१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

गर्भवती र सुत्केरीका सारथि

बैतडी — पाटन नगरपालिका–१० की धनेश्वरी महरा २ महिनाकी सुत्केरी छन् । दोस्रो सन्तानकी आमा उनी आफ्ना बालबालिका स्वस्थ देखेर खुसी छिन् । उनले गर्भावस्था र सुत्केरीमा आफ्नो र बच्चाको स्याहार राम्रैसँग गरिन् । यो सबै गाउँकी महिला स्वास्थ्य स्वयंसेविकाले गर्दा भएको उनले सुनाइन् ।

गर्भवती र सुत्केरीका सारथि

‘पहिलो पटक गर्भवती हुँदा केही थाहा थिएन । सबै स्वयंसेविका दिदीले सिकाउनुभयो । ३ महिना पूरा भएपछि आफूसँगै स्वास्थ्य संस्था लिएर जानुभएको थियो,’ धनेश्वरीले भनिन्, ‘गर्भवती भएका बेला कहिले स्वास्थ्य संस्था जाने, के–के गर्ने भन्ने बारे केही थाहा नपाएको अवस्थामा स्वयंसेविका दिदीले सबै सहयोग गरिदिनुभएको हो ।’ बच्चा जन्मिसकेपछि पनि कुन खोप कहिले लगाउने भनेर उनैबाट खबर पाएको उनको भनाइ छ ।

दुर्गम क्षेत्रमा गर्भवती र सुत्केरीको हेरविचारमा सारथिको भूमिकामा छन् स्वास्थ्य स्वयंसेविका । परिवार नियोजनका साधन प्रयोगदेखि गर्भवती र सुत्केरीलाई सहजीकरण उनीहरूले नै गर्दै आएका छन् । गर्भवती भएपछि महिलाले आफूलाई जानकारी गराउने गरेका पाटन–१० की महिला स्वास्थ्य स्वयंसेविका जानकी भट्टले बताइन् । उनीहरूलाई स्वास्थ्य संस्था लैजानेदेखि आइरन चक्की, जुकाको औषधि खान सल्लाह दिने गरेको उनले बताइन् । ‘बच्चा नहुन्जेलसम्म उनीहरूलाई भेटिरहेका हुन्छौं । जाँच गर्नुपर्ने महिनामा स्वास्थ्य संस्था जान भन्छौं,’ भट्टले भनिन्, ‘सुत्केरी व्यथा लागे पनि सँगै जान्छौं । बच्चा जन्मेको ३ र ७ दिनमा अनिवार्य उनीहरूको घर पुग्छौं ।’ पहिले घरमै गएर धेरै सोधपुछपछि मात्र गर्भवती भएको थाहा दिने महिला अहिले गर्भवती भएको थाहा पाउनासाथ सल्लाहका लागि आफूहरूकहाँ आउने गरेका उनले अनुभव सुनाइन् । शिशुलाई खोप कहिले र कहाँ लगाउने भनेर आमालाई खबर गर्ने काम पनि आफूहरूले गर्ने गरेको उनले बताइन् । भट्ट १३ वर्षअघिदेखि यसरी नै महिला र शिशु स्याहारमा खटिँदै आएकी छन् ।

दोगडाकेदार गाउँपालिका–३ श्रीकोटकी सरस्वती जोशी २०६४ बाट महिला स्वास्थ्य स्वयंसेविका छिन् । आफूहरूले ३ महिना पूरा भएपछि गर्भवतीलाई स्वास्थ्य संस्था लैजानेदेखि शिशु जन्मेपछि ५ वर्ष नपुगुन्जेलसम्म निगरानीमा राखेर लगाउनुपर्ने खोप, औषधिलगायत स्वास्थ्य अवस्थाबारे जानकारी दिने काम गरिरहेको बताइन् । ‘रगत बग्ने, पेट दुख्ने समस्या भएमा हामीलाई भन्छन् । हामीले स्वास्थ्यकर्मीलाई खबर गरेर उपचारका लागि पठाउँछौं । लाजले सिधै भन्न सक्दैनन् । हामीमार्फत परिवार नियोजनका साधन पनि प्रयोग गरिरहेका छन्,’ उनले भनिन् ।

गर्भावस्थामा ध्यान दिनुपर्ने स्वास्थ्य स्वयंसेविकाले नै जानकारी दिने गरेको पाटन–१० की पार्वती भट्टले बताइन् । स्वास्थ्यसम्बन्धी कार्यक्रम भएमा खबर गरेर लैजाने गरेको पनि उनले सुनाइन् । ७ महिनाकी गर्भवती उनले भनिन्, ‘आइरन चक्की, जुकाको औषधि र अन्य जाँचका लागि स्वयंसेविकाले नै खबर गर्नुहुन्छ ।’ नियमित जाँचसँगै बच्चा जन्माउनको लागि पनि स्वास्थ्य संस्थामै जानुपर्ने सुझाव आफूलाई दिने गरेका उनको भनाइ छ । स्वास्थ्य स्वयंसेविकाले गर्दा गर्भावस्थामा धेरै राहत महसुस गरेको उनले अनुभव सुनाइन् ।

महिला स्वास्थ्य स्वयंसेविकाले गर्दा दुर्गमका महिलालाई धेरै राहत मिलेको सिगास गाउँपालिका–९ को चौखाम स्वास्थ्य चौकीका इन्चार्ज वीरेन्द्र क्षत्रीले बताए । गाउँमा आमा समूहको बैठक बसालेर स्वास्थ्यका बारे स्वयंसेविकाले जानकारी दिने गरेको उनले बताए । पूर्ण खोप, भिटामिनसँगै पोषणबारे उनीहरूले नै महिलालाई जानकारी दिने गरेको उनको भनाइ थियो । स्वयंसेविका भएकै कारण आइरन चक्की, भिटामिन ‘ए’, परिवार नियोजनका साधनहरू टोलमै महिलाहरूले पाउने गरेका छन् । कोरोना महामारीका समयमा पनि गाउँमा मास्कको प्रयोग, साबुनपानीले हातधुनेबारे जानकारी दिएर उनीहरूले धेरै सहयोग गरिरहेको क्षत्रीले बताए ।

प्रकाशित : आश्विन ६, २०७८ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?