पालिकाका कार्यालय भाडाका घरमा- सुदूरपश्चिम - कान्तिपुर समाचार

पालिकाका कार्यालय भाडाका घरमा

मेनुका ढुंगाना

अछाम — स्थानीय तहको निर्वाचन भएको पाँच वर्ष पुग्न लागेको छ । तर अछामका स्थानीय तह र वडा कार्यालयका आफ्ना छुट्टै भवन नहुँदा कार्यसम्पादनमा समस्या भएको छ । स्थानीय तहका कार्यालयहरू भाडाकै घरमा सञ्चालन छन् ।

वडा कार्यालय गाउॅका साँघुरो भाडाको घरबाट सञ्चालन भइरहेका छन् । आफ्नो भौतिक संरचना नभएपछि जिल्लाका मंगलसेन नगरपालिका, साँफेबगर नगरपालिका र मेल्लेख गाउॅपालिका बाहेक अन्य ७ स्थानीय तहका कार्यालय भाडाको घरमा कार्यालय सञ्चालन गर्न बाध्य छन् । जनप्रतिनिधिको पहिलो प्राथामिकतामा सवारी साधन, सडक निर्माण अन्य योजना परेकाले गाउँपालिका, नगरपालिका र वडा कार्यालयका भवनलगायतका पूर्वाधार निर्माणमा ध्यान जान नसकेको स्थानीयको भनाइ छ ।

साविकका गाउॅ विकास समितिका कार्यालय भएका वडामा केही स्थानमा वडा कार्यालय निर्माण सुरु भएका छन् भने धेरै वडा कार्यालय भाडाको घरमा छन् । गाउॅमा कार्यालयलाई उपयुक्त हुने घर नहुॅदा काम चलाउ वडा कार्यालयबाट पालिकाको दैनिक कार्य सञ्चालन भइरहेको हो । गाउॅमा कोही मानिस आउँदा वडा कार्यालयमा बस्ने ठाउॅसमेत नभएको पञ्चदेवल विनायक नगरपालिका–१ की जीवना रेग्मी बताउँछिन् । ‘बाहिरका मान्छे वडासम्म काम विशेषले छलफलका लागि आउँदा आफैंलाई लाज लाग्छ । बस्ने ठाउँसमेत हुॅदैन,’ उनले भनिन् ‘कहिलेकाही गाउॅका महिलाले बाहिरबाट मान्छे आएको थाहा पाउॅदा स्थानीयले सञ्चालन गरेको सहकारीको हल दिन्छौं ।’

गाउँमा आवश्यक नभएको ठाउँमा जथाभावी सडक निर्माण गरेर बजेट सक्नुभन्दा वडा कार्यालय बनाउनुपर्ने उनको भनाइ छ । ‘कच्ची घरको धुलोले कार्यालयका सामान पनि लामो समय टिक्न सकेका छैनन् न त कार्यालय नै व्यवस्थित छ । झुपडीमा कार्यालय सञ्चालन भइरहेको छ’ उनले भनिन् ।

भवनलगायत पूर्वाधार अभावले वडाबाट सेवाग्राही आउँदा भीड हुने, चुस्त सेवा दिन गाह्रो हुने गरेको पञ्चदेवल विनायक–१ का वडाध्यक्ष लक्ष्मिकान्त देवकोटा बताउँछन् । कार्यालय सञ्चालन गर्ने पूर्वाधार नहुँदा जनताले अपेक्षा गरेअनुसार जोस, जाॅगरले काम गर्न कठिनाइ भएको देवकोटाले बताए । ‘कार्यालयमा उभिने ठाउँ नै हुॅदैन’ उनले भने, ‘वडा कार्यालय निर्माणको लागि जग खन्ने काम पोहोर साल नै भएको हो । केही स्थानीयले विवाद गरेर वडा कार्यालय निर्माणको काम अघि बढ्न सकेको छैन ।’ जनप्रतिनिधिले काम गरेनन् भनेर मात्रै दोष दिने गरेको र स्थानीयबाट सहयोग नभएको उनले बताए ।

प्रकाशित : आश्विन ११, २०७८ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्

विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज २ घण्टापछि काठमाडौंमै अवतरण [तस्बिरहरू]

ल्यान्डिङ गियर नखुल्दा करिब २ घण्टा आकाशमै
सुरज कुँवर

काठमाडौँ — काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको एटीआर जहाज ल्यान्डिङ गियर(पाङ्ग्रा) नखुल्दा झन्डै दुई घण्टापछि काठमाडौंमै अवतरण गरिएको छ । ८ बजेर ३३ मिनेटमा काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको अल्फा नोभेम्बर इन्डिया जहाज विराटनगरको आकाशमा दुई फन्को लगाएर काठमाडौं फर्किएको हो ।

बायाँपट्टिको ल्यान्डिङ गियरमा समस्या देखिएपछि काठमाडौं फर्किनु परेको बुद्ध एयरले जनाएको छ । काठमाडौंको आकाशमै झन्डै १० फन्को लगाएको उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १० बजेर १६ मिनेटमा सुरक्षित रुपले अवतरण गरिएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए । काठमाडौंको आकाशमा उक्त जहाज २४ मिनेट होल्ड गरिएको थियो ।

तस्बिरहरू : क्याप्टेन विवेक खड्का

यो जहाजलाई काठमाडौंमा अवतरण गराउन आधा घण्टा विमानस्थल बन्द गरिएको थियो । अल्टिच्युड एयरका क्याप्टेन विवेक खड्काले हेलिप्याडबाट उक्त जहाजको तस्बिर खिचेर टावरलाई ल्यान्डिङ गियर खुलेको जानकारी गराएका थिए ।

त्यस्तै काठमाडौंको टावरबाट बुद्ध एयरका क्याप्टेन र इन्जिनियरले दूरबिनबाट जहाजको ल्यान्डिङ गियर खुले/नखुलेको हेरेका थिए । दूरबिनबाट पनि गियर खुलेको देखिएपछि जहाजका चालकलाई अवतरण गर्न सल्लाह दिइएको थियो । आकस्मिक अवतरण गर्नुपर्ने सम्भावनालाई मध्यनजर गर्दै इन्धन घटाउन जहाजले काठमाडौंमा धेरै पटक फन्को लगाएको थियो ।

साथै आकस्मिक अवतरणको तयारीस्वरूप विमानस्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना दमकलसहित उपस्थित थिए । तर आकस्मिक अवतरण नभई 'एसुरेन्स ल्यान्डिङ' भएको बुद्ध एयरले जनाएको छ । टावरबाट ल्यान्डिङ गियर खुलेको र सुरक्षित तरिकाले अवतरण गर्न सक्ने सुनिश्चित गरिएपछि चालकले जहाज अवतरण गराएका थिए ।

उक्त जहाज क्याप्टेन एजी शेर्पाले उडाएका थिए । जहाजमा ३ शिशु, २ बालबालिकासहित ७३ यात्रु र चालकदलका ४ सदस्य गरि ७७ जना थिए । विमानस्थलमा यात्रुहरूको स्वास्थ्य जाँच गरिने र त्यसपछि अर्को जहाजमा विराटनगरमा पठाइने विमानस्थल कार्यालयले जनाएको छ ।

बुद्ध एयर आजको घटनाको छानबिनका लागि समिति बनाउने भएको छ । समितिले अनुसन्धानपछि आफ्नो रिपोर्ट नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाउनेछ । त्यस्तै प्राधिकरणले पनि छुट्टै छानबिन गर्नेछ ।

यसैबीच सोमबार पोखराका लागि उडेको बुद्ध एयरकै अर्को जहाज गोरखाको मनकामनामाथि पुग्दा इन्डिकेटरमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्किएको थियो ।

प्रकाशित : आश्विन ११, २०७८ १०:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×