कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

व्यवसायी असुल्छन् मनपरी भाडा, सरोकारवाला निकाय मौन

तृप्ति शाही

बैतडी — बैतडी सदरमुकाम गोठलापानीबाट झुलाघाटसम्म १८ किलोमिटरको पक्की सडक छ । यो रुटमा सार्वजनिक जिप बढी चल्छन् । यहाँ सवारी साधनको भाडा ३ सय रुपैयाँ छ । यो सडकमा मात्र नभएर जिल्लाका अधिकांश सडकमा सवारी साधनहरूले मनपरी भाडा असुल्ने गरिरहेका छन् ।

व्यवसायी असुल्छन् मनपरी भाडा, सरोकारवाला निकाय मौन

गोठलापानीबाट झुलाघाटसम्म पुग्ने यात्रुहरूले ३ सय भाडा तिरिरहेको दशरथचन्द नगरपालिका–१० का उत्तम चन्दले बताए । यो सडकमा बीचबाटोमै यात्रु झरे पनि ३ सय नै तिर्नुपर्ने बाध्यता रहेको उनले बताए । बाराकोट, त्रिपुरासुन्दरी र बस्कोट झर्ने यात्रुहरूले पनि यतिनै भाडा दिनुपर्ने अवस्था रहेको उनले बताए । उनले भने, ‘यो सडकमा तोकेको भन्दा दोब्बर बढि भाडा तिर्नुपरेको छ । सरोकारवाला निकाय भने मौन छन् ।’

यस्तै पुर्चौडी नगरपालिकाको हाटबाट ढोल्यामोड पुग्नका लागि २३ किलोमिटरको यात्रा गर्नुपर्छ । यो रुटमा यात्रुहरूले ५ सय भाडा तिर्नुपरिरहेको छ । महँगो भाडा तिरेर यात्रा गर्नुपरिरहेको स्थानीय रोहित धानुकले बताए । ‘भाडा त धेरै महँगो छ । त्यही पनि यात्रा गर्नैपर्छ । चर्को भाडा तिरेर आवतजावत गरिरहेका छौं,’ उनले भने ।

महँगो भाडाले स्थानीयले सास्ती भोग्नुपरेको पुरचौर्ड नगरपालिका–४ का नरेन्द्र धानुकले बताए । उनकाअनुसार पालिकाको हाट बजारबाट ढोल्यामोडसम्मको भाडा ५ सय रुपैंया तिर्नु परेको छ । कच्ची र अप्ठेरो सडकको बाहनामा यातायात व्यवसायीले आफूखुसी भाडा असुलिरहेका उनले बताए । पहिले गरिब जनताले भारि बोकेर ५ सय कमाउने सडकमा अहिले ५ सय तिरेर यात्रा गर्नुपरेको उनको भनाइ थियो । कामको लागि घरबाट अन्यत्र जानु पर्ने कमजोर आर्थिर्क अवस्था भएकाहरू धेरै मारमा परेका उनले बताए । पैसा नहुनेहरू बढि भाडा तिर्न नसकेर हिडेरै यात्रा गर्न बाध्य भएका पनि उनले सुनाए । जिल्लाका सडकमा यात्रा गर्नुपर्दा जहिल्यै भाडाभन्दा तेब्बर बढी पैसा तिर्नुपर्ने बाध्यता रहेको दशरथचन्द नगरपालिकाका स्थानीय चन्द्र जोशी बताउछन् । चालक र व्यवसायीले भनेअनुसारको भाडा दिनुपर्ने भएकोले यात्रुले सास्ती भोग्नुपरेको उनले बताए ।

यता प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले अहिले धेरै अधिकार स्थानीय तहलाई भएकाले स्थानीय तहले यात्रुलाई सहज हुने गरी भाडादर तोक्न सक्ने धारणा राखे । आफूहरूले पनि यसमा सहजीकरण गर्ने उनले बताए । आफूलाई यो विषयमा ध्यानाकर्षण भएकाले नियन्त्रणमा पहल गर्ने बताए ।

जिल्लाका सडकमा सबैभन्दा बढी सवारीसाधनका रूपमा जिप सञ्चालनमा छन् । त्यसमध्ये पनि महाकाली यातायात प्रालिमा अधिकांश जिपहरू आबद्ध छन् । जिप व्यवसायीले नै मनपरी भाडा लिइरहेका स्थानीयको गुनासो छ । जिल्लामा धेरै सडक कच्ची छन् । पक्की सडकको निर्धारण गरिएकै भाडादरमा सवारीसाधन सञ्चालनमा रहेका महाकाली यातायात प्रालिका संयोजक लोकसिंह थापाको दाबी छ । कच्ची सडकको हकमा भने आपसी समझदारीमा भाडा तलमाथि हुने गरेको उनले बताए ।

प्रकाशित : आश्विन ६, २०७८ ११:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?