१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

अछाममा निमोनियाले थलिए बालबालिका

आर्थिक अवस्था कमजोर भएकाहरुलाई छोराछोरीको उपचार गराउन समस्या
मेनुका ढुंगाना

अछाम — पञ्चदेवल विनायक नगरपालिका–७ पुल्लेतोलाकी ३० वर्षीया नीरा विकको ६ महिने छोरा मंगललाई निमोनिया भएपछि विक दम्पत्ती यतिबेला जिल्ला अस्पताल मंगलसेनमा उपचार गराइरहेका छन् । पुल्लेतोलामा रहेको स्वास्थ्य चौकी र मेडिकलमा ७ दिनसम्म उपचार गराएपछि उनको छोरा मंगललाई सञ्चो भएन ।

अछाममा निमोनियाले थलिए बालबालिका

स्वास्थ्यकर्मीले जिल्ला अस्पताल मंगलसेन रिफर गरे ।‘जिल्ला अस्पताल ल्याएको दुइ दिन भयो । ‘अलिकति सञ्चो भएको छ । डाक्टरले बच्चाको ख्याल गर्न नसकेरै गाह्रो भएको हो भन्छन्,’ निराले भनिन्, ‘गाउ‘को मेडिकलबाट ५ हजारभन्दा बढिको दबाइ किनेर खुवाएका हौं । पैसा जति सबै उतै सकियो । औषधि किन्ने पैसा नपुगेर गाह्रो भएको छ ।’

विक दम्पतीका मंगल आठौं सन्तान हुन् । जेठो छोरा १५ वर्षको भयो । त्यसपछिका सात सन्तानको जन्मान्तर एक वर्षमात्रै छ । निराका श्रीमान्मा वौद्धिक अपाङ्ता छ । परिवार नियोजनबारे आफुले जानकारी पाए पनि प्रयोग नगरेकै कारण बर्षैपिच्छे गर्भवती हुने गरेको उनले बताइन् । ग्रामीण भेगको दलित समुदायका दम्पती छोरालाई सञ्चो भयो भने हिंडेरै फर्किनु पर्ने बाध्यता रहेको सुनाउछन् । ‘आउनेबेला गाडीभाडा मात्रै दुइ जनाको दुई हजार सकियो । जाने बेला पैसा छैन हिंडेर जानुपर्ने छ । घरमा भएका छोराछोरीलाई पनि ज्वरो आएको छ,’ नीराले भनिन् ।

आर्थिक अवस्था कमजोर भएका विक दम्पत्ती जस्तै जिल्ला अस्पतालमा धेरै आमाहरु भाइरल ज्वरो र निमोनिया भइ उपचार गराइरहेका आफ्ना बालबालिकाको कुरुवा बसेका छन् । जिल्ला अस्पतालमा बिरामीको चाप बढेपछि एकै बेडमा दुई जना बिरामी राखेर उपचार गर्नुपर्ने बाध्यता स्वास्थ्यकर्मीलाई छ । मंगलसेन नगरपालिका–४ की सेतु नेपाली २ वर्षीया छोरी आयुष्मालाई निमोनिया भएपछि दुई दिनदेखि जिल्ला अस्पतालमा उपचार गराइरहेकी छिन् । ‘३ दिन अगाडीदेखि छोरीलाई श्वास फेर्न गाह्रो, खोकी लाग्ने र कोखा हान्ने भएपछि बुधबार जिल्ला अस्पताल ल्याएकी हुँ, ’ उनले भनिन्, ‘अस्पताल ल्याउना साथ जाँच गरेपछि डाक्टरले धनगढी लैजाउ भनेर रिफर गरे । मेरा श्रीमान् बम्बै छन् । मसँग न साथमा जाने मान्छे छन्, न पैसा छ । यतै राखि दिनुहोस् भर्ना गरिदिनुस् भनेर यतै राखिएको छ ।’

कोरोनाको संक्रमणका कारण घर आएका श्रीमान् एक महिनाअघि मात्र भारत गएकाले तुरुन्त आउन नसकेको सेतुले बताइन् । ‘आफूसँग पैसा छैन । ससुरा मात्रै छन घरमा । लैजानुस् भन्दा पनि यतै राख्नुपर्ने बाध्यता छ । धनगढी लैजान ५० हजार कम्तीमा पैसा चाहियो,’ उनले सुनाइन् ।

ढकारी गाउँपालिका–७ ढुंगाचाल्नाकी बिस्नादेवि बुढाले पनि २ महिनाको छोरा हेमन्तलाई कडा निमोनिया देखिएपछि जिल्ला अस्पताल मंगलसेन ल्याएकी छन् । ‘७ दिनसम्म गाउ‘को मेडिकलमा लिएर औषधि किनेर खुवाए । तर सञ्चो भए,’ बिस्नाले भनिन्, ‘अहिले जिल्ला अस्पतालमा राखेर उपचार भइरहेको छ । गाउँमा त केहि उपचार नै हुँदैन । सानोतिनो रोग लागे पनि यतै आउनुपर्छ । आर्थिक अवस्था कमजोर भएकालाई उपचार गराउन समस्या भएको छ ।’

एक महिनायता अछाममा बालबालिकामा निमोनियाको प्रकोप देखिएको जिल्ला अस्पतालका डाक्टर अतुल भारद्वाज बताउ‘छन् । गाउ‘मा रहेका स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि दुर्गम गाउँबाट सदरमुकाम मंगलसेनमा रहेको जिल्ला अस्पतालमा आउनेको घुइँचो छ । १५ शय्याको जिल्ला अस्पतालमा बिहीबारसम्म ४३ बिरामी भर्ना भएकामध्ये २४ बालबालिका रहेको उनले बताए ।

अस्पतालमा बिरामीको चाप बढे पनि डाक्टरहरु भने तालिममा जॉदा समस्या छ । ‘६ जना डाक्टरमध्ये ४ जना तालिममा छन् । स्वास्थ्यकर्मीको अभाव छ । भर्ना भएका बिरामीको रेखदेख गर्न गाह्रो भएको छ,’ डा. भारद्वाजले भने, ‘कोरोना संक्रमणको बेला जस्तापाताको आइसोलेसन वार्ड बनाइएको थियो । अहिले भर्ना भएका बिरामीलाई त्यतै राखिएको छ । मौसम बदलिएको कारण बालबालिकामा बढी असर देखिएको छ ।’ सुरुमा बिरामी हुँदा मेडिकलमा लैजाने, सञ्चो नभएपछि मात्रै जिल्ला अस्पताल आउने बिरामीको संख्या धेरै भएको उनले बताए ।

प्रकाशित : आश्विन १४, २०७८ १९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?