१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

अखाद्य वस्तु छ्यापछ्याप्ती, अनुगमन छैन

कञ्चनपुर — चाडपर्व नजिकिँदै गर्दा बजारमा म्याद नाघेका तथा अखाद्य वस्तुको बिक्री बढेको पाइएको छ । बजार अनुगमन नहुँदा पनि अखाद्य वस्तुको बिक्री बढ्नुमा टेवा पुगेको देखिन्छ । जिल्ला प्रशासन कार्यालयले यसै साता महेन्द्रनगर बजारमा २ दिन गरेको बजार अनुगमनले पनि यसलाई पुष्टि गरेको छ ।

अखाद्य वस्तु छ्यापछ्याप्ती, अनुगमन छैन

प्रशासनले ५ किराना पसल र ५ होटलहरुमा अनुगमन गरेकोमा सबैजसोमा म्याद नाघेका र अखाद्य वस्तु भेटिएको थियो । ‘किराना पसलमा जंक फुड र पेय पदार्थ बढी मात्रामा म्याद नाघेका र प्रयोग गर्न नमिल्ने अवस्थामा भेटिएका छन्,’ सहायक प्रमुख जिल्ला अधिकारी अशोक भण्डारीले भने, ‘होटलमा पनि अखाद्य वस्तु भेटिएको छ, स्वास्थ्य मापदण्ड पालना पनि गरिएको पाइएन ।’

कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द रहेका सबैजसो होटल, पसल खुलेका छन् तर स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइएको छैन । संक्रमण जोखिम कायमै रहे पनि मापदण्ड नअपनाउनु जोखिमपूर्ण देखिन्छ । व्यवसायी र सर्वसाधारणले मापदण्ड पालना नगर्ने त छँदै छ, त्यसको नियमनमा पनि सरोकारवालाले चासो दिएका छन् । स्थानीय बजारको नियमित अनुगमन गर्ने जिल्मा स्थानीय तहको हो । हरेक स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ । तर त्यस्ता समितिहरुले बजार अनुगमनमा चासो दिएका छैनन् ।

‘अहिले बजारको अनुगमनको जिम्मा स्थानीय तहको हो,’ सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले भने, ‘तर स्थानीय तहले यसतर्फ चासो नै दिएका छैनन् ।’ बजार अनुगमनको अधिकार स्थानीय तहलाई दिएका कारण प्रशासनले खुलेर नियमन गर्न नसकेको उनको भनाइ छ ।

भीमदत्त नगर उपप्रमुख सुशिला सिंह चन्द भने बजारमा सहजै अनुगमन गर्न सकिने अवस्था नरहेको बताउँछिन् । उनले अनुगमनको जिम्मा स्थानीय तहको भए पनि जनशक्ति पर्याप्त नहुँदा समस्या भएको बताइन् । ‘हामीले एक/डेढ महिनाअघि बजार अनुगमन गरेका थियौं, त्यसपछि अनुगमन हुन सकेको छैन,’ उनले भनिन्, ‘चाडपर्वका बेला म्याद नाघेका, अखाद्य वस्तु र मूल्य वृद्धिलगायतका गतिविधि बढन सक्छन्, छिट्टै अनुगमन गर्छाैं ।’ भारतबाट अवैध रूपमा भित्रिएका चिसो पेय पदार्थ र जंक फुड पनि जताततै भेटिने गरेको उपभोक्ताको गुनासो छ ।

प्रकाशित : आश्विन ४, २०७८ २०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?