२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

धनगढी–स्याउले सडक स्तरोन्नति सुरु

हसनपुर–स्याउले खण्डअन्तर्गत सडकको चौडाइबारे अन्योल
अर्जुन शाह

धनगढी — धनगढी–दिपायल द्रुतमार्ग (फास्टट्र्याक) निर्माणको प्रक्रिया सुरु भएको डेढ दशकपछि त्यसअन्तर्गत पर्ने धनगढी–स्याउले खण्डमा कालोपत्रे निर्माणको काम अघि बढेको छ । धनगढीको हसनपुर सामुदायिक प्रहरी सेवा केन्द्रदेखि पूर्वपश्चिम राजमार्गको स्याउले हुँदै अलि अगाडिसम्म १३ दशमलव ४ किलोमिटरमा कालोपत्रेको काम सुरु भएको छ ।

धनगढी–स्याउले सडक स्तरोन्नति सुरु

यतिबेला सडकको दुवैतर्फ नाली बनाउने काम भइरहेको छ । ३० महिनाभित्र काम पूरा गर्ने सर्तमा खड्का कृष्ण नारायणम् जेभीले १८ करोड ५१ लख रकममा जेठ तेस्रो साता ठेक्का सम्झौता गरेको कम्पनीका इन्जिनियर सुमित अर्यालले बताए ।

धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभन्ज्याङ सडक योजनाअन्तर्गत मुख्य सडक मार्ग खुटिया–दिपायल हो । खुटिया–दिपायल २०६४ मा औपचारिक रूपमा सर्भे भई ट्र्याक खोल्न सुरु भएको थियो । त्यसबेला खुटियादेखि दिपायलसम्म ८२ किलोमिटर सडक सर्भे भए पनि पछि पूर्वपश्चिम राजमार्गदेखि धनगढीसम्मको १० किलोमिटर सडक पनि थपेर ९२ किलोमिटरको धनगढी–दिपायल द्रुतमार्ग बनाउने निर्णय भएको थियो ।

हसनपुर स्याउले खण्डमा निर्माण सुरु गरिएको सडकको चौडाइबारे भने अन्योल छ । संघीय सरकार सडक विभागअन्तर्गत खुटिया–दिपायल फास्टट्र्याक आयोजनाले उक्त खण्डमा काम गराइरहेको छ । ठेक्का सम्झौतामा साढे ५ मिटर चौडाइ उल्लेख गरिएको भए पनि स्थानीय बासिन्दाको दबाबपछि विभागको मौखिक निर्देशनका आधारमा ७ मिटर चौडाइ पिच गर्ने प्रक्रियाका लागि ठेकेदार पक्षसँग लेखापढी गरिरहेको आयोजनाका इन्जिनियर खगेन्द्रबहादुर शाहीले बताए ।

‘ठेकेदार कम्पनी मञ्जुर हुनुपर्‍यो । हामीले भेरियसन गरी पत्राचार गरिसकेका छौं,’ इन्जिनियर शाहीले भने, ‘५ वर्षअघि नै भएको डीपीआरमा साढे ५ मिटर चौडाइ नै राखिएकाले समस्या भएको हो । मैले इस्टिमेट गरेर पठाउने बेला ७ मिटरकै पठाएको भए पनि टेन्डर गर्ने बेला विभागले काटेको हो ।’ सडकको कुल चौडाइ भने ९ मिटर छ ।

पूर्वपश्चिम राजमार्गमा पर्ने स्याउलेदेखि धनगढी हसनपुर खण्डको लम्बाइ १० किलोमिटर छ । डीपीआर गर्ने बेला यस खण्डलाई सहरी मार्गका रूपमा राखिएको थिएन । सहरी मार्गमा पर्ने सडक मात्र साढे ५ मिटरभन्दा माथिको चौडाइमा हुने शाहीले बताए । यो सडक प्रिमिक्स अक्सासफाल्ट गुणस्तरको हुनेछ ।

पछिल्लो समयमा सहरमा बन्ने सडक अक्सफाल्ट गुणस्तरका हुन् । इन्जिनियरहरूका अनुसार धनगढी अत्तरिया ६ लेनको सडक अक्सफाल्ट गुणस्तरको हो । प्रिमिक्स अक्सफाल्ट गुणस्तर अक्सफाल्टभन्दा न्यून गुणस्तरको कार्य प्रविधि हो । ठेकेदार कम्पनीका इन्जिनियर अर्यालका अनुसार स्याउले–हसनपुर खण्डमा ३ वटा कल्भर्ट र १६ वटा ह्युमपाइप कल्भर्ट निर्माण गरिने छन् ।

यसैगरी, दिपायलदेखि धनगढीतिर गरिने ९.५ किलोमिटर कालोपत्रेको ठेक्का सम्झौता पनि भएको छ । आश्रय प्रशंसा दुनिला जेभीले पाएको ठेक्कामा ३० महिनामा निर्माण गरिसक्ने गरी भ्याटबाहेक १४ करोडमा सम्झौता भएको आयोजना कार्यालयले जनाएको छ । सम्झौताअनुसार दिपायल एयरपोर्टदेखि तिखासम्म सम्झौताअनुसार कालोपत्रे हुनेछ ।

आयोजनाको कुल ९२ किलोमिटरमध्ये चालु आर्थिक वर्षमा थप २७.५ किलोमिटर खण्ड (डोटी खण्डमा २० र कैलाली खण्डमा ७.५ किलोमिटर) मा कालोपत्रेका लागि टेन्डर गर्न लागिएको आयोजना कार्यालयले जनाएको छ । आयोजना प्रमुख इन्जिनियर शाहीका अनुसार चालु आर्थिक वर्षमा धनगढी–दिपायल द्रुतमार्गको कैलाली खण्डमा ६ वटा र डोटी खण्डमा ३ वटा गरी ९ वटा पुल निर्माणका लागि रातो किताबमा बजेट परेको छ । धनगढी–दिपायल द्रुतमार्गको साढे ४१ किलोमिटर खण्डमा अझै ट्र्याक खोलिएको छैन ।

प्रकाशित : आश्विन ९, २०७८ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?