सामाजिक सुरक्षा रकम चोरी

उजुरी दर्ता नभई कसैले भनेको आधारमा पक्राउ गर्न नमिल्ने प्रहरीको भनाइ
वसन्तप्रताप सिंह

बझाङ — बुंगल नगरपालिका–९ र ११ बासिन्दालाई वितरण गर्न भनेर लगिएको सामाजिक सुरक्षा भत्ताबापतको नगद ३९ लाख ६३ हजार रुपैयाँ असार २९ गते वडासचिव ओपिन्द्रकुमार महतोको कोठाबाट चोरी भयो ।

सामाजिक सुरक्षा रकम चोरी

नगरपालिकाकै वडा सदस्य धनवीर बोहराको घरमा भाडामा बस्दै आएका महतोले सामाजिक सुरक्षा भत्ताको रकम आफू बस्ने कोठामा राखेको र त्यहींबाट चोरी भएको बताएका थिए । सचिव महतोले आफू र सोही वडामा कार्यरत प्राविधिक खडकबहादुर सिंह कोठा छोडेर आफू सुत्ने कोठाभन्दा करिब ६० मिटर टाढा रहेको वडा कार्यालयमा इन्टरनेट चलाउन गएका बेला पैसा चोरी भएको सुनाएका थिए ।

चोरी भएको भनिए पनि कोठामा तोडफोड थिएन । पैसा राखेर ताला लगाइएको भनिएको दराजसमेत तोडफोड नभएको हुँदा घटनामा सचिव र प्राविधिकको संलग्नता हुन सक्ने भन्दै प्रहरीले असार ३१ गते दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्‍यो ।

करिब २९ दिन अनुसन्धान गरी सकेपछि सचिव र प्राविधिकले नै बदनियतपूर्वक रकम लुकाएर चोरी भएको भन्ने हल्ला फैलाएको भन्दै उनीहरूबाट रकम असुल गरी कारबाही गर्नुपर्ने भन्दै प्रहरीले जिल्ला अदालतमा साउन २८ गते उनीहरूविरुद्ध मुद्दा दायर गर्‍यो । १० संदिग्धसँग बयान लिएको प्रहरीले वडाध्यक्ष रामबहादुर बोहराको जाहेरी, प्रतिवादीहरूको बयान, घटनास्थल मुचुल्का, बैंकबाट रकम बुझेको कागजातका आधारमा उनीहरूले नै बदनियतपूर्वक रकम लुकाएको दाबी गर्दै अभियोग पेस गरेको थियो ।

‘पैसा राखेको कोठामा ढोका र ढोकामा ताला केही नभएको, झ्यालसमेत केही नभएको, दराज र लकरको तालासमेत खुला अवस्थामा रही केही टुटफुट नभएको अवस्था देखिँदा उक्त रकम बुझि लिनेदेखि वितरण गर्ने र वारदातको समयमा सँगैरहेका प्राविधिक खडकबहादुर सिंह र सचिव ओपिन्द्रकुमार महत्तोले आफ्नो जिम्मामा रहेको नेपाल सरकारको रकम बेइमानीपूर्वक चोरी भयो भनी अन्तै लुकाइछिपाइ गरेका,’ प्रहरीले जिल्ला अदालतमा पेश गरेको अभियोग पत्रमा भनिएको छ, ‘सामाजिक सुरक्षा भत्ता वितरणगर्ने जिम्मेवारी पाएका ती व्यक्तिले आफ्नो कानुनी कर्तव्य पालना गर्नु पर्ने जिम्मेवारीविपरीत कार्य गरी सरकारलाई हानि–नोक्सानी हुने कार्य गरेको देखिँदा आपराधिक विश्वासघात गर्न नहुने कसुर गरेको वारदात स्थापित हुन आयो ।’ यसै अभियोगको आधारमा जिल्ला अदालतले सचिव महतोलाई पुर्पक्षको लागि थुनामा पठाएको छ भने प्राविधिक सिंहलाई दुई लाख धरौटीमा छोडेको छ ।

प्रहरीले अभियोग पत्र दर्ता गरेको ठीक एक महिनापछि घटनास्थलभन्दा १ किलोमिटर टाढा घर भएका शेरबहादुर बोहरालाई आएको फोन कल, मेसेज र यसप्रति प्रहरीको मौनताले घटनालाई थप रहस्यमय बनाएको छ । भदौ २७ गते दिउँसो बोहराको घरमा एक जना १० कक्षामा पढ्ने विद्यार्थी मिलन बोहरा आए । उनले शेरलाई ‘तपाईंको घर नजिक राखिएको पैसा गायब भयो त्यो फिर्ता गर्नुहोस्’ भनेर भने ।

‘मैले केको रकम फिर्ता गर्ने भनेर कहाँको रकम हरायो भनेर थर्काएपछि त्यो केटा त्यहाँबाट भाग्यो,’ शेर बोहराले भने ‘त्यसपछि ९७४९३०७७०४ नं को मोबाइलबाट हामीले रकम तेरै घरको आसपास राखेका थियौं । अहिले गायब छ, तँबाहेक अरूले लगेको होइन भनेर लगातार फोन आउन थाल्यो । पैसा नदिए परिवारका सदस्यको हत्या गर्ने भन्दै फोन र मेसेज आउन थाल्यो । यो बारे मैले प्रहरीलाई जानकारी गराउँदा पनि कसैलाई केही कारबाही गरेको छैन ।’ उनले घटनाको भोलिपल्ट नै फोन रेकर्ड र मेसेजसहित प्रहरी चौकी पुतलीलेकमा निवेदन दिएको र प्रहरीले आफूलाई भेटन आउने मिलनलाई बोलाएर सामान्य सोधपुछ गरि छोडेको उनले बताए ।

यस्तै प्रकृतिको धम्कीपूर्ण फोन अर्का स्थानीय मोहन बोहरालाई पनि निरन्तर आयो । उनलाई आएको फोन र मेसेजमा वडाअध्यक्ष रामबहादुर बोहरा, वडा सदस्य नरबहादुर पातली, वीरबहादुर बोहरालगायतलाई पनि धम्की दिइएको बताए । उनले उक्त फोन गर्ने व्यक्ति सोही वडाको बासिन्दा नरेश भनिने रणबहादुर बोहरा भएको र निजलाई कारबाही गरिपाउँ भनेर पुतलिलेक प्रहरी चौकीमा भदौ २९ गते किटानी जाहेरी दिए पनि उनलाई पक्राउ गरी छानबिन नभएको मोहनले बताए । अहिले धम्की पाएका शेर र मोहन बोहरा आफ्नो ज्यानको असुरक्षा भएको भन्दै न्यायको खोजीमा सदरमुकाम चैनपुर आएका छन् । ‘हामीले अडियो रेर्कड, मेसेजसहित किटानी जाहेरी दिँदा पनि प्रहरीले सुनेको छैन,’ मोहनले भने, ‘धम्की दिने व्यक्ति खुलेयाम गाँउमा हिँडिरहेको छ । हामीले विस्थापित हुनु परेको छ ।’ उनले रकम आफूले लुकाएको भनेर खुलेयाम फोनमा धम्की दिने व्यक्तिलाई प्रहरीले अनुसन्धानको दायरामा ल्याउनुको साटो नसुने झै गर्दा प्रहरीको भुमिका पनि शंकास्पद देखिएको बताए ।

यता जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी रूपक खड्काले भने धम्की आएको भनेर ठाडो निवेदन आए पनि कसैको विरुद्धमा उजुरी दर्ता नभएको बताए । ‘धम्की आयो भनेर ठाडो निवेदन आएको छ । त्यसको आधारमा धम्की दिने व्यक्तिलाई सम्पर्कमा आउन भनेका छौं,’ उनले भने, ‘उजुरी दर्ता नभई कसैले भनेको आधारमा कुनै व्यक्तिलाई पक्राउगर्न नमिल्ने भएकोले पक्राउ गरेका छैनौ’ उनले रणबहादुर बोहराको ठेगाना कैलाली रहेकाले उनलाई सम्पर्कमा ल्याइदिन कैलाली प्रहरीलाई पत्राचार गरिएको बताए ।

डीएसपी खड्काले चोरी विषयको मुद्दा अदालतमा विचाराधीन रहेकाले यसलाई प्रभावित पार्न नियोजित हिसाबले हल्ला फैलाएको हुन सक्ने बताए । ‘हामीले यो घटनालाई दुई तरिकाले हेरी रहेका छौं,’ उनले भने, ‘विचाराधीन मुद्दालाई प्रभावित गर्न हल्ला फैलाएको पनि हुन सक्छ । धम्की दिने व्यक्तिले चोरी गरेको रहेछ भन्ने सबुत प्रमाण फेला परे त राम्रो भैगो,’ उनले चोरी मुद्दा अदालतमा विचाराधीन रहेकाले धम्की दिएको विषयलाई आधार मानेर मुद्दा दर्ता गर्न सकिने बताए । अर्कैले चोरी गरेको पुष्टि भए सोहीअनुसारको प्रमाण अदालतमा पेस गरिने र त्यसको अन्तिम निर्णय अदालतले गर्ने उनले बताए ।

मुचुल्कामा छुटेको रड

यस्तै बदनियत गरी रकम लुकाएको भन्ने आरोपमा धरौटीमा छुटेका प्राविधिक खडकबहादुर सिंहले घटना भएको कोठाको खाटमा एक बित्ताको फलामको रड पनि भेटिएको र ढोकामा लगाएको तालामा खतसमेत लागेको भए पनि उक्त कुरा मुचुल्कामा समावेश नगरेको आरोप लगाए । ‘हामीले फलामको रड खाटमा थियो भनेर देखाउँदा घटनाका बेला आएका असई बलबहादुर नाथले यस्तोले पनि ताला फोड्छ र भनेका थिए,’ उनले भने, ‘भोलिपल्ट मुचुल्का गर्न आएका इन्सपेक्टर लोकेन्द्र कार्कीको टोलीले रड कालो प्लाष्टिकमा हालेर चौकी लगेका हुन् । तर मुचुल्कामा यो विषय कतै लेखेको रहेनछ ।’ उनले आफूले बयान गर्दा पनि रड भेटेको भनेको तर प्रहरीले अदालतमा पेस गरेको बयानमा उक्त कुरा उल्लेख नभएको बताए ।

घटनाको केही बेरमा घटनास्थल पुगेका प्रहरी बिट पुतलीलेकका इन्चार्ज बलबहादुर नाथले त्यहाँ थुप्रै रड देखिएकाले मुचुल्कामा उक्त कुरा उल्लेख नगरिएको बताए । उनले मुचुल्कापछि रड चौकीमा नलगिएको बताए । ‘त्यहाँ घरभरी रड छन । अहिले खोज्यो भने पनि भेटिन्छन्,’ उनले भने । डीएसपी खड्काले भने घटनास्थलमा रड भेटिएको आफुलाई केही थाहा नभएको बताए । ‘प्रहरीले जे देख्यो मुचुल्कामा त्यही लेखिने हो । रडको कुरा मलाई थाहा भएन,’ उनले भने ।

प्रकाशित : आश्विन ४, २०७८ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?