कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

विदेशबाट फर्केर व्यवसायमा

तरकारी खेतीबाट महिनाको ३०/४० हजार आम्दानी
भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको कृष्णपुर नगरपालिका—२ बाणीका कर्णबहादुर धामी १२ वर्षकै उमेरमा भारत पसे । घरघरेडीका लागि मात्रै जमिन भएका उनले भारतमै ज्यालामजदुरी गरेर परिवारको गुजारा चलाए । झन्डै ३० वर्ष भारतमा बिताएका उनी अहिले घरमै कुखुरा पालन व्यवसायमा संलग्न छन् । दिल्लीमा दिनभरि ज्यालादारी गरेर कमाइने मासिक ८/१० हजार अहिले उनी घरमै कमाइरहेका छन् । 

विदेशबाट फर्केर व्यवसायमा

४५ वर्षीय धामीले घर आँगनमै स–साना कुखुराका खोर बनाएका छन् । तिनमा चल्लादेखि ठूला कुखुरा राखिएका छन् । स्थानीय जातका कुखुरा र अण्डा हुने गरेको छ । तिनै अण्डा र कुखुरा बिक्रीबाट महिनाना ७/८ हजार आम्दानी हुने गरेको धामी बताउँछन् । धामीले ठूलो लगानी र धेरै कुखुरापालन गरेका छैनन् । सीमित लगानीमा स्थानीय जातका सय/दुई सयको संख्यामा मात्रै कुखुरापालन गरेका छन् । सधैं बिक्री गर्न सकिने गरेर उनले उत्पादन गरिरहेका छन् । ‘यसैबाट घर खर्च चलेको छ,’ धामीले भने, ‘घरका सबैले घरमै बसेर सानोतिनो आम्दानी भएको छ ।’

दिल्लीमा लामो समय सेक्युरिटी गार्डको काम गरेका उनी कोरोना संक्रमण सुरु हुनुभन्दा एक/डेढ वर्षअघि मात्रै घर फर्केका हुन् । तीन दशकसम्म भारतमा काम गर्दा पनि घर खर्च चलाउनसमेत धौ–धौ भएपछि उनले घर फर्केर कुखुरा पालन सुरु गरेका हुन् । अहिले छोरा छोरीको पढाइदेखि घर खर्च सबै यही पेसाले धानेको उनी बताउँछन् ।

पुनर्वास नगरपालिका–९ बीचफाँटाका सूर्य बुढा पनि वैदेशिक रोजगारीबाट फर्केर तरकारी उत्पादनमा लागेका छन् । उनले बेमौसमी तरकारीदेखि मकैलगायतको उत्पादन गरिरहेका छन् । ३ वर्ष मलेसिया बसेका उनी यतिबेला पुनर्बास नगरपालिकाकै उत्कृष्ट कृषक बनेका छन् ।

बुढाले ६ बिघा जमिन भाडामा लिएर आलु, काउली, बन्दालगायत सिजनअनुसार तरकारी उतपादन गरिरहेका छन् । गत वर्ष उनले ३ बिघा जमिनमा १२५ क्विन्टल आलु उत्पादन गरे । जसमध्ये २५ क्विन्टर खेतबाट बिक्री गरेका थिए भने बाँकी कोल्डस्टोरमा राखेर बीउका लागि बिक्री गरे । उनले आधा बिघामा सिजनअनुसार तरकारी लगाउँछन् । जसबाट एक सिजनमा एक/डेढ लाखको तरकारी बिक्री गर्दै आएका छन् ।

मलेसियामा ओभर टाइम काम गर्दा पनि महिनामा १०/१२ हजार मात्रै बचत गर्न सकिन्थ्यो । तर अहिले उनी घरमै तरकारी खेतीबाट महिनाको ३०/४० हजार आम्दानी गरिरहेका छन् । उनले आफूसंॅगै गाउँलेहरूलाई पनि रोजगारी दिएका छन् । ३/४ जनालाई नियमित रोजगारी दिएको उनले बताए । बुढाले उत्पादन गरेको तरकारी बारीबाटै बिक्री हुन्छ । बढी उत्पादन भएका बेला नजिकैको हाटबजारमा लगेर बेचने गरेको उनले बताए । आलुको बीउ र मकै उत्पादनका लागि उनी जिल्लाको दक्षिणी क्षेत्रकै नमुना कृषकका रूपमा चिनिएका छन् । ‘अर्काको देशमा बोली भाषा पनि नजानिने, तल्लो स्तरको व्यवहार सहनुपर्ने, त्योभन्दा आफ्नै गाउँघरमा सानोतिनो काम गर्नु नै राम्रो,’उनले भने, ‘घर परिवारसॅंगै बसेर विदेशको भन्दा राम्रो आम्दानी गर्न सकिन्छ ।’


प्रकाशित : आश्विन ४, २०७८ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?