१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

सानैमा बिहे, छुट्यो पढाइ

‘बुहारी भइसकेपछि ग्रामीण भेगमा घरको सबै जिम्मेवारी उनीहरूकै टाउकोमा पर्ने भएकाले विद्यालय जान पाउँदैनन् र पढाइ छुट्छ’
तृप्ति शाही

बैतडी — डिलासैनी गाउॅपालिका–५ की सुनिता नाथ १९ वर्षकी भइन् । १८ वर्ष नपुग्दै बिहे गरेकी उनलाई विद्यालय छाडेको विद्यालय छोडेको २ वर्ष हुन लाग्यो । गत वर्ष एसईई दिन भर्ना भए पनि परीक्षामा सामेल हुन नपाएको उनले सुनाइन् । ‘परीक्षा दिन्छु भनेर पहिल्यैदेखि पढेको स्कुल माइती घर डिलाशैनी–६ कै पंसेरामा नाम पनि लेखाएकी थिए,’ उनले भनिन्, ‘तर परीक्षा दिन भने पाइन ।’ 

सानैमा बिहे, छुट्यो पढाइ

परीक्षा केन्द्र टाढा परेकाले आफूले परीक्षा दिन नसकेको उनले बताइन् । माइतीजस्तो सहजै पढ्न पाउने वातावरण बिहे भइसकेपछि नहुने भएकोले १० कक्षामै पढाइ छोड्नुपरेको उनको अनुभव छ । ‘खै किन किन पढाइलाई निरन्तरतानै दिन सकिनँ,’ उनले भनिन्, ‘अब त बच्चा पनि जन्मने बेला भइसक्यो, झन् पढ्ने सम्भावना नै छैनजस्तो लाग्छ ।’ १९ वर्षीया सुनिता अहिले ४ महिनाकी गर्भवती छिन् ।

पाटन नगरपालिका–८ की सन्तोषी ऐरीले पनि विद्यालय छोडेको २ वर्ष भयो । कक्षा ११ मा पढ्दै गरेका बेला विवाह भएपछि उनले पढाइ छोडिन् । त्यसबेला उनी १७ वर्षकी थिइन् । ‘बिहेपछि पनि परिवारले त पढ्न भनेको थियो, सहयोग पनि थियो,’ उनले भनिन्, ‘तर जिम्मेवारीले थिच्यो, कतिबेला पढ्नु कतिबेला घरको काम गर्नु भयो, अनि पढाइ छुट्यो ।’ पढाइ छुटेकोमा उनलाई पछुतो छ । अब उनी पढ्न नसकिने निष्कर्षमा पुगिसकेकी छन् । ‘बच्चा र घरपरिवारको स्याहारसुसारमै दिन बित्छ, कसरी पढ्नु पाटनकै राधा कोलीले पनि विहे भएपछि पढाइ छोडिन् । उनको २ वर्षअघि विवाह भएको हो । त्यतिबेला उनी १६ बर्षकी थिईन् । ‘बिहेपछि पढ्न मनै भएन अनि पढाइ छोडिदिए,’ उनले भनिन्, ‘घरपरिवारलाई धेरै समय दिन पर्ने भएकाले पढाइ गर्न सकिएन ।’

सुनिता, सन्तोषी र राधाजस्ता कम उमेरमै विद्यालय छोड्ने किशोरीको संख्या जिल्लामा धेरै छ । तीमध्ये अधिकांश किशोरीहरूले सानै उमेरमा बिहे भएका कारण पढाइ छोडेका छन् । सानैमा बिहे गर्ने कारणले विद्यालय छोड्ने किशोरीहरूको संख्या जिल्लामा धेरै रहेको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख नरेन्द्रप्रसाद अवस्थी बताउॅंछन् । ‘बालविवाह यसको प्रमुख कारण हो, बिहे गरेपछि धेरैले पढ्न पाएका छैनन्,’ उनले भने, ‘बुहारी भइसकेपछि ग्रामीण भेगमा घरको सबै जिम्मेवारी उनीहरूकै टाउकोमा पर्ने भएकोले विद्यालय जान पाउदैनन् र पढाइ छुट्छ ।’

बुहारी भइसकेपछि पढाइप्रति पनि विस्तारै रुचि हराउँदै जानेगरेको अवस्थीले बताए । अधिकांश परिवारले अर्काको घर जाने भन्दै छोरीको पढाइमा कम प्राथमिकता दिए पनि कतिपय परिवारले बुहारीलाई पनि पढाउने गरेको अनुभव उनले सुनाए । बालिकाहरूले पढाइ छोड्नुको अर्को प्रमुख कारण गरिबी पनि हो । सरकारले विद्यालयमा निःशुल्क शिक्षाको व्यवस्था गरे पनि परिवारको जीविकोपार्जनमा सघाउनुपर्ने भएकाले छात्राहरूले पढाइ छोड्ने गरेको अवस्थी बताउॅंछन् । ‘घरको काम गर्दागर्दै विद्यालय जान नपाएर पनि उनीहरूको पढाइ छुट्ने गरेको छ,’ उनले भने, ‘घरायसी काममा व्यस्त भएका कारण पढाइको स्तर कमजोर भएर फेल भएपछि उनीहरूले बिस्तारै पढाइ नै छोड्ने गरेका छन् ।’

छोरा र छोरीबीच रहेको विभेदका कारण पनि बालिकाहरूको पढाइ प्रभावित हुने गरेको महिलाअधिकारकर्मी सरस्वती नेपाली बताउॅंछिन् । उमेरै नपुगी बिहे भएका किशोरीहरूको संख्या बैतडीमा धेरै छ । स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/०७७ मा गर्भवती भएर पहिलोपटक गर्भजाॅंच गर्न स्वास्थ्य संस्था पुगेका ५ हजार ६ सय ३ जनामध्ये २ सय ७८ जना २० वर्षमुनिका किशोरीहरू छन् । आर्थिक वर्ष २०७७/०७८ मा ६ हजार ३ सय ८५ जना महिला गर्भवती भएर पहिलोपटक गर्भजाॅंच गर्न स्वास्थ्य संस्था पुगेकोमा ४ सय १५ जना २० वर्षमुनिका छन् ।

स्वास्थ्य संस्थामा जाॅंच गर्न आएर २० वर्षमुनिका भनेपछि उमेर बढाएर भन्ने प्रवृत्ति रहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेश भट्ट बताउॅंछन् । बालविवाह भन्न गाह्रो मानेर २० वर्ष उमेर बताउने गरेका उनले बताए । त्यसैले रेकर्डमा बालविवाहको संख्यामा कमी आउन थाले पनि बालविवाह बढिरहेको उनले बताए । सानै उमेरमा बिहे गरेर घरायसी कारणले छात्राहरूले विद्यालय छोड्ने गरेको दशरथचन्द नगरपालिका–४ की वडा सदस्य कल्पना राना क्षत्रीले बताइन् । ‘बिहेपछि घरको काम र सन्तान जन्माउन पर्छ भन्ने मात्र परिवारको सोच हुन्छ,’ उनले भनिन्, ‘बुहारीलाई पनि पढाउन पर्छ भन्ने मानसिकता भएका मान्छे अपवादको रूपमा मात्र भेटिन्छ ।’

बालिकाहरूले पढाइ छोड्ने अवस्थाका अन्त्य गर्न उनीहरूका लागि रोगजारीको अवसर सृजना गर्नुपर्ने आवस्यकता औंल्याउँछन् पाटन नगरपालिकास्थित ज्ञानेश्वर माविका सह–प्राध्यापक धनबहादुर महरा । देश संघीयतामा गएपछि विद्यालय सञ्चालनको जिम्मेवारी पाएको स्थानीय सरकारले शिक्षाका लागि विशेष पहल चाल्न जरुरी रहेको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख अवस्थीले बताए ।

स्थानीय सरकारले अभिभावकलाई जिम्मेवार बनाउने र छोरीहरूलाई विद्यालय छोड्नबाट रोक्नको लागि योजना बनाएरै काम गर्नुपर्ने उनको सुझाव छ । बालिकाहरूले विद्यालय छोड्ने अवस्था विकराल बन्दै गए पनि स्थानिय तहहरूले त्यस्ता बालिकाहरूलाई लक्षित गरेर कुनै ठोस योजना ल्याएको पाइँदैन । महिला शीर्षकमा छुट्ट्याइएको बजेटबाट जनचेतनामूलक कार्यक्रम बाहेक अन्य कार्य गर्न नसकिएको पालिकाहरु बताउँछन् ।

प्रकाशित : आश्विन ८, २०७८ ११:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?