१० दिनमै भाडा वृद्धि- सुदूरपश्चिम - कान्तिपुर समाचार

१० दिनमै भाडा वृद्धि

वसन्तप्रताप सिंह

बझाङ — जिल्लाभित्र चल्ने साना सवारी साधन (जिप) को भाडादर १० दिनमै फेरि बढाइएको छ । भदौ २८ गते मात्रै जिल्ला प्रशासन कार्यालयले साविकको भाडादरमा २५ प्रतिशत बृद्धि गर्दै नयाँ दर सार्वजनिक गरेको थियो । प्रशासनले जारी गरेको भाडादर यातायात व्यवसायीले कार्यान्वयन गर्न नमानेपछि बुधबार बसेको सर्वपक्षीय बैठकले पुनः भाडादर बढाएको हो । 

प्रशासनले साविकको भाडादरमा २५ प्रतिशतले वृद्धि गरी पिच सडकमा चल्ने जिपको हकमा प्रतिकिलोमिटर ६ रुपैया २५ पैसा कायम गरेकोमा सर्वपक्षीय बैठकले थप एक रुपैयाँ बढाएर ७ रुपैयाँ कायम गरेको छ । कच्ची सडकको हकमा प्रतिकिलोमिटर १० रुपैयाँ कायम गरिएकोमा बढाएर १२ रुपैयाँ पुर्‍याइएको छ । सर्वपक्षीय बैठकले पक्की सडकको हकमा साविकको दरमा ४० प्रतिशत र कच्ची सडकको हकमा ६० प्रतिशत हो ।

यातायात व्यवसायीहरूले भाडा कम भएको भन्दै विरोध गरेपछि जिल्ला समन्वय समितिका संयोजक खडगबहादुर खड्काको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले यातायात व्यवसायीहरूको सहमतीमा भाडा वृद्धि गरेको हो । बैठकमा विभिन्न पालिका प्रमुखहरू, यातायात व्यवसायीका प्रतिनिधि र सरोकारवालाको उपस्थिती थियो । बैठकले तीनदिनभित्र तोकिएको भाडादर लागु गर्नुपर्ने र सबै सार्वजनिक यातायातका साधनहरूमा अनिवार्य भाडाको दररेट यात्रुहरूले देख्ने गरी टाँस्नु पर्ने निर्णय गरेको छ ।

यस्तै सबै सवारी साधनले यात्रुलाई अनिवार्य टिकट दिनुपर्ने निर्णय पनि बैठकले गरेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जानकारी दिए । ‘यातायात व्यवसायीहरूको गुनासो पनि सम्बोधन हुने गरेर सर्वपक्षीय बैठकबाट भाडा बृद्धी गर्ने निर्णय गरेका छौ,’ सिडिओ अधिकारीले भने ‘अब कसैले पनि तोकिएको मापदण्ड पालना नगरेको पाइएमा कडा भन्दा कडा कारबाही गरिने छ ।’ उनले जिल्ला प्रशासन कार्यालयले भाडादर र सवारी मापदण्ड पालना भए नभएको बारे नियमित अनुगमन गरिने र कसैले मनपरी गरेको पाइएमा ठाउँको ठाउँ कारबाही गरिने बताए ।

यता स्थानीयले भने यातायात व्यवसायीको दादागिरीको अगाडि नियमरी निकाय निरीह भएको र उनीहरूलाई पक्षपोषणगर्ने गरी भाडा वृद्धि गरेको भन्दै यसको विरोध गरेका छन । नेपाल सरकारले तोकेको मापदण्डभन्दा धेरै बढी हुने गरेर बझाङमा छुट्टै भाडादर कायम गरिनु सर्वसाधारणको हितविपरीत भएको नागरिक समाजका अगुवा धर्म जंङबहादुर सिंहले बताए । ‘यातायात व्यवस्थापन समितिले तोकेको भाडादर लागु भए नभएको अनुगमन गर्नुको साटो सरकारी कर्मचारी र जनप्रतिनिधिले व्यवसायीलाई काखमा च्यापेर जनतालाई मर्कामा पार्ने काम भएको छ’ उनले भने ‘नेपाल सरकारको मापदण्डलाई अस्वाभाविक हिसाबले नाघ्ने गरी बझाङमा भाडादर तोक्ने काम हुनु दःुखद हो ।’

उनले व्यवसायीहरूको मनपरीले स्थानीय दिनहुँ लुटिरहँदा पनि सीमित व्यवसायीको हितमा जनप्रतिनिधि र प्रशासनले निर्णय गर्नु राज्यविहीनताको द्योतक भएको आरोप लगाए । सिडिओ अधिकारीले भने बझाङका सडक न्यून गुणस्तरका, जिल्लामा पेट्रोल पम्प नभएको र गाडी विग्रीएमा मर्मत गर्ने व्यवस्था नभएकोले नेपाल सरकारले तोकेको मापदण्ड यहाँको हकमा उपयुक्त नहुने देखिएकोले भाडा वृद्धि गरिएको बताए ।

प्रकाशित : आश्विन ८, २०७८ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्

अन्नपूर्ण पदमार्गमा भित्रिए पर्यटक

७२ घण्टाभित्रको नेगेटिभ देखिएको पीसीआर रिपोर्ट वा खोप लगाएको कार्ड अनिवार्य
आश गुरुङ

लमजुङ — पछिल्लो वर्ष शून्यप्रायः देखिएको विश्वविख्यात चक्रीय अन्नपूर्ण पदमार्गमा छिटफुट पर्यटक भित्रन थालेका छन् । निषेधाज्ञाका कारण बन्द उक्त पदमार्ग पर्यटक आवागमनका लागि हालै मात्र खुला गरिएपछि पर्यटक आवागमन हुन थालेको हो ।

पदमार्गको धेरै ठाउँ ओगट्ने मनाङ र मुस्ताङले पर्यटक आवागमनका लागि खुला गरेपछि अहिले छिटफुट विदेशी पर्यटक भित्रिएका हुन । कोभिड सर्ने डरले पदमार्ग क्षेत्रका जिल्लाले पर्यटक आवागमन रोकेपछि चक्रीय अन्नपूर्ण पदमार्ग शून्यप्रायः थियो ।

पछिल्लो समय सरकारले निषेधाज्ञालाई खुकुलो बनाएसँगै चक्रीय अन्नपूर्ण पदमार्गले छोएका मनाङ र मुस्ताङले पर्यटकका लागि आफ्नो जिल्ला खुला गरेसँगै पर्यटक आवागमन सुरु भएको हो । मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जिल्ला केभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले औपचारिक रूपमा असोज १ देखि पर्यटक आवागमन खुला गरेको बताए । ‘छिटफुट पर्यटक आउने गरेका छन् । हामीले ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट वा खोप लगाएको कार्ड अनिवार्य गरेका छौं,’ उनले भने । स्थानीय बासिन्दा र कर्मचारीमा भने लागू नगरिएको उनले बताए । मुस्ताङले भने ७२ घण्टाको पीसीआर रिपोर्ट अनिवार्य गरेको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङको धारापानी चेकपोस्टका पर्यटन सहायक क्षेत्र गुरुङका अनुसार सेप्टेम्बरको तेस्रो सातासम्म ५५ पर्यटक अन्नपूर्ण पदमार्गमा आएका छन् । जनवरी र फेब्रुअरीमा भने पर्यटन आवागमन शून्य थियो । मार्चमा ६६, अप्रिलमा ३ सय ६६, मेमा ४८ जना पर्यटक आएको उनले बताए । जुन र जुलाईमा १/१ जना पर्यटक मात्रै आए । अगस्टमा ३ जना आए ।

‘अब पर्यटकका लागि पदमार्ग खुला भयो । सायद पर्यटक बढ्छ होला’ उनले भने । सन् २०१८ मा २९ हजार ४ सय ८४ जना पर्यटक भित्रिएका थिए । २०१९ मा २६ हजार ६ सय ४७ जना पर्यटक आए । सन् २०१९ को डिसेम्बर अन्तिमतिर चीनको वुहानबाट कोभिड फैलिएको थियो । सन् २०२० मा १ हजार ९ सय ७६ जना विदेशी पर्यटक चक्रीय अन्नपूर्ण पदमार्गमा भित्रिए ।

एक्याप मनाङ प्रमुख लेखनाथ गौतमका अनुसार पर्यटकका लागि चक्रीय अन्नपूर्ण पदमार्ग खुला गरिएको छ । उनले विस्तारै पर्यटक आउन थालेको र थोराङला पास (५४१६ मि.) गरेर मुस्ताङ जाने गरेको बताए । पर्यटकलाई लमजुङ सीमा क्षेत्रका सीमा प्रहरी चौकी ताल, सीमा प्रहरी चौकी धारापानी, धारापानीस्थित एक्यापको पर्यटक चेकजाँच केन्द्रले चेकजाँच गरेर गन्तव्यमा पठाउने गरेका छन् ।

कोभिडविरुद्धको खोपको मात्रा पूरा नगरेका वा ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट नभएकालाई भने फिर्ता पठाइने गरिएको छ । पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङका अनुसार अहिले १/२ जना पर्यटक देखिएका छन् । यसले केही सकरात्मक सन्देश दिन खोजेको उनले बताए ।

प्रकाशित : आश्विन ८, २०७८ १०:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×