२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

बालबालिकामा उच्च ज्वरो र रुघाखोकी

भवानी भट्ट

कञ्चनपुर — मंगलबार दिउँसो महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा उच्च ज्वरोले च्यापेका एक बालकलाई ल्याइयो । महेन्द्रनगर बजार क्षेत्रकै ती बालकको ज्वरो मापन गर्दा १०४ दशमलव ९ डिग्री थियो । उच्च ज्वरोसँगै बान्ता गर्ने र झाडापखालाको समस्या थियो । 

बालबालिकामा उच्च ज्वरो र रुघाखोकी

आकस्मिक कक्षमै रहेका डा. गोविन्द रोकायाले ती बालकलाई तत्काल भर्ना गराए । चेकजाँच गर्दा निमोनियाको संकेत देखियो । पीसीआर परीक्षण गर्दा कोरोना नेगेटिभ आयो । पछिल्लो दुई सातायता महाकाली प्रादेशिक अस्पतालमा यस्तै लक्षणका बालबालिका बढी मात्रामा आउन थालेका छन् । यस्ता बिरामी ओपीडीभन्दा पनि आकस्मिक कक्षमा रातिको समयमा आउने गरेका हुन् ।

‘अहिले यस्तै लक्षण भएका बालबालिकाहरू आउने गरेका छन्,’ डा. रोकायाले भने, ‘भारतमा बालबालिकामा देखिएको नयाँ भेरिएन्ट पनि हुन सक्छ ।’ उनले अहिले कोभिडकै निमोनियाको उपचार पद्धति अपनाएर बालबालिकाहरूको उपचार भइरहेको बताए ।

केही दिनयता महाकाली प्रादेशिक अस्पतालमा उच्च ज्वरो, रुघाखोकी र निमोनियालगायत लक्षण भएका बालबालिका बढी आउन थालेका छन् । अस्पतालमा आउने बिरामीमध्ये ७० प्रतिशत बालबालिका रहेको अस्पतालले जनाएको छ । आकस्मिक कक्षमा दैनिक ५०/६० बिरामीहरू आउने गरेका छन् । त्यसमा पनि ३५/४० बालबालिका नै छन् । ‘बढीजसो बालबालिकाहरू रातिको समयमा भर्ना हुने गरेका छन्,’ डा. रोकायाले भने, ‘सुरुको अवस्थामा निजी मेडिकलमै उपचार गराउने र जब बालबालिकाहरू थला पर्न थाले त्यसपछि मात्रै अस्पताल ल्याउने गरेका कारण समस्या हुने गरेको छ ।’ महाकाली अस्पतालमा रहेका बालरोग विशेषज्ञ डा. रमेश जोशी अहिले तालिमका लागि बाहिर छन् । त्यसकारण यहाँ आउने बालबालिकालाई सीमावर्ती खटीमा वा धनगढी पठाउने गरिएको उनले बताए ।

विशेषज्ञ डाक्टर नहुँदा बालबालिकाहरूलाई सामान्य उपचारपछि अन्यत्र पठाउनुपरेको छ । ‘यतिबेला बिरामीको चाप बढी नै छ,’ महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. हरिकुमार श्रेष्ठले भने, ‘बालबालिकामा उच्च ज्वरो र रुघाखोकीको समस्या बढी छ ।’ उनका अनुसार अस्पताल आउने अन्य बिरामीमा पनि यो समस्या भएको बढी मात्रामा छन् ।

‘अहिले बालबालिकामा भाइरलको संक्रमण धेरै छ, ग्रामीण भेगमा अझ बढी बिरामीहरू देखिन्छन्,’ जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका जनस्वास्थ्य निरीक्षक सिद्धराज भट्टले भने, ‘बालबालिका मात्रै होइन अन्यमा पनि भाइरलको प्रकोप छ ।’ उनका अनुसार मौसम परिवर्तनसँगै यही समयमै विद्यालयहरू प्नि खुलेका कारण यसको प्रभाव बढेको हुन सक्ने देखिन्छ ।

पछिल्लो समय बालबालिकाहरूमा पनि कोरोना संक्रमण देखिन थालेको छ । गत बिहीबार मात्रै महाकालीपारिको दोधारा–चाँदनी नगरपालिकामा १५ वर्षमुनिका ५ बालबालिकामा कोरोना संक्रमण पुिष्ट भएको छ । उनीहरूको अवस्था सामान्य रहेको दोधारा–चाँदनी स्वास्थ्य शाखा प्रमुख जयबहादुर महराले बताए । उनका अनुसार दुई साताअघि पनि २ बालबालिकामा संक्रमण देखिएको थियो । उनीहरू अहिले संक्रमणमुक्त भएका छन् । स्वास्थय कार्यालयका अनुसार साउन २२ यता कञ्चनपुरमा १५ वर्षमुनिका ३६ बालबालिकामा संक्रमण पुष्टि भएको छ । कतिपय ५/७ वर्षका समेत रहेको जनस्वास्थ्य निरीक्षक भट्टले बताए ।

प्रकाशित : आश्विन ७, २०७८ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?