कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

कार्यान्वयन हुँदैन गाडी भाडाको मापदण्ड

‘प्रत्येक दिन यात्रुले हैरानी खेप्नुपरेको छ तर यसको अनुगमन र कारबाही गर्ने कोही छैनन्’
वसन्तप्रताप सिंह

बझाङ — भदौ २८ गते जिल्ला प्रशासन कार्यालय बझाङले जिल्लाभित्र चल्ने साना सवारीसाधन (जिप) को भाडादर सम्बन्धी सुचना प्रकाशन गर्‍यो । सुचनामा साविकको भाडादरमा २५ प्रतिशतले वृद्धि गरी पक्की सडकमा चल्ने जिपको हकमा प्रतिकिलोमिटर ६ रुपैयाँ २५ पैसा र कच्ची सडकको हकमा प्रतिकिलोमिटर १० रुपैयाँ कायम गरिएको व्यहोरा उल्लेख थियो । 

कार्यान्वयन हुँदैन गाडी भाडाको मापदण्ड

जिल्ला यातायात व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी र यातायात व्यवसायीका प्रतिनिधिसमेतको उपस्थितिमा भएको बैठकले तोकेको भाडा दर दुई हप्ता बित्दासमेत कार्यान्वयन हुन सकेको छैन । जिप सञ्चालकहरूले नत प्रशासनले सूचनामा भनेअनुसार सवारी साधनमा भाडा दर टाँस गरेका छन्, न त जिल्ला यातायात व्यवस्थापन समितिले तोकेअनुसारको भाडा दर नै प्रचलनमा आएको छ ।

बरु जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट एक सय मिटरको दूरीमा रहेको जिपपार्कबाट छुट्ने साना सार्वजनिक सवारीहरूले तोकिएको भन्दा दोब्बर तेब्बर बढी भाडा खुलेआम असुल गरिरहेका छन । जिप सञ्चालकहरूले सदरमुकामबाट पक्की सडक भएर ११ किलोमिटर दूरीमा रहेको तमैलबजारसम्म पुग्न प्रतिव्यक्ति १ सय ५० रुपैयाँ भाडा असुल्छन् । जबकि प्रशासनले चैनपुरदेखि तमैलको भाडा ६८ रुपैयाँ ७५ पैसा तोकेको छ । यो सडक खण्डमा ट्राफिक प्रहरी पोस्ट सिमखेत छ । तमैलमा पनि प्रहरीको उपस्थिति छ तर पनि भाडा दर कायम हुन सकेको छैन ।

ठाउँ ठाउँमा प्रहरीको उपस्थिति रहेको पक्की सडकमा भन्दा ग्रामीण क्षेत्रका सडकमा चल्ने सवारीहरूको मनोमानी चर्को छ । सदरमुकाम चैनपुरदेखि कैलाशसम्म नौ किलोमिटरको भाडा प्रतिव्यक्ति चार सयसम्म तिर्नुपरेको गुनासो यात्रुहरूको छ । यो तोकिएको भाडा दरभन्दा चार गुना बढी हो । ‘चार सय तिर्दा पनि कहिले गन्तव्यसम्म पुर्‍याउँछन्, कहिले गाडी बिग्रियो, बाटो राम्रो छैन भनेर आधा बाटोमै झारिदिन्छन्,’ कैलाशका कृष्ण विकले भने, ‘गाडी चढ्नुभन्दा पहिले नै भाडा दिएन भने चढ्न दिँदैन । जिपवालाहरूको मनपरी छ ।’

उसो त जिल्ला प्रशासन कार्यालयले भाडा दर तोकेर सूचना प्रकाशन गरेको यो पहिलो पटक पनि होइन । यसअघि पनि थुप्रैपटक यस्ता सूचनाहरू प्रकाशन हुने गरेको छ । जिल्ला प्रशासन कार्यालयले सूचना निकाल्ने र यातायात व्यवसायीहरूले मनपरी भाडा असुलगर्ने चलन बझाङको नियमित औपचारिकतामा सीमित हुँदै आएको छ ।

पछिल्लो समय साइपाल गाउँपालिकाकाबाहेक जिल्लाका सबैजसो पालिकाका प्रायः गाउँहरूमा सडक पहुँच पुगेसँगै सार्वजनिक सवारीसाधन चल्न थालेका छन् । धेरैजसो धुले सडकहरू हिउँदमा मात्रै सञ्चालन हुने भए पनि बागथला—बिजगडा, तमैल—खप्तडछान्ना, मौरीबगर—ब्याँसी—सुर्मा र चैनपुर—सुर्मा, सडक खण्डमा नियमित सवारी चल्ने गरेकाछन । यस्तै बाह्रैमास गाडी चल्ने चैनपुर— रुपातोला—तल्कोट, चैनपुर—मस्टा, चैनपुर—कैलाश र धामीलेकलगायतका ग्रामीण सडकमा चल्ने जिपहरूले चर्को भाडा असुल्दा सर्वसाधारण यात्रु चर्को आर्थिक मारमा परिरहेका छन् ।

‘यात्रु हेरेर भाडा लिन्छन् । गाडी पूरै भरिएको छ भने ४ सय नभए ५ देखि ६ सयसम्म पनि असुल्छन् । आउँदा एउटा रेट हुन्छ, जाँदा अर्कै रेट लगाएका हुन्छन्’ १७ किलोमिटर लम्बाइको चैनपुर–रुवातोला सडक खण्डमा चल्ने गाडीले लिएको भाडाको गुनासो गर्दै तलकोट गाउँपालिकाका शिव भण्डारीले भने, ‘प्रत्येक दिन यात्रुले हैरानी खेप्नुपरेको छ । तर यसको अनुगमन र कारबाही गर्ने कोही छैनन् ।’

यस्तै बागथलादेिख बिजगडासम्मको १७ किलोमिटरमा ६ सयसम्म भाडा असुल्ने गरेको बुंगल क्षेत्रका स्थानीयको गुनासो छ । ‘बागथलाबाट बिजगडासम्मको भाडा १ सय ७० रुपैया हो तर उनीहरूले ५ सयदेखि ६ सयसम्म लिने गरेका छन्’ बुंगल नगरपालिकाका जनक विष्टले भने ।

यातायात व्यवसायीहरूले भने सडकको अवस्था राम्रो नभएको, जिल्लामै गाडी मर्मत सुविधा र पेट्रोल पम्प नभएको जस्ता कारण देखाएर सरकारले तोकेको भाडादर कामय गर्न नसकिने बताउँदै आएका छन् । प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले भाडादर कार्यान्वयन नभएको गुनासो आफूकहाँ आएको बताउँदै आफ्नो कार्यकालमा समस्या टुंग्याउकने उने बताए ।

प्रकाशित : आश्विन ७, २०७८ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?