तंग्रिँदै टीकापुरमा व्यवसाय

‘अब फेरि लकडाउन भएन भने व्यापार व्यवसाय सञ्चालनमा कठिनाइ नहोला’
गणेश चौधरी

टीकापुर — टीकापुरका दलबहादुर चौधरी ठेलामा सामान ओसार पसारको काम गर्छन् । कोरोनाको दोस्रो लहरका कारण गत वैशाख १७ गतेदेखि निषेधाज्ञा जारी भएपछि उनको रोजगारी बन्द जस्तै भयो । पसल बन्द भएपछि उनले सामान ओसारपसारको काम पाउने कुरै भएन । घरमा ठेला थन्किएपछि के खाने भन्ने समस्या आउने भयो । 

तंग्रिँदै टीकापुरमा व्यवसाय

जोगाएको पैसाले कति दिन पेट पालिएला भन्ने सोचेर उनले १० कट्ठा जग्गा भाडामा धान खेती गरे । लकडाउनभरि ठेलाको काम नभएपछि उनले धान खेतीमा ध्यान दिए । अहिले उनले लगाएको धान खेती तयार हुने अवस्थामा छ । उनी भन्छन्, ‘जग्गा भाडामा लिएर खेती नगरेको भए जोगाएको पैसा पनि सकिन्थ्यो । ४/५ महिना बेरोजगार बस्नुपर्ने हुन्थ्यो । समयमा बुद्धि पुर्‍याएर राम्रै भयो ।’ निषेधाज्ञा हटेपछि पुनः टीकापुर बजारमा रिक्सा चलाउन थालेको उनले सुनाए । ‘अहिले बजारमा चहलपहल पनि देखिन्छ । सामान बोक्ने काम पनि पाइएको छ,’ उनले भने ।

निषेधाज्ञाले सुनसान बनेको टीकापुरमा अहिले चहलपहल बढ्न थालेको छ । लकडाउन र निषेधाज्ञामा कारण बन्द रहेको टीकापुर पार्क खुलेपछि अहिले मानिसहरू घुम्न आउन थालेको पार्कका इन्चार्ज अर्जुन कुवरले बताए । उनले भने,‘भदौ १९ गतेबाट पर्यटकका लागि पार्क खुला गरेका हौं । पार्क घुम्न मान्छेहरू आउनेहरू बढ्न थालेका छन् ।’ मानिसहरूको आवतजावत नहॅुदा ठप्प भएको व्यापार व्यवसाय केही चलायमान भएको व्यापारी व्यवसायीले बताएका छन् ।

सिद्धार्थ होटल टीकापुरका मेनेजर छत्र बोगटीले लकडाउन खुलेपछि होटलमा पाहुनाहरू आउन थालेको बताए । उनले भने, ‘अब फेरि लकडाउन भएन भने व्यापार व्यवसाय सञ्चालनमा कठिनाइ नहोला । टीकापुर घटनाका कारण ठप्प बनेको टीकापुर फेरि कोरोनाको मारले धरासायी बनेको थियो । कोरोना बढेन वा सबैले खोप लगाउन पाए भने व्यापार सुध्रिँदै जाने आशा छ ।’

०७२ भदौको टीकापुर घटनाका कारण लामो समय अशान्त रहेको बनेको टीकापुर कोरोना करहले सुनसान हुन गयो । कोरोनाका कारण अहिले नै पुरानै अवस्थामा व्यापार फर्किन सकेको नभए पनि आजभोलिको चहलपहलले अवस्था सामान्य हुँदै जाने आशा रहेको बोगटीले बताए ।

टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीले कोरोनाका कारण लामो समयसम्म भएको लकडाउन खुलेपछि व्यापार व्यवसाय सामान्य अवस्थातिर फर्किन थालेको बताए । उनले भने, ‘अब चाडपर्वका बेला पनि भएको छ । बजारमा चहलपहल ठिकै देखिएको छ ।’ कोरोनाका कारण मान्छेहरू टीकापुर बजारमा नआए पनि अहिले भने उनीहरू निर्धक्कसाथ बजारमा किनमेलका लागि आउन थालेका उनले बताए ।

पर्यटकीय नगरीका रूपमा विकास हुँदै गरेको टीकापुरमा टीकापुर घटनाका कारण केही समय बाहिरबाट मान्छेहरू आएनन् । टीकापुर घटनाले बिगारेको वातावरण केही सामान्य अवस्था भएपछि कोरोनाको कहरले सुनसान बनाएको थियो । लकडाउन खुलेपछि टीकापुर पार्कमा पनि चहलपहल बढेको पार्क इन्चार्ज कुँवरले सुनाए । उनले भने, ‘अहिले वर्षा नसकिएकाले अलि कमै आउँछन् । वर्षा सकिएपछि पर्यटकको संख्या बढ्छ होला । लामो समय पार्कमा आउन नपाएका स्थानीयलाई पनि पार्क कस्तो भएको होला भनेर पनि आउने गरेका छन् ।’

प्रकाशित : आश्विन ३, २०७८ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?