरूले धुलो उडाएर वरपरसमेत उभिन नसक्ने अवस्था छ । वर्षौपछि पिच हुन सुरु मात्र भएपनि केही आशा जागेको छ ।’

राजधानी घोषणा भएपछि अत्तरिया गोदावरी क्षेत्रको चहलपहल झन् बढेको थियो । ब्यापार ब्यवासाय र जग्गाको दररेट पनि पहिलाभन्दा लगभग दोब्बर भएको स्थानीय व्यवसायीले बताए । अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष देवकोटा अत्तरिया क्षेत्रको चहलपल बढेको र जग्गाको भाउ पनि ह्रवात्तै बढेको बताउँछन् । ‘चोक सुधार भएर आकर्षक हुने भएपछि त अत्तरिया सुन्दर देखिने छ र आकर्षण बढ्नेछ,’ देवकोटाले भने, ‘कालोपत्रको गुणस्तरमा ख्याल गर्नुपर्ने भएको छ । ठेकेदारले कमसल काम गर्ने सम्भावना पनि छ ।’

मोहनापुल–अत्तरिया ६ लेन सडक कालोपत्रे भएर अत्तरियासम्म जोडिएपछि १३ किलोमिटरको यात्राले धनगढी–अत्तरियालाई एउटै सहरका रूपमा जोडिसकेको छ । धुलाम्मे सडक त्यसैमा चोकको केन्द्रभागमा राखिएका ठूल्ठूला व्यापारिक विज्ञापनका होर्डिङ बोर्डले चोकलाई झन् कुरुप देखाएको उनले बताए । ‘हामीले नगरपालिकालाई व्यापारिक विज्ञापनका होडिङ बोर्डको ठाउँमा सुन्दर सुदूरपश्चिम झल्काउने पर्यटन र कला संस्कृतिका बोर्डहरू राख्न अनुरोध गर्दै आएको भए पनि सुनुवाई गर्दैनन्,’ देबकोटाले भने ।

प्रकाशित : आश्विन १५, २०७८ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?