परिवार सूचीकरणमा ११७ सुपरिवेक्षक- सुदूरपश्चिम - कान्तिपुर समाचार

परिवार सूचीकरणमा ११७ सुपरिवेक्षक

सुपरिवेक्षकले २० वटा प्रश्नावली भरेर परिवारको सूचीकरण गर्नेछन्
भवानी भट्ट

कञ्चनपुर — यस पटकको जनगणनामा परिवार संख्या र वित्तीय पहुँचको अवस्थाबारे पनि तथ्यांक संकलन हुँदै छ । असोज पहिलो सातादेखि सुरु जनगणनामा पहिलो पटक उक्त विषय समावेश हुन लागेको हो । यतिबेला सुपरिवेक्षकहरू घरघरमा परिवारको विवरण संकलनमा खटिएका छन् । सुपरिवेक्षकले २० वटा प्रश्नावली भरेर परिवारको सूचीकरण गर्नेछन् ।

परिवारको सूचीकरण गर्दा घरको अवस्था र प्रयोजन, परिवार संख्या, जमिनको अवस्था, वित्तीय पहुँचको अवस्था र प्राविधिक शिक्षाको अवस्थाबारे विवरण संकलन गरिनेछ । असोज ३ देखि १८ सम्म परिवारको सूचीकरण चलिरहेको छ । त्यसकै आधारमा गणकहरू परिचालन गरेर मुख्य गणना सुरु हुनेछ । अहिले कञ्चनपुरलाई ५ वटा इलाका जनगणना केन्द्रमा विभाजन गरी सुपरिवेक्षणको काम भइरहेको छ । २५० देखि ३ सय परिवारसम्म एक गणना क्षेत्र निर्धारण गरिएको छ । ४ गणना क्षेत्र बराबर एक सुपरिवेक्षण क्षेत्र निर्धारण गरिएको छ । अहिले कञ्चनपुरमा ११७ सुपरिवेक्षक परिवार सूचीकरणका लागि खटिएका छन् । ‘परिवार सूचीकरण सकिएपछि मुख्य गणना सुरु हुनेछ,’ जिल्ला जनगणना अधिकारी गोविन्दप्रसाद न्यौपानेले भने, ‘पहिले परिवार तथा वित्तीय पहुँचको अवस्थाबारे गणना हुँदैन्थ्यो, यस पटक त्यो पनि हुँदै छ ।’ २०६८ को जनगणनाअनुसार कञ्चनपुरमा ८० हजार घरधुरी छन् ।

यस पटक उक्त संख्या १ लाखभन्दा बढी पुग्ने अनुमान गरिएको छ । तिनकै आधारमा सुपरिवेक्षकहरू परिचालन गरिएको छ । अहिले गणकहरूको पनि छनोट चलिरहेको छ । यस पटकको गणनामा रोजगारीका लागि भारत जानेको तथ्यांक पनि संकलन गरिने जनगणना अधिकारी न्यौपानेले बताए । उनका अनुसार परिवारको आय आर्जनको अवस्था र रोजगारीका लागि बिदेसिएकाहरूको समेत तथ्यांक संकलन हुने भएकाले त्यसमा भारत गएकाहरूमा समेत विवरण संकलन गरिनेछ । यसले रोजगारीका लागि भारत जानेको तथ्यांक उपलब्ध गराउनेछ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशबाट अहिले पनि ठूलो संख्यामा रोजगारीका लागि भारत जाने परम्परा छ । हालसम्म भारतमा रोजगारी गर्नेको तथ्यांकबारे सरकारसँग कुनै तथ्यांक छैन । यति मात्रै होइन भारतमा मजदुरी गएका कतिपय वर्षौंदेखि बेपत्ता छन् । उनीहरूको तथ्यांक मात्रै होइन अवस्थाबारे पनि सरकार बेखबर छ । भारत गएकासँगै बेपत्ता भएकाहरूको पनि तथ्यांक संकलन हुन सके अझ राम्रो हुने स्थानीय बताउँछन् ।

परिवार सूचीकरणको काम सकिएपछि कात्तिक २५ देखि मंसिरसम्म मुख्य जनगणनाको काम सुरु हुनेछ । यसका लागि ८० वटा प्रश्न तयार पारिएका छन् । ‘मुख्य गणनामा प्रत्येक व्यक्तिलाई भेटेरै प्रश्नावली भर्नुपर्ने छ,’ दोधारा–चाँदनीका स्थानीय जनगणना अधिकारी उपेन्द्र मिश्राले भने, ‘यसमा जन्म, मृत्यु, बसाइ सराइदेखि स्वदेश तथा विदेशमा रहेकाहरूको अवस्था, उमेर समूह र आर्थिक क्रियाकलाप सबै विवरण संकलन गरिनेछ ।’

यति मात्रै होइन खानेपानीको पहॅुँच, शिक्षाको अवस्था र अपांगता भएका व्यक्तिहरूको विवरणसमेत मुख्य गणनामा समेटिनेछ । तथ्यांकको सामान्य विवरण पारिवारिक सूचीकरणबाटै आउन सक्ने भए पनि पूर्ण तथ्यांक भने मुख्य गणनापछि मात्रै आउने जनगणना अधिकारी न्यौपानेले बताए । २०६८ को गणनाअनुसार कञ्चनपुरको जनसंख्या तथ्यांक ४ लाख ५१ हजार छ । यस पटक उक्त तथ्यांक ५ लाख नाघ्ने अनुमान छ ।

प्रकाशित : आश्विन १०, २०७८ १२:००
प्रतिक्रिया
पठाउनुहोस्

मौरीपालनबाट आम्दानी

सबै खर्च काटेर वार्षिक ४ देखि ६ लाखसम्मको फाइदा हुने किसानको अनुभव
तृप्ति शाही

बैतडी — बैतडीमा मौरीपालन व्यवसायबाट कृषकहरू मनग्य आम्दानी गर्दै आएका छन् । जिल्लामा आधुनिक र परम्परागत मौरीपालन व्यवसाय गरिरहेका किसानहरूको राम्रो कमाइ हुने गरेको हो ।

दशरथचन्द नगरपालिका–५ पल्लाचौडालीका वासुदेव भट्टले २०५९ बाट मौरीपालन गर्न सुरु गरेका थिए । १ घारबाट मौरी पाल्न सुरु गरेका उनीसँग अहिले ३ सय हाराहारीमा मौरीका घार छन् । उनी महसँगै मौरीको घार पनि बेच्छन् ।

मौरीपालनबाट हुने आम्दानीमा सन्तुष्ट रहेका भट्टले भने, ‘लगानी कम लाग्ने र आम्दानी धेरै हुने व्यवसाय हो यो ।’ घर खर्च गरेर वार्षिक ८ लाख बढी बचत हुने गरेको उनले बताए । धेरै मेहनत पनि गर्न नपर्ने व्यवसायबाट यति आम्दानी हुनु भनेको आफूहरूका लागि धेरै सहज काम भएको उनको भनाइ थियो ।

सोही ठाउँका सुदर्शन लेखकले मौरी पालन व्यवसाय गर्न थालेको २० वर्ष भयो । यो अवधिमा धेरै राम्रो कमाइ भएको उनले बताए । सुरुमा १ घारबाटै मौरीपालन सुरु गरेका उनीसँग अहिले १ सय घार मौरी छन् । खटिएर गर्न सक्ने हो भने मौरीपालन व्यवसायमा राम्रो भएको उनको अनुभव छ । सबै खर्च काटेर वार्षिक ४ देखि ६ लाखसम्मको फाइदा हुने गरेको उनले बताए । लगानी थोरै भए पनि आम्दानी धेरै हुने भएकाले मौरीपालन व्यवसायबाट किसानहरू खुसी रहेको उनको भनाइ थियो ।

गाउँमा प्रशस्त चिउरीका रूखहरू भएकाले कृषकलाई चरनको पनि समस्या छैन । उनीहरूले मौरी चराउनकै लागि गाउॅबाट अन्त लैजानुपर्ने अवस्था छैन । कृषक भट्टले भने, ‘गाउँ छोडेर धेरै मान्छे तराई झरेपछि गाउॅमा जंगल विस्तार भएको छ । मौरीका लागि उपयुक्त बोटबिरुवाहरू गाउँमै छन् । त्यसैले चरनका लागि समस्या छैन ।’ आफूहरूले यो वर्ष ३३ सय बोट चिउरीका वृक्षरोपण गरेको पनि उनले बताए । अहिले यो व्यवसायबाट आम्दानी राम्रो भएपछि गाउँमा एक सहकारी नै दर्ता गरेर मौरीपालन व्यवसाय सुरु गरेको उनले बताए । ४ सय ६८ जना सदस्य आबद्ध रहेको सहकारीका ४ सय कृषकले मौरीपालन व्यवसाय सुरु गरेका उनले बताए ।

मौरीपालन गरिरहेका सबै कृषकहरूले राम्रो आम्दानी गरिरहेका कृिष ज्ञान केन्द्र बैतडीले जनाएको छ । जिल्लामा ३ हजार ७५० आधुनिक मौरी घारहरू छन् । परम्परागत मुडे र खोपे घारहरू ८ हजार जति छन् । २३ सय कृषकहरूले परम्परागत रूपले मौरीपालन व्यवसाय गरिरहेका छन् । ४ सयले आधुनिक रुपमा व्यवसाय गरिरहेको कृषि ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ ।

वार्षिक ४० टन परम्परागत घारबाट र २७ टन आधुनिक घारबाट मह उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख दिलबहादुर सिंहले बताए । ६५ देखि ७० टनसम्म जिल्लामा एक वर्षमा मह उत्पादन हुने गरेको उनले बताए । प्रतिकेजी १ हजारको दरले मह बिक्री हुने गरेको भन्दै उनले भने, ‘मह खपतका लागि समस्या भने छैन । उत्पादन भएको महभन्दा माग बढी नै हुने गरेको छ । मूल्य पनि राम्रो भएकोले कृषकहरूले आम्दानी मनग्य गरिरहेका छन् ।’

जिल्लाको दशरथचन्द नगरपालिकाको सदरमुकाम आसपासको क्षेत्र, दोगडाकेदार गाउँपालिका र सिगास गाउँपालिकाको ढुंगाड क्षेत्रमा कृषकहरूले मौरीपालन व्यवसाय बढी गरिरहेका छन् । मौरीपालन व्यवसायतर्फ किसानहरू आकर्षित पनि भएको ज्ञान केन्द्रले जनाएको छ ।

प्रकाशित : आश्विन १०, २०७८ ११:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×